Skip to content

हजाममार्फत त्रिभुवनसँग भेट

  • by


२००७ सालको क्रान्तिले ल्याएको प्रजातन्त्रलाई मानिसहरूले सही रूपमा व्याख्या गरेको म पाउँदिनँ । मानिसका आ-आफ्नै किसिमका धारणा आइरहेका छन् । इतिहास मनगढन्ते र व्यक्तिपरक हुनुहुँदैन । सबै मानिस आफूलाई केन्द्रमा राखेर इतिहासको बखान गर्छन् । तर, इतिहास वास्तविक र सत्यमा आधारित हुनुपर्छ । जित्नेको मात्र होइन, हार्नेको पनि सही इतिहास लेखिनुपर्छ ।

म ००४ सालतिर नेपाली राष्ट्रिय कांग्रेसको कार्यकर्ता भएर राजनीतिक आन्दोलनमा होमिएको थिएँ । ‘नेपाली जनताका मौलिक अधिकारहरूलाई कुण्ठित गर्न पाइँदैन’ भन्दै ००४ सालको वैशाखमा काठमाडौँमा निस्किएको जुलुस म सधैँ सम्भिmरहन्छु । त्यसको नेतृत्व टंकविलास, मथुरालाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ आदिले गरेका थिए । त्यो जुलुसमा कामाक्षादेवी, साधना प्रधान, सहाना प्रधान, पुष्पलता श्रेष्ठजस्ता महिलाहरूका अतिरत्तिm तिलकराज शाही, विष्णुसुन्दर प्रधान, नीरविक्रम प्यासीसँगै म पनि सरकि थिएँ । विशालनगरस्थित पद्मशमशेरको निवासतर्फ बढ्दै गरेको त्यो जुलुस नक्सालको भगवतीबहालमा पुगेपछि सुरक्षाकर्मीको हस्तक्षेपमा पर्‍यो । नरशमशेर आफैँले सुरक्षाकर्मीको नेतृत्व गरेका थिए । टंकविलास श्रेष्ठ, मथुरा र शम्भुराम आदि अग्रपंक्तिका नेताहरू पक्राउ परे । त्यो प्रसंग किन कोट्याएको हुँ भने, त्यसबखत जुलुस निकाल्नु भनेको चानचुने कुरा थिएन । उसबेला सहरका मानिसहरू जुलुस देख्नासाथ घरका झ्यालढोका बन्द गरेर बस्थे । त्यति मात्र होइन, ‘लौ कांग्रेस आयो’ भनेर आत्तिन पनि थाल्थे ।

हो, त्यस्तो बेलामा हामी कांग्रेसको संगठन विस्तारमा लागिरहेका थियौँ । पूर्णबहादुर यमीले मलाई त्यस काममा सरकि गराउनुभएको थियो । भूमिगत रूपमा काम गर्न साह्रै अप्ठ्यारो थियो । मैले आफ्नै घरमा एउटा सानो पुस्तकालय र ब्याडमिन्टन कोर्ट बनाएको थिएँ । त्यहीँ साथीभाइ जम्मा गरेर पढ्ने र खेल्ने बहानामा कांग्रेसको संगठन विस्तारमा लागेँ । यस क्रममा चन्द्रधर उप्रेती, डाक्टर सूर्यबहादुर बस्नेत -जसको नाममा क्यानाडामा ‘बस्नेत लेन’ भन्ने सडकको नामै राखिएको छ), गजानन्द वैद्य, विन्दुकान्त सिलवाल, माणिकराज श्रेष्ठ, विजयकुमार अर्थात् राधेश्याम श्रेष्ठ, चक्रप्रसाद शर्मा, गणेशबहादुर श्रेष्ठ, जयन्त पाण्डे जसका दाजु बलबहादुर पाण्डेलाई जेलमा मारएिको थियो, आदि नेपाली राष्ट्रिय कांग्रेसको सदस्य बने ।

यहीँनिर अर्को प्रसंग कोट्याउन चाहन्छु । ००५ सालको पुस महिना हुनुपर्छ, घोडेजात्राको दिन परेको थियो । जात्राको राती टुँडिखेलको भद्रकालीमा खट जुधाउने चलन थियो । नेवार समुदायमा परम्परादेखि नै चल्दै आएको त्यो जात्रा निकै रमाइलो गरी मनाइन्छ । त्यो हेर्न सर्वसाधारण मानिसको घुइँचो लाग्थ्यो । म पनि शिवदेव पन्त नामका एक जना साथीसँग भद्रकाली पुगेँ ।

एक छेउमा बसेर जात्रा हेररिहेको थिएँ, राजा त्रिभुवनका माहिला छोरा हिमालय र कान्छा वसुन्धरा पनि देखिए । सोचेँ, प्रजातन्त्रप्रति सचेत एवं त्यसका प्रखर हिमायती राजा त्रिभुवनसँग उहाँहरूमार्फत भेट हुन सक्छ अथवा राजनीतिक कुरा गर्न पाइन्छ । मेरा लागि राजाका छोराहरूसितै राजनीतिक परविेशका कुरा गर्ने यो सुनौलो अवसर थियो ।

म सरासर अधिराजकुमारहरू भएनिर गएँ । सामान्य शिष्टाचारपछि आफूहरू नेपाली राष्ट्रिय कांग्रेसको कार्यकर्ता भएको र राणाशासनका विरुद्धमा संघर्षमा लागेको बताउँदा उहाँहरू छक्क परेर हामीलाई हेर्न थाल्नुभयो । सायद उहाँहरूलाई लाग्यो होला, भर्खरका यी ठिटाहरू कति साहसी ! त्यसबेला अधिराजकुमारहरूसँग त्यसरी खुलेर कुरा गर्नु ठूलै कुरा थियो । तर, राजनीतिमा लागेकाले हामीलाई त्यो सामान्य लाग्यो । कुराकानीकै क्रममा अधिराजकुमार वसुन्धराले भन्नुभयो, “यहाँ बढी नै हल्लाखल्ला छ । ऊ पर बाँसको झाङतिर गएर कुरा गरौँ ।” अहिले सैनिक हेडक्वार्टर रहेको ठाउँमा त्यसबेला ठूलो बाँसको झाडी नै थियो ।

देशको अवस्थाप्रति उहाँहरू पनि चिन्तित रहेको पाएँ । निकैबेरसम्म राजनीतिक कुराकानी भयो । र, अन्त्यमा उहाँहरूले राजा त्रिभुवनसँग भेटेर यी सबै कुरा गर्न हामीलाई सल्लाह दिनुभयो । मेरो मुखबाट अनायासै निस्कियो, “तर, भेट गर्ने कसरी त ?” उहाँहरूले नै सुझाउनुभयो, “बुबाज्यूको कपाल काट्ने एक जना तपाईंकै घर -कमलपोखरी)तिरका बलदेव ठाकुर नामका हजाम छन्, उनीमार्फत भेट्नु उपयुक्त होला ।”

हजाममार्फत कसरी त्रिभुवनसँग कुरा पुर्‍याउने होला भन्नेमा मैले धेरैबेर सोचविचार गरेँ । एकैपटक यस्तो कुरा गर्दा ठाकुर झस्केर कुरै गर्न नचाहलान् भन्ने पनि लाग्यो । अनि, सम्पर्क कायम गरेपछि बरोबर भेट्न थालेँ । केही दिनको प्रयासपछि उनी मेरो कुरा राजा त्रिभुवनसम्म पुर्‍याउन राजी भए । र, एकदिन भेट्ने ठाउँ, समय र जाने बाटोको समेत पूरै योजना लिएर उनी मकहाँ आए ।

योजना अनुरूप नै म तीन जना साथी लिएर नारायणहिटी राजदरबारको उत्तरपट्टकिो पर्खालबाहिर गएँ । त्यहा ठूलो बाँसको झाडी थियो । रातीेको समयमा दरबारवरपिरि हिँड्नु आफैँमा खतरनाक थियो । राजा त्रिभुवनलाई नै भेट्ने मनसायले त्यहाँ पुग्दा पक्राउ परयिो भने त ज्यानकै खतरा पनि थियो । राणाहरूको कडा सुरक्षा घेराभित्र रहेर पनि प्रजातन्त्रप्रति आस्थावान् राजा त्रिभुवनसँग भेट गर्न पाइने कुराले मन त्यसै रोमाञ्चित थियो । ज्यानको पर्वाह भएन । त्यसबेला म त्यस्तै १७ वर्षको थिएँ ।

दरबारको पर्खाल स्वाभाविक रूपमा अग्लो थियो । म र शिवदेव पन्त अच्युतकान्त र फुच्चुबाबु भन्ने साथीको काँधमा चढेर पर्खाल उक्लियौँ । र, उताबाट राजा त्रिभुवन आएको केही संकेत पाइएला र और्लौंला भनेर बसिरह्यौँ । रातीको करबि १ बजेको हुँदो हो, सानो पेनटर्च बल्यो । त्यसपछि हामी बाँसको झ्याङ समाउँदै बल्लतल्ल ओर्लियौँ । हामीले ओभरकोट लगाएका राजा त्रिभुवन अधिराजकुमार हिमालय र वसुन्धरालाई साथै लिएर आएको देख्यौँ । राजनीतिक रूपमा मात्र नभएर मेरो व्यक्तिगत जीवनमा समेत महत्त्वपूर्ण हुन पुग्यो त्रिभुवनसँगको त्यो भेट ।

नेपाल साप्ताहिक ३३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *