“सुन्नुस् न केटाकेटीहरु सडकमा जालान् हेर्नुस् है । म पानी थाप्न हिंडे ।” सुन्तली गाग्री च्यापेर निस्की । पिंढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आँखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो ।

केटाकेटीहरुका लागि आँगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।

क्या……च्च । गाडीले ब्रेक हान्यो । ब्रेक हान्दा हान्दै पनि पाँग्राले सुन्तलीको छोरालाई भेट्टाइ हाल्यो । गाडीले किच्यो गाडीले किच्यो …छिनमै होहल्ला भयो त्यहाँ ।

“नछोड् । गाडी रोक् । ड्राइभरलाई जान नदे । हाम्रो बच्चा मार्ने ज्यानमारालाई छोड्दैनौं ।” भीडले गाडी छोपिसकेको थियो । ऊ पाखुरा सुर्कदैं भीडमा सवैभन्दा अगाडि थियो ।

“हेर्नुस् हाम्रो मात्र दोष हैन । बच्चा एक्कासी वाटो वीचमा आइफगेको थियो । रोक्दा रोक्दै पनि…… ” ड्राइभर हेर्दा सोझै देखिन्थ्यो ।

“हाम्रो बच्चालाई खेल्न आँगन बनाइ देऊ न त अनि सडकमा जाँदैनन् । जो चोर उसैको ठूलो स्वर हिँड्नुस् थाना ।” उसको उग्र रुप देखेर ड्राइभर आत्तियो “हेर्नुस् म पनि विरामी मान्छे लिएर हिँडेको छु । बेलैमा अस्पताल नफगे अप्ठयारो हुन्छ मलाई । क्ररालाई मिलाउन खोजौंकिन थानासम्म जाने?”

“यसो क्षतिपूर्ति दिएर क्ररा थामथुम पारे त भैहाल्यो नि ।” गाउँका एकदुइ टाठाबाठाले सुझाए ।

“म त दश लाख भन्दा एक पैसा कम लिन्न । छोरो पो मरेको अरु हो? बांचेको भए पढेर लाखौं कमाउंथ्यो ।”

“दश लाख त गाह्रो पर्छ । आमालाई ओखती गर्नै बाँकी छ । अलि कम गर्नुस् ।”

“आठ लाख दिनुस् । मान्छे पो मरेकोके क्रनै क्रखुरा हो?”

“दुइ लाखमा मान्नुस्मलाई हतार भैसक्यो ।”

“पाँच लाख…।”

“साँढे दुइ लाख । यो भन्दा बढी क्यै गरी दिन सक्दिन ।” ड्राइभरले हात जोड्यो ।

“आ…मा…” सडकमा पछारिएको बच्चोको मुखबाट अस्पष्ट र शिथिल आवाज आयो । घुँडा घिस्रिएर रगत बगेको रहेछ । व्यर्थ वादविवादमा दुवैले समय खर्चे । बच्चोलाई उठाएर गाडीभित्र राख्दै ड्राइभरले उसलाई पनि भित्र बस्न अनुरोध गर्यो “ल हिँड्नुस् अब थाना हैन अस्पताल जाने ।” अघिसम्म कुर्लंदै गरेका सुन्तलीका बुढा लुसुक्क गाडीभित्र पसेर घाइते छोरासँग बस्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “बार्गेनिंग”

  1. सुषमाजी,
    अहिलेको नेपाली

    सुषमाजी,

    अहिलेको नेपाली स्वार्थी र निर्दयी (लोग्ने)मान्छेहरूको एकदम सही चित्रण गर्नुभयो। सुरुमा त, बाउ चाहिंले आमा चाहिंलाई लापर्वाही गरेर छोरो छोडेर हिंडेको आरोप लगाई पिटेर, वा उद्दण्डहरूले बस जलाएर कथाको अन्त होला जस्तो लाग्या थियो तर बेग्लै सुखद अन्त्य गरिदिनुभएछ।

    — कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *