छोरा, अहिले अलिक शीतल भएको छ देशमा
सायद मेरो पिर थाहा पाएर नै होला
यो बेला न कुबेलामा पनि
बादलले अभिशेक गरेर पानी छर्कंदैछ
मान्छे धेरै अविश्वासी भएर होला सायद
आफ्नोबाट आफैं पर पर तर्कंदैछ ।
यसको उत्तर दिन कसैले सक्या हैन
नारानहिटी, दासढुङ्गा र भण्डारखालमा
अँझसम्म पनि प्रतिध्वनि थर्कंदै छ ।
तिमीजस्तै देशको सुरक्षामा कसम खाएकाहरुको बाकस
अहिले विदेशबाट स्वदेशमा फर्कंदैछ ।
खै के भनम र छोराहरुहो,
बेचिएका बहिनीहरुको कम्मर
बम्बै, डिल्ली र कलकतामा अँझ पनि मर्कंदै छ ।
तिमीहरुले देशमा कम सम्पत्ति पठाउन थाल्यौ अरे
यो कुरा झास्सझुस सुनिन थालेको छ
यसैले तिमीहरुदेखि यो देशको सरकार धेरै झर्कंदै छ
यहाँ खुट्टा हाल्नासाथ लुटिन्छौ तिमी आफ्नैहरुबाट
यसले त झन् मेरो मुटु थर्कंदै छ,
सुखशान्तिका दिन अँझ पनि नेपालमा टाढा छन् बाबुहो,
मेरो छाती चरक्क चर्कंदैछ ।
अब आफ्नै देशका कुरा गर्ने हो भने ता बाबुहो,
कहिले उत्तरतिर त कहिले दख्खिनतिर फर्कंदैछ ।
