हुरी र बताससँगै हल्लिरह्यौ
जीवनसँगै हल्लने क्रममा
कहिले नेताको हूलमा
कहिले मन्दिर कहिले पार्टी
कहिले भाषणमा
हल्लने हाम्रो नियति हो
गुलिया मिठा कुरा र शब्दमा
लठ्ठिएरजी हजूरीमा
जे भनेनि ठिक छ
यस्तैगरी समय बिताइरह्यौं
एकले अर्कोलाई हेर्दै
तर्क वितर्क अनेक कोणबाट दृष्टि दिदै
नाचिरह्यौ हामी हाँसिरह्यौं
हामी समयलाई फालिरह्यौ
उसले उसको मुख हेर्दै एकले अर्कोलाई केर्दै
बिग्रेका काम अर्कोलाई थोपर्दै
घात/प्रतिघातका घाउहरू उब्जाउँदै
एकले अर्कोलाई आँखा तर्दै
हामी समयसँग हल्लिएर, झुण्डिरह्यौं
जीवन जिउने क्रममा जिम्मेवारी अर्कोलाई थोपर्दै
कर्तव्यभन्दा धेरै अधिकार खोज्दै
हामी हल्लिरह्यौं यतै कतै
कहिले गाउँ भएर भीडभित्रको भीडमा
समयको हतारोमा, समय सापेक्ष बन्ने होडमा
समय फुत्किएला भनेर, हामी हल्लिरह्यौं
कहिले गाउँ बनेर, कहिले शहर भएर ।
कुलचन्द्र सिलवाल अजस्र
