Skip to content

एकै बेथाका दुई बिरामीहरु


जीवन नबुझी, जीवन नभोगी र जीवन नजानीकन जीवनको आधाभाग सकिएको बल्ल थाहा हुन थालेको थियो सवितालाई । अलिकति पछुतो पनि हुन थालेको थियो । कता कता उनको मनभित्रको सुकेको रुखमा चिउला नपलाइकन जीवन सकिएको अनुभव भइरहेको थियो ।

यस्तो अनुभवका साथ उनका भित्री हृदय शुष्क, निरस, कठोर र वेदनाशून्य भएको रहेछ भन्ने पनि बोध हुन थालेको थियो र उनले यसो आफ्नो विगततिर हेरिन् । वास्तवमा उनलाई जीवनको साँचो अर्थको जानकारी नै नभई जीवन यहाँसम्म आइपुगिएछ भन्ने लाग्यो । जीवन नबुझी नै बुढेसकालले छोएछ भन्ने बोध भयो । सविनाको लागि नारीजीवन भनेको पुरुषहरुको उपभोगका लागि र बालबच्चाहरू जन्माइदिन, तिनलाई हुर्काउन स्याहार सुसार गर्नका लागि मात्र हो भन्ने रोपिएको रहेछ । अँझ नारीजीवन भनेको पुरुषबाट जता फर्किनु भनिन्छ त्यतै फर्किनु र जे जे गर्न भनिन्छ त्यही त्यही गर्नका लागि तयारी भइदिनु मात्र हो भन्ने सोचको विकास भएको रहेछ । यिनलाई आफू भ्रममा भएको कुरा तब थाहा भो जब अमरका साथ अचानक मित्रता बढ्यो ।

अलिकति पछुतो पनि भो, जीवन नबुझीकन हजुरआमा भइसकिएछ, थुक्क मेरो जीवन ! कति शुष्क, कति कठोर र कति निरस भएर जीवन काटिछेस् बिचरा सविता तैंले ! उनले आफैंलाई सहानुभूति दर्साइन् । यसरी उनमा आएको परिवर्तनका पछिको घटना पनि साधारण नै थियो तर त्यही साधारण घटनाले पनि उनको मनमा कता कता चिउला पलाउन थालेका थिए, मन केही पाउलिन थालको थियो ।

विद्यालयमा नातिनीलाई पुगाउन गएको दिनको कुरा हो । अमर र उनका साथको भेटघाट पनि एक गजबको संयोग थियो ।

“अलिकति सफा सुघर पारेर ल्याइदिनुहोला है नानीलाई ।” अमरले सविनालाई भनेका थिए ।

“हस, हस ।” अरुको आदेशलाई यही हस हसभन्दा बाँकी अरु कुराबाट उनले प्रतिक्रिया जनाउन जानेको भए पो केही भनून् हस हस भनिन् ।

“हो…., गुड । आज भने नानीलाई यसरी चिटिक्क सफा पारेर ल्याइदिनु भो धन्यवाद ।” अमरले भोलिपल्ट सविनाले नानीलाई सफा पारेर लगिदिएकोमा सविनाको तारिफ गरे । सविनालाई अलिकति आनन्द आयो । पुरुषहरू महिलाका कार्यमा धन्यवाद पनि भन्छन् भन्ने उलाई थाहा थिएन । पुरुषहरू ता हैकम, हेपाइ, आदेश र आफ्नो वासनाका लागि मात्र जन्मेका हुन्छन् भन्ने भान उनका मनमा रहेछ । कमसे कम उनका पतिको स्वभावका आधारमा समग्र पुरुषमाथि उनले यही धारणाको विकास भएको रहेछ । तर पुरुषहरुमा नारीमाथि स्नेह पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाएको त्यही दिन थियो । यो थाहा पाएर उनलाई भित्र कता कता अलिकति शान्ति मिलेको अनुभव भो, अलिकति उत्सुकता जाग्यो । अब उनले नातिनीलाई आफैं सफा गर्दै चिटिक्क पारेर विद्यालय पुगाउन थालिन् ।

अर्का दिन अमरले विद्यालयमा नातिनीलाई लिएर गएकी सवितालाई देखेर झन् बढी खुसी प्रकट गरे । सवितालाई अँझ आनन्द भयो ।

यसै सिलसिलमा अमरले एक दिन सवितालाई पनि अनुरोध गरे—“बहिनी ?”

“हजुर ।”

“एउटा कुरा भन्न मन लाग्यो नरिसाउने भए ।”

“भन्नु होस् न सर, किन रिसाउनु र ?”

“नरिसाउने भए मात्र भन्छु ।”

“रिसाउने कुरा ता हजुरले अवश्य पनि भन्नुहुन्न होला, अनि नरिसाउने कुराभन्दा म किन रिसाउनु र ! रिसाउँदिनँ । भन्नुहोस् न ।”

“नातिनीलाई ता यसरी चिटिक्क पारेर ल्याउनुहुन्छ, आफू चाहिं केको यस्तो निन्याउरो नि ! के छ मनमा पिर बेथा ?”

सविनाले यस्तो कुरा सोध्नका लागि अमरले यो भूमिका बाँधेका होलान् भन्ने सपनामा पनि सोचेकी थिइनन् । के भन्ने भन्ने उनलाई केही उत्तरै आएन । अन्तमा बरु अमरले नै थपे—“आफू पनि अलिक………!”

सविनाले अमरको कुरा रामरी बुझिन् र केही नबोली घरतिर लागिन् । कता कता नानीको विद्यालयका ती अमर सर उनका मनमा बेला बेला देखापरिरहे । आफू पनि निन्याउरी किन भएकी, यसो केही न केही प्रसाधनहरुको उपयोग गरे हुन्न र भन्न खोजेको ता होला नि तिनले भनेर उनका मनमा परिरह्यो ।

अनि घरमा पुगेर उनले आफूलाई ऐनाका अघि उभिएर यसो नियालिन् । रामरी कपाल नकोरेको, लुगा पनि नमिलाई लगाएको, टीका पनि निधारको मध्यभागभन्दा केही बाङ्गोतिर परेको, अनुहारमा उदासीपनले छाएको, सुन्दरताका लागि कुनै प्रसाधनको उपयोग नगरिएको शुष्क निरस र कठोर व्यक्तित्व ऐनाका अघि उभिएको बोध भो उनलाई नै । सुन्दर र लामो कपाल भएर पनि स्याहार नगरेको, अनुहार राम्रो भएर पनि त्यसलाई प्रसाधनहरुबाट स्याहार नगरेको, सारा शरीर बडो सुहाउँदिलो भएर पनि त्यसलाई नविचारेको कुरा उनलाई अहिले अलिकति थाहा भयो । दुई बच्चाबच्ची बाइस वर्षभित्रै जन्माइसकेकी सविताको शरीरमा रजोनिवृत्त भएर पनि अँझै युवतीको अनुहारको बान्की देखिन्थ्यो, आफ्ना अनुहार हेरेर उनलाई असमयमै साँझ परेको जस्तो लाग्यो । उनले आज यसो आफ्नै जिउ नियालिन् । कता कता आफ्नै जिउ निकै आकर्षक देखा पर्यो उनैलाई । श्रीमान्को हैकम अब कम भएको छ । सायद अफिसमा उनी अरु कसैसँग अफेयरसमा हुँदा हुन् । सधैं हप्काइ दप्काइ, सधैं हैकम, सधैं धनको र उच्च घरानियाँको रगतको फुर्ती बल्झिरहन्छ उनका पतिमा । यसैले उनले पतिको माया ममता भनेको कुन चराको नाम हो थाहै पाएकिरहिनछिन् । आफ्ना पतिको स्वभावमा सारा लोग्नेमान्छेहरू उनले बुझेकिरहिछिन् । लोग्ने मानिसहरू भनेको आफ्नै पतिको स्वभावका हुन्छन् भनेर उनले साधारणीकरण गरेकिरहिछिन् । सधैंको हप्काइ दप्काइबाट आकुल व्याकुल भएकी भोकी मैली निन्याउरी सविताको मन सधैं आहत हुने गरेको थियो । यस्तो अवस्थामा उनी आफ्नो ढाँचा र शीलस्वभावमा कसरी परिवर्तन ल्याउन पनि सकुन् र । यही भएर उनी सधैं रुखो व्यवहार भएकी र मनोदशाभित्र मायाग्रन्थी पीडित थिइन् । यो सबैको कारण उनका पति नै थिए । तर उनको पनि निजी दोष थिएन । उनमा उनकै पूर्वजबाट प्राप्त बपौती थियो यो सब । खुनको कारण थियो यो सब । पत्नी भनेकी नोकर्नीसरह हुन् र वा जुता हुन् भन्ने पौरखी धाक थियो । सविता यसैबाट आहत थिइन् । पति पनि उनकी पत्नीमा आएको यो स्वभाव देखेर विरक्तिएका थिए, कारण के थियो त्यो उनले खोज्नु पनि थिएन । कति दिन ता उनी अफिसबाट घरै आउन छाडेका थिए । सवितालाई एउटी नातिनीका साथ बस्ने बानी परिसकेको थियो । अब के गरुन् त नातिनी जन्माइदिएर बुहारी इज्रायलतिर र छोरो कोरियातिर लागेका छन् । हुर्काउने काम उनको भएको छ ।

सविताको केही दिनपछि अमरसँग अलिकति बोलाचाली भयो अलिक घनिष्टता भयो । परिचय पनि भयो र निकै राम्रो आत्मीयता पनि भया, स्कुलमा नानीलाई पुगाउन जाँदा केही बेर स्कुलमा बस्न पनि थालिन् ।

अमर सरले एक दिन भने—“बैनीले कति पढेको छ होला ?”

“एस.एल. सी.सम्म सुरुबुरु पास गरेको सर ।”

“घरमा कति व्यस्तता छ तपाईंको ?”

“खासै छैन सर ।”

“कक्षा दुई सम्मलाई म्याथ पढाउन सक्नुहुन्छ ?” अचानक उनले यसोभन्दा सविनालाई सपनामा पनि नसोचेको कुरा आयो । उनले केही भन्न सकिनन् । म भोलि भनमला सर मात्र भनिन् र घर गइन् ।

रातभरि मनमा कुरा पाकिरहे । पतिको हैकमबाट उनी केही भए पनि स्वतन्त्र हुन चाहन्थिन् । केही पैसा पनि आउने थियो होला हातमा । सधैंको त्रासबाट सधैंको याचनाबाट अलिकति भए पनि मुक्त हुन सक्ने थिइन् । उनको सोच बन्यो । जे परोस् परोस् । अब म आखिर दिउसो भरि घर बस्ने ता हुँ । स्कुलमा बस्छु नि…. निकै ठुलो निर्णयका छेउछाउमा पुग्न खोजिन् ।

भोलिपल्ट विद्यालयमा नातिनीलाई लिएर सविता निकै छाँट परेर गइन् । राम्रो हुने निकै जुक्ति गरिन् । तर अमर सर देखिएनन् ।

उनलाई निकै निरास भयो । भोलिपल्ट पनि अफिसमा अमर सर छैनन् । कसलाई सोधुन् । फेरि कसले के भन्लान् के ठान्लान् । उनका मन्भरि कुरा खेलिरहे । यसै गर्दा गर्दै निकै दिन बिते । अमर सरको कुनै पत्तो भएन । भित्र भित्र सवितालाई निराशा पलायो । हन कता गएको होला । केही ता भन्नु पर्छ नि । एक मनले भनिरह्यो ।

अचानक एक दिन अमर सर अफिसमा उसै गरी बसेका देखिए । सवितालाई के खोज्छन् कानो आँखो भयो । एकै पटक उनले अमरको अफिस कोटामा बसेर— “कस्तो निष्ठुरी होला ! एक वचन ता भनेर जानु पर्छ नि । आफूलाई याँ…..!” भनेर अमरलाई छक्क पारिन् । अनि पो अमरले उनको अनुहार यसो नियालेर हेरे । त्यहाँ सौम्य, सुन्दर, निश्छल, स्निग्धता पाए उनले । अमरले एक टक हेरेकोमा सविता अलिकति लजाइन् र घोसे मुन्टो लाइन् ।

मेरो कथा भनेर सकिन्न । अब ता पत्नी पनि के भनौं र उसलाई जसले मलाई छाडिसकी । हो, हिजोसम्मकी पत्नीलाई अंशबन्डा दिन र अदालतबाट छोडपत्रको काम गरिसक्नु थियो । बल्ल हिजो सकियो र आज बिहानै आएको भनेर अमरले भनिदिए सविताको कुरामाथि कुनै वास्तै नगरेजसरी । यद्यपि उनले सवितामा देखिएको परिवर्तनको भित्रबाटै बोध गरेकै थिए । उता सविताले भने अमरका अनुहारभरि विरक्तिका भावहरू देखिन् । यिनी पत्नीपीडाबाट आहत रहेछन् भन्ने कुराको सवितालाई भित्र कतै अनुभव भो तर सोध्न सकिनन् यसैले “ए…. कुरा ता यस्तो पो….!” मात्र भनेर चुपै लागिन् । अमरले लामो सास फेरे र आँखा मिचे ।

सवितालाई अमरको हालत र अवस्था बोध भएर अमरलाई मनभरिको माया गरिदिन मन भो । अनि अमरलाई पनि सविताको अप्रत्याशित रुपमा “कस्तो निष्ठुरी होला !” भनिएको भित्र केही न केही अवश्य नै पाकिरहेको छ भन्ने सहज जानकारी भो नजिकै जान मन भो तर समाजबाट निर्मित अनुशासनको कडा साङ्लोले दुवैलाई रोक्यो । वास्तवमा उनीहरुले बोध गरे दुवै एकै बेथाका विरामी भएको बोध गरे । अहिले यी दुई बिरामीहरू एकले अर्काको उपचार गर्न पाए हुने थियो भन्ने अवस्थामा पुगेका छन् । रोगको डाइग्नोसिस भइसकेको छ । रोगको उपचार ता हुने थियो होला तर साइट इफेक्ट पो होला कि भनेर अलिकति दुवैको मनमा डर पसेको देखिन्छ । हेरम उपचार कसरी हुने हो । भाग दुईमा यो कुरा देखिएला, अहिलेलाई यहाँ रोकियूँ ।

2017-06-18 09:20:28 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *