Skip to content

परिवर्तनका आवाजहरु


बर्सै र दिनमा रमाउँदै आयो तिजैको लहर
नखोजौं खुसी औकातभन्दा हौसिने रहर ।
आफूमा जस्तो गच्छे छ त्यस्मै रमाऊँ खुलेर
ज्ञानको दियो बालेर रमाउँ दुःखलाई भुलेर ।।

पौरखी बनौं कर्मको ढोका मिलेर उघारौं
जोसिलो पाइला बढाउँदै जाऊँ हिम्मत नहारौं ।
फाटेका चोली चुहिने झुप्रा हेरेको हेर्यै छन्
पैसाका धनी देशै र भरि रमेका रम्यै छन् ।।

संस्कृति भुल्दै विकृतिसँगै भुल्नलाई सिकेछौं
ज्ञानको खोजी गर्नुमाभन्दा स्वाङमा बिकेछौं
दासता रुपी साङ्लोमा छौं कि मनले गुन न
अर्कोको धुनमा रम्दछौं हामी बाँसुरी सुन न ।।

फजुल खर्च गरेर माया सद्भाव बाँडिन्न
ज्यादै छ प्यारो संस्कृति हाम्रो भाँडेर भाँडिन्न
घिन लाग्ने शब्द गीतमा बज्दा मन दुख्छ कटक्क
किन पो होला लोक गीतलाई बिर्सेको चटक्क ।।

गहना, धन, महिनौं भोजको विकृति फालेर
उघारी हेर ज्ञानको बत्ती सबैले बालेर ।
चेतना रुपी गहना लगाऊ यो सृष्टि हाँस्ने छ
समस्याहरू मासिदै जान्छन् हिम्मत बढ्ने छ ।।

चौरासी भोज खाएर मात्रै मित्रता गाँसिन्न
स्वदेशकै व्यञ्जन खाएका हाम्रो संस्कृति मासिन्न ।
सम्झेर हेर आमाले तिज कसरी मनाउँथे
विदेशी धुन के बज्नु त्यहाँ सँस्कृति सजाउँथे ।।

पराईको देशमा पसिना पोख्छौ यो माटो रुँदैछ
मोतीका दाना उठाउन यहाँ अबेर हुँदैछ ।
सिर्जना पोख्तै लेख र बेंसी तराई सजाऔं
भृकुटी सीता पासाङ बन्दै आमालाई हसाँऔं ।।

अरुको गाना कति हो गाउने आफ्नोलाई छाडेर
कसरी बाँच्ने यो मातृभूमि अरुलाई बाँडेर
मेची र काली हिमाल तराई जहाँ छौं हामी छौं
आफ्नो यो देशको सुरक्षा गर्न संसारमा नामी छौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *