Skip to content


“समय यात्रा, हजुर समय यात्रा, तपाई हलिउड फिल्म हेर्नुभो भने, रोचक विषय…, अँ, तपाईहरू हेर्नुहुन्छ, सोच्नुहुन्छ भने विचित्रै, अचम्मै को कुरो छ यो,” एकतमासले ती बुढा बोलिरहे,”सम्झदाँ म यहाँ पनि छु, र म यही समयका लागि बनेको, म… म नै भएर पनि फरक हुँ,”हिजो” पनि कतै ब्राह्मणमा बाँचेको छ, बुझ्नुहुन्छ,”भोलि” पनि छ कतै, ती प्रत्येक दिन फाइलमा लेखिए जस्तै हामीभन्दा उपल्ला वर्गका अर्का जात, ती मानिस होइनन्, तिनीहरू राख्दछन् ।” केशर लाइब्रेरीको भत्किएको भित्ताहरू हेर्दै बुढा आँखाँ तेर्साउँदैँ मतिर हेर्छन् । म यी बुढा पनि अङग्रेजी फिल्म हेर्दा रैछन् भन्ने सोच्छु ।

बुढा पत्रिकाहरू हेर्छन्, म यी बुढालाई नियाल्छु । यी बुढालाई मैले पहिले याद गरेको जस्तो लागेन । अनुहार नयाँ थियो । फेरि झसंग पार्दै बुढा बोल्छन्,”जस्तो बुझ्नुभो भने, यो काइदाको छ, जस्तो म यहाँ बसिरहेको छु, तर ती चार कुर्ची पनि खालि नै छन्, अर्को दुनियाँमा म ती चार कुर्सीमा बस्ने प्रबल सम्भावना थ्यो, तर म बसिँन, मानिलिनुस तिम्रो र मेरो गफ भएको छैन, त्यसैले म,”म” नै भएर ती चार खालि कुर्सीमा बसिरहेको “म”सँग नै मैले भेट्न सकेँ भने कम आश्चर्यको कुरा हुन्न र? अथवा ती मलाई नै भेट्न पनि आउन सक्लान्, ब्रह्माण्ड रहस्यमय छ, तर हुन सक्छ कहीं कतै तिमी मलाई यो कुरा सुनाइरहेका हुन सक्छौ, बात नभएका हुन सक्छन् ।” यी बुढाका गफहरू ठ्याक्कै अङ्ग्रेजी फिल्मका कथा जस्तै, ठ्याक्कै… यी बुढा फेरि अमरिका तिरैबाट आका हुन सक्ने म अनुमान लगाउँछु। म चुप हुन्छु, बुढाका कुरा सुन्छु ।

“जस्तो मल्टिभर्स भन्छन्, क्वान्टम फिजिक्स भन्छन्, दुनियाँ थरी थरी, अनेक सम्भावना अनेक काइदाका अकल्पनीय घटना, जे पनि हुन सक्छन्, अनि के त? संसारमा हामी मात्रै छैनौँ नि, कसम्म छैनौँ । हामीलाई एक प्रतिशत पनि थाछैन, छदैँछैन, ज्ञान छैन ।” बुढा कान्तिपुरका दोस्रो पृष्ठतिर आँखाँ घुमाउँछन् । बुढा एकछिन चुप हुन्छन् ।

“तपाईं इङ्ग्लिस फिलिमहरू हेर्नुहुदों रै छ ।” म मोबाइलबाट आँखा हटाउँदै भन्छु । “होइन, यी फिलिमका कुरा पछि आए, सत्ते कुरा ती समय यात्रीहरू पइला आए, तिनीहरूले सब सिकाए, टेक्नोलोजी, विज्ञान, रसायन, सब… विश्व युद्ध उनीहरूले नै मचाए, लडाए, कहानी धेरै भए, तपाईंले था पाएको कथा एक अंश पनि होइन ।”

बुढाका कुराहरू सुन्दा हावादारी नै हुन् । म एकछिन सोच्छु ।

एक्कासि म आकाशहरू नियालिरहेको पाउँछु, यी बुढालाई मैले के कुरा गर्न सुरू गर्या होला – झैँ हुन्छ । बुढा कान्तिपुरको अन्तिम पाना सरसरती आँखाँ लगाउँदै गरेको देख्छु । बुढा उठ्न खोजेर हिड्न लाग्छन् ।

नेपालको २०७३मा गएको महाभूकम्प गएको ५० वर्ष पछि आज ८.६ रेक्टरको भूकम्पको गएको कुरा लेखिएको कान्तिपुरको पहिलो पानाको पृष्ठतिर बुढा पुन: आँखा लगाउँछन् । “धन्न! यो पाली पनि बाँचियो,” मैले नबुझ्ने पारामा बोल्दै मुस्काउँछन् । मलाई भने बुढा आफू युवक हुदाँ बेलातिर हलिउड फिल्म खुब हेर्दा हुन् मलाई सोच हुन आइरहन्छ । यस्ता बुढाहरूसँग ताइनतुइको गफ नगर्दा नै ठिक हुन्छ भन्ने सोचिरहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *