मुक्तकबारे केही जानकारी


धेरैतिर मुक्तकलाई विधा भनेको सुनिएको छ । प्रकारको अर्थमा विधा भनिएको भए सही नै मानिएला तर पनि साहित्यको प्रकारकै अर्थमा विधा भनिएको हो भने अलिक मिलेन । कविता निबन्ध आख्यान र नाटक मात्र साहित्यका विधा हुन् । यिनैका भेदोपभेद अरु विधाहरू हुन् । फुट्कर कविता खण्डकाव्य महाकाव्यहरू भनेका कविताका भेदहरू भएझैं मुक्तक भनेको कविताकै क्षेत्रको एक रुप हो वा कविताको प्रकार नै हो ।

यसैमा अहिलेका साथीहरुले तयार पारेका छेस्का सुइरा घोचोहरू पनि पर्छन् अनि गीतहरू पनि यसैमा पर्छन् । उताबाट आएका हाइकु गजल सेदोको लगयत पनि यसैमा समाहित हुन सक्छन् । सङ्गित विधा ललित कला विधा शिल्प विधा भने झै मुक्तकलाई पनि त्यसको स्वरुप छुट्याउनकै लागि भनिएको भए यसमा विमतिरहन्न । तर कथा उपन्यास नाटक निबन्ध जस्तै मुक्तक पनि अलग विधाका रुपमा मान्न खोजिएको हो भने कुरा नमिलेको विषय सादर अनुरोध गर्दछु ।

मुक्तक आजको विषय हैन । उहिल्यै नवौ शताब्दीदेखि नै चलिआएको । अहिले अलिक ढाँचामा भिन्नता मात्र भएको हो । कविताको यस प्रकारमा कलम चलाउन थाल्ने र कलम चलाइरहनु हुने मुक्तक लेखकहरुका लागि केही जानकारी दिने प्रयास मात्र यहाँ मेरो मनशाय छ | यद्यपि मुक्तक लेख्न र यसमा दखल पाउन पनि निरन्तर अभ्यास अध्यन र साधनाको अपेक्षा हुने कुरा पनि जानकारी गरिरहनु पर्छ ।

पहिले मुक्तक न्यूनतम एक पददेखि अधिकतम आठ पदसम्ममा विस्तारित हुने गरेको कुरा देखिए पनि पछिल्लो चरणमा चार पद (हरफ) मात्र हुनु पर्ने कुरामा विद्वानहरू सहमत भएका देखिन्छन् । यद्यपि मुक्तकमा कथातत्वको आभास हुनु पूर्वको कविताको रुपलाई मुक्तक भनेको पनि भेटिएको छ । आफेंमा कसैसँग सापेक्षित नभई मुक्त हुनु मुक्तकको लक्षण हो । सानो भएर पनि सशक्त र आफैँमा स्वतन्त्र रहेर एक विशेष अर्थ पूर्ण गर्ने क्षमता हुने कविताको रुपमा अहिले मुक्तकले स्थान पाएको छ । यो गद्य पद्य जेसुकैमामा पनि रचना हुन सक्छ । कुरा कति भने यसमा गेयता हुनु अनिवार्य छ | कविता हुनु पहिलो सर्त गेयता नै हुने हुनाले यो पनि कविता भएको कारण यसलाई पनि लयात्मक्ताको खाँचो पर्ने नै भयो । अहिलेका मुक्तकमा पहिलो दोस्रो र चैाथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुनु पर्छ भन्ने सैद्धान्तिक अवधारणाले स्थान पाएको छ ।

यसमा अनुप्रासको विशेष महत्व हुन्छ जसलाई गजलको भाषामा काफिया भनिन्छ ।

हरफको अन्तमा एकैनास सुनिने तर भिन्न शब्दलाई अनुप्रास भनिन्छ | तर अनुप्रास हरफको अन्तमा हुनु पर्ने अनिवार्यता छेन । चार हरफका आधिकारिक मुक्तकको पहिलो हरफले विषयवस्तुको उठान गरेको हुनु पर्छ | दोस्रो हरफले पहिलोमा उठान भएको विषयलाई अँझ बल पुगाउँदै समर्थन गरेको हुन्छ | यी दुई हरफहरू मुक्तकका आधारभूमिका रुपमा रहेपछि आउने तेस्रो हरफ भने स्वतन्त्र रहेको हुनु पर्छ । यसले पहिलो र दोस्रो हरफका आशयलाई टढ्कारो पार्न काम गरेको हुन्छ । पछिल्लो हरफका लागि यो हरफ बल हो । चौथो हरफमा अन्तिम हरफका लागि यसले सम्प्रेश्य बनाउने चखिलो बनाउने आस्वाद्य र प्रेय बनाउने काम गर्छ । यसैले यसको मद्दतले चौथो हरफ वजनदार र गहन हुनलाई यसले सघाउ गर्छ । यसका सहयोगले चौथो हरफबाट मूल मुक्तकीय अर्थ साधारणीकृत हुन्छ र त्यसले उत्कर्षता प्राप्त गर्छ एक किसिमले स्रोताको उत्सुकतालाई चरममा पुगाउँछ ।

कममा पनि सुन्दर प्रेय र आस्वाद्य पदचयन मुक्तकलेखनको धर्म हो । सकेसम्म चारै ओ६ा बराबारीका हरफ हुनु राम्रो । अनुप्रासमा एकै शब्द नदोहोरीनु सम्भव भए बराबरी पदहरुका हरफ हुनु सारपूर्ण अर्थ पनि हुनु मुक्तकले उच्चता पाउने ठाउँ हो । लक्ष वेधन गर्ने क्षमता राख्नु पर्छ । दायाँ बायाँका कुरा नदागी सोझै लक्षभेदन गर्ने क्षमता मुक्तकमा हुन्छ । कविता अलमस्तसँग गतिशील हुन्छ भने मुक्तलाई यो अवसर हुन्न ।

एक मुक्तकः उदाहरणका रुपमाः

हात सिराने लाएर कैयौं रात बिताएको छु
पलपल हारेर तिमीलाई जिताएको छु
कसैको कुभलो गर्ने सोचसम्म बोक्न जानिनँ
अरुको त कुरै छाडौं मैले ता शत्रुको पनि भलो चिताएको छु ।

यहाँका अनुप्रास वा काफिया
बिताएको
जिताएको
चिताएको

तेस्रो हरफ यहाँ स्वतन्त्र नै छ । यसको सम्बन्ध कतै छैन तर पछिल्लोका लागि यसले भूमिकाको काम गरेको छ र अन्तिमको भनाइलाई यसले पुष्टि गर्न सघाउ गरेको छ । तर समान वर्णका हैसियतमा भने अन्तिम हरफ केही नमिल्दो छ ।

अहिले यत्ति ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *