Skip to content


“के छ यार खबर?” कफि पसलमा पत्रिका हेर्दै गर्दा अप्रत्यासित रूपमा आएको यो आवाजले झस्कँदै पछाडि फर्केँ। मेरो कलेजको सहपाठी हात मिलाउन अगाडि बढाउँदै मुस्कुराइ रहेको थियो।

“ठीक छ यार।” हात मिलाउँदै उसको लागि पनि कफिको अर्डर गरेँ।

कलेजका स्मृति मानसपटलमा चलचित्र झैँ घुम्न थाल्यो। आफू भने सामान्य परिवारबाट भए पनि धनाढ्य परिवारको दिनेश मलाई खुब मन पराउँथ्यो। उसको दैनन्दिनिका कुनै पनि घटना मेरा लागि नौलो हुँदैनथ्यो।

एकपटक सरिष्माको बारेमा उत्साहित हुँदै उसले मसँग कुरा गरेको थियो। बिज्ञान सङ्कायमा पढ्ने उसले व्यवस्थापन सङ्काय पढ्ने दिनेशसँग हिमचिम बढाएकी थिई। केही दिन पछी सरिष्माले राखेको प्रेम प्रस्ताबको पालो आयो। उनीहरूको प्रेम गमलामा मल राखेर रोपेको गुलाब झैँ मौलाउँदै, हुर्कँदै, झाँगिदै गयो। यसै बीच सरिष्माले माइक्रो बायोलोजीमा स्नातक तह शुरू गरी अनि हाम्रो कलेज जीवन पनि स्नातक तहको अन्तिम वर्षको फेरो लगाउँदै थियो।

सामान्य बातचित चल्दै रह्यो। टेबलमा कफि आयो। कफिको चुस्कीसँगै उ कुरा गर्दै थियो। तर उसको हाउभाउमा एक किसिमको बेचैनी प्रष्ट देखिन्थ्यो – मानौँ उ केही भन्न खोजिरहेको होस तर कुरा कसरी शुरू गर्ने भन्ने दोधारमा होस्।

स्नातक तह सकिने बित्तिकै उसले सरिष्माको अनुरोधमा ऊसँग कानुनी विवाह गऱ्यो। ऊनीहरूले आफ्नो परिवारमा यसको भेउ लाग्न दिएनन्। दिनेशको चाहना अनुरूप सरिष्माले स्नातक तह राम्रोसँग सकेपछि सामाजिक औपचारिकता पुरा गर्दै उनीहरू प्रणय सूत्रमा बाँधिए। सरिष्माले अमेरिकाको एक विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययनको लागि दिएको आवेदन स्वीकृत भयो। छात्रवृत्ती त्यति राम्रो नभए पनि ऊ जान तयार भई र उज्ज्वल भविष्यको सपना देख्दै दिनेश पनि खर्च उठाउन तयार भयो। पोहोर साल उसलाई एअरपोर्टमा बिदा गर्दा उसले मिश्रित प्रतिकृया व्यक्त गरेको थियो।

कफिको कप रित्तियो, ऊ अझै पनि बेचैन देखिन्थ्यो र अन्त्यमा मुख फोर्दै भन्यो – सुनिस यार सरिष्मा गएको हफ्ता आएकी थिई, अब उसका लागि म बेमेल भएँ रे। उसले अमेरिकामा बसेर अध्ययन गर्ने एउटा पि.एच.डि डाक्टर रोजीछ। सोझै मसँग आएर पार-पाचुकेको पत्र तेर्साई। मैले सम्झाउन खोज्दा ऊ पारपाचुकेको नारी अधिकार कि के जातीको हो धम्की दिन थाली। मैले पनि केही सोच्न सकिनँ सहि गरिदिएँ।

उसका आँखा रसिला थिए म भने नजिकैको गमलामा चियापत्तिको मलमा सप्रिएको गुलाबको बोट हेर्दै सोचमग्न भएँ।

सौराहाद्वार, चितवन
२०७४ श्रावण ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *