डा. सङ्गीता स्वेच्छाको हस्ताक्षरसहितको कथा सङ्ग्रह “गुलाफसँगको प्रेम” हातमा छ । १६४ पृष्ठको यस पुस्तक झट्ट हेर्दा औसतको साइज र आकर्षक आवरणमा छ । यस लेखमा यही कथासङ्ग्रहमाथि छोटो समिक्षा प्रस्तुत गरिएको छ।

पेशाले सञ्चार र अनुसन्धानमा संलग्न कथाकार स्वेच्छाको यसअघि “पखालिएको सिउँदो” उपन्यास र “असहमतिका पाइलाहरू” संयुक्त कथासङ्ग्रह प्रकाशित भैसकेका छन् । तीबाहेकका उनका उल्लेख्य उपलब्धीको रुपमा “महेन्द्र विद्याभूषण-२०१५” र “महेन्द्र विद्याभूषण-२०००” लाई लिन सकिन्छ ।
अध्ययन र पेशाको सिलसिलामा नेपाल, अष्ट्रेलिया र बेलायतमा बिभिन्न कालखण्डमा लामो समय बिताएको परिप्रेक्षमा यस पुस्तकमा सङ्ग्रहित कथाहरूमा पनि यिनै ठाउँका भौगोलिक र सामाजिक धरातलता भेटिन्छ ।
छोटा र मिठा लाग्ने यस कथासङ्ग्रहमा प्रकाशित वीस कथाहरूमा यथार्थवाद, मनोविज्ञान र डायस्पोराका झल्कोहरू यत्रतत्र भेट्न सकिन्छ । प्रेम, सम्बन्ध, कुण्ठा, इर्ष्या र जीवनसङ्घर्षलाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएका यी कथाहरू नेपाली समाज र डायस्पोराको दर्पणजस्तै लाग्छन् ।
शीर्षक कथा भावनात्मक कथनमा लेखिएको, कलात्मक छ । बिछोडिएकी प्रेमिकालाई गुलाफसँग प्रतिकात्मक रुपमा केलाइएको यस कथामा प्रायश्चित मानसिकता प्रस्तुत गरिएको छ । यस्तै “अपरिचित टेलिफोन नम्बर” कथामा प्रवासमा रहेर बिदेशी नागरिकसँग बिहे गरी पारपाचुके भइसकेकी एकल आमाको जीवनको घटनाक्रममार्फत दुई फरक संस्कृतिबीचको द्वन्द्वलाई चित्रण गरिएको छ ।
कथाकारले “अव्यक्त इच्छा”मा नारीवादलाई प्रमूख विषयको रुपमा टड्कारो ल्याएकी छिन् । यसमा शारीरिक रुपमा कमजोर र अविवाहित नारीको सांसारिक इच्छा र सामाजिक अपहेलनाबिरुद्धको संघर्षलाई सुष्म रुपमा केलाइएको छ । “इमिली मेरी छिमेकी” कथामा डायस्पोराका नेपाली दम्पती र त्यसमा पनि पुरुषआश्रित महिला प्रमूखपात्र (प्रोटागोनिस्ट) को वैवाहिक जीवनको सङ्कटलाई रोचक र सनसनीपूर्ण रुपमा प्रस्तुत छ ।
“राममाया” कथाले गहिरोभावको र वजनशील विषयबस्तु समातेको हुँदा पाठकलाई गहिरो छाप दिन सकिन्थ्यो । यद्यपि पर्याप्त लम्बाइमा नलेखी, हतारमा घटनाक्रम फड्क्याइएकोले पढ्दै जाँदा खट्किएको आभाष हुन्छ ।
त्यस्तै लेखनमा केही “कञ्जुस्याइँ” भेटिन्छ “बढ्दो सभ्यता” कथामा – जहाँ एकैपटकमा पात्रहरू, घटनाक्रम र भावनालाई नअड्कलिकन भटाभट एकै खेपमा पस्किइएको छ । त्यसले गर्दा पाठकहरू एक्कासि अन्यौलमा पर्छन् अनि कथा निल्नु न ओकल्नु हुन्छ – थालको सबै खाना एकै गाँसमा निल्न लागेको जस्तै । जबकि, उस्तै उस्तै लम्बाइको “हरिमायाकी बुहारी” कथाको लेखन अलि खारिएको प्रतित छ र यसले पाठकलाई पनि पर्याप्त सन्तुष्टि दिन सफल छ ।
“असम्झौताभित्रको सम्झौता” डायस्पोराका नेपालीको सङ्घर्षको कथा हो । यो कथा भने निकै खुलेको छ र सन्देश पनि प्रष्ट दिन सफल छ । त्यस्तै “नागरिकता” कथामार्फत गरिएको हीनताबोधको चित्रण निकै हदसम्म जीवन्त लाग्छ । त्यस्तै रोचक छ अर्को डायस्पोरिक कथा “अर्थहीन पत्रहरू” जुन डेरामा सँगै बस्ने दौंतरीको सम्बन्धलाई आधार पारी लेखिएको छ ।
संक्षेपमा भन्नुपर्दा फरक परिवेश र चरित्रका इन्द्रेणी पात्रहरू यस कथासङ्ग्रहको सबल पक्ष हो । अर्को आकर्षण हो – हरेक कथाको शुरुमा राखिएका आकर्षक र कलात्मक तस्वीरहरु, जुन रोस्लिन् सिंह र पी. सिंहद्वारा कोरिएका हुन् । सङ्ग्रहित वीस कथाहरू छोटो बसाइमा पढिभ्याइने हुनाले पाठकहरूलाई पट्यार लाग्ने छैन् । केही अस्वभाविक नाटकीयताहरूको बाबजुद कथाको परिवेश र पात्रहरूको चित्रण अनि त्यसमा लेखिकाले थपेको भावनाले कथाहरू समग्रमा मिठा लाग्छन् ।
सङ्ग्रहका सबैजसो कथामा नारीवाद भेटिन्छ । अनि त्यस्तै प्रत्येकजसो कथामा प्रमूख पात्रप्रति लेखिकाले सहानुभूति सिधै थपेको गरेको पाइन्छ । यदि कथाकारको ठाउँबाट तठस्थ वाक्यहरू लेखेर, सन्देश र भावनाहरू बरू कथाकै पात्रहरूमार्फत दिलाउन सके अरू मिठास थपिने थियो । यस्तै कसरत र निरन्तरता बढाइरहे स्वेच्छाको लेखनले थप उचाइ लिनेछ भन्नेमा द्विविधा छैन ।
