७५
मान्छेबाटै मान्छकै लागि अनेक जाल रचिन्छ
दुई पैसा झर्छ भने शिरदेखि पाउसम्म घसिन्छ
जति थुपारे नि नपुग्ने भो अब धनको राश
हेर, जमाना आयो कस्तो यहाँ आमाको दुध बेचिन्छ ।
७६
पाटी खुले गल्ली पिच्छे नेता भेटिन्छन्
कुरा गर्छन न्यायको दिउँसै घाँटि रेटिन्छन्
महान देशका महान भनाउँदा नेता हाम्रा
देह बेच्नेदेखि देश बेच्नेसम्म देखिन्छन् ।
७७
अघायो भने सधैं सुतिरहन्छ
सक्दैन गर्न सिकार चुकिरहन्छ
के छ र नयाँ जातै हो यस्को
छोड्, भुक्ने कुकुर भुकिरहन्छ ।
७८
टीका अनि अभिर लाउदैछ
भाग्य कस्तो सम्मान पाउदैछ
म नि गर्छु पूजा यसपाली
पख, कुकुर तिहार आउँदैछ ।
७९
निमुदा माथि चमत्कार गर्यौं
बाटो देखायौं पो सत्कार पर्यौं
बैगुनी रै’छौं धोकेवाज तिमी
सपनामाथि बलात्कार गर्यौं ।
८०
कहिले हाँसो कहिले आशु, सुखदुखको मेल हो जीवन
कहिले हार, कहिले जित दुई दिनको खेल हो जीवन
आकाश भरि, क्षितिज पारि हेर ती चरा,
लाग्छ कहिले, वाध्यता अनि विवशताको झेल हो जीवन ।
