Skip to content


झिल्काले घर नै डढेर यसरी आगो र हावाहुरी
ईर्ष्याले रिसमा जलेर त्यसरी चल्दैन माया लुटी
अर्काको घर भाँड भन्छ जसले के नीति धर्मै रहे
के ठान्छौ कति बाँच्छु लाग्छ मनमा यो श्वास निस्की गए ।

आमाबाबु भए सधैँ बसिदिने दासैसरी चाकरी
स्याहार्ने घरका भुरा र तिनले हेपून् अँझै बेसरी
छोराले किन सुन्छ वृद्ध बिलना बाँचेर के काम भो
यो धर्ती नभमा उमेर सकिए मान्छे त बेकाम त्यो

हेपेका अति लाञ्छना सहनमा अभ्यास गर्दै गरेस्
घुम्दो चक्र छ वक्र त्यो जगतमा कानून मर्दै सरेस्
आदर्शै सब खाग भो मनुजमा मारे र काटे भनी
को सुन्ने बिलना असह्य जनको पार्टी छ बोक्ने खुनी

आयो रे युग नै नयाँ र जनता कानून मान्ने छ रे
सत्तामा सब राष्ट्रभक्त बसने नि:स्वार्थ सेवी अरे
खल्तीमा सब कर्मकै रकम रे कालो न सेतो धन
आमाको अनुहार हेर हँसिलो को देख्छ पापी मन

अर्काको धन खान आज दुनियाँ सुत्दैन रातोदिन
भाषा भेष मरेर रुन्छ किन हो पैसा भए बोल्दिन
शाषेरै निमुखा कुबुद्धि बढता अङ्ग्रेज संस्कार यो
मासेरै घरको विचार परको आफ्नो त घाँडो भयो ।

रमेश भट्टराई ‘सहृदयी’
(छन्द : शार्दुलबिक्रीडित : क्क्क् क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्ष्क् क्क्क्ष् क्क्क्ष् क्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *