एउटी संघर्षशील नारीको कथा हो यो
एउटी ऊर्जाशील नारीको कविता हो यो
यथार्थमा समग्र नेपाली नारीको ‘ऐना’ हो यो !
चमेली दिदी,
साह्रा बैंश पोखेर संघर्षमा
जीवनका रंगहरू पोतेर पसिनाहरुमा
आफ्नै जन्मथलो र कर्मथलोलाई जबर्जस्ती
बाई बाई गर्दै गाउँले रुवाएर झर्यौ मधेश
र,
छोराछोरी हुर्कायौ, बढायौ, पढायौ
खान जानिनौ तिमीले समयमा
लाउन मानिनौ तिमीले समयमा
‘पछि’ ‘पछि’ भन्यौ सधैं
जोहोमात्र गर्यौ
नखाई–नखाई/नलगाई–नलगाई
खेत जोड्यौ, घर जोड्यौ
र, जोड्यौ धेरै धेरै सपनाहरू पनि
र, जिन्दगीको आनन्दमा रम्ने सपना बुन्दै गर्दा
कहाँबाट आयो
राक्षस ‘क्यान्सर’ तिमीलाई लान ?
कहाँबाट आयो
निको नहुने त्यो ‘पापी रोग’
तिमीलाई अकालमा परिबारबाट टुटाउन ?
पसिना बगाउँदै गर्दा
भोकभोकै कमाउँदै गर्दा
सायद सोचेकी थियौ,
‘मेरा पनि चयनका दिन आउने छन्’
‘मेरा पनि सुखका दिन फिर्नेछन्’,
तर अहँ,
मलाई पनि विश्वास नलाग्ने
कसैलाई पनि विश्वास नलाग्ने
पत्यारै नलाग्ने
त्यो दैवले तिमीलाई
जिन्दगीको शीतलता भोग्न नपाउँदै
जिन्दगीको कुशलता भोग्न नपाउँदै
कलिलै उमेरमा परिवारबाट चुँड्यो
यति चाँडै हामीबाट अलग्याएर
माथि लग्यो, टाढा, टाढा
कहिल्यै नभेटिने स्थानमा
अब त केबल स्मृतिमात्र
चमेली दिदी,
अब त केबल सम्झनामात्र !!
चेतनाथ कणेल ‘हरित’
रचनाः ३ चैत २०७३, विहीबार, काठमाडौं ।
