अहो! साँझ परेछ


थकित मुहारमा
थोरै रङ हालेर पान गर्न तयार गरिएको
फिक्का चियाको चियापत्ती जस्तो
फिक्का मुस्कान छायो
पूरा दिन तनावको भारी बोकेको
ऊ कर्मचारीले अब भने बल्ल विश्राम पायो
कारण एउटै थियो
कछुवाको तालमा पाइला चालेको
घडीको सुइलाई हेर्दै परबाट उस्को मित्रले करायो
अहो! साँझ परेछ

हरियो घाँसे चौरमा दिनभर यताउता दौडायो
बल्ल बल्ल बाँ बाँ गर्दै बुढी जर्सी गाईको छेउमा
बाछो पनि आयो
गोठालो दाइले निधारमाथि हत्केलाको छानो लगायो
अनि डुब्न लागेको दुई डाँडामुनिको घामलाई हेर्दै करायो
अहो! साँझ परेछ

कबाट कछुवा ख खरायो
विद्यादेवीको आलय
विद्यालयमा पूरा दिन व्यतित गरेको साने
खेलैखेलमा हरायो
खेल्दाखेल्दैमा उस्ले अतृप्त मन लिई गगनमा हेर्दै
केही बेर बर्बरायो
बालाई घर निम्त्याउने त्यो रविलाई हेरेर
एकछिन रिसायो अनि फेरि करायो
अहो! साँझ परेछ

गृह प्रवेशको झन्डा प्रत्येक घरको दैलोमा
पुनः फर्फरायो
आमाको हात खेतबारी गर्दै
अब भने भान्छा तर्फ लर्बरायो
हरेक घरबाट निस्किएको पकवानको बास्नाले
चोक गल्लीका कुना कुना हर्हरायो
पकाउँदा पकाउँदै बाहिर नजर लगाउन निस्किएकी
मेरी आमाको मुखबाट केबल एक वाक्यले स्थान पायो
अहो! साँझ परेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *