Skip to content

आफूलाई खोज्दा हराएकाहरू


जोगिनु जीवन हो
मासिनु मृत्यु
जन्म–मृत्युका दुई किनाराबीच
जीवन बगिरहेको छ
हरेक पलसँग सम्झौता गर्दै
परिस्थितिलाई पछार्दै
आफू पछारिँदै
उठ्दै, खस्दै
जिन्दगी बाँचिरहेछ समयको दयामा
उँभो लाग्न बल चाहिन्छ
खस्नलाई चाहिँदो रहेनछ सहयोग कसैको
आकाशमा जून–तारा हुन्छन्
आ–आफ्नैसंसारभित्र
आ–आफ्नै व्यथाहरूबीच
कसैलाई झर्न नपाउने व्यथा
कसैलाई झर्नुपर्ने नियत
कस्तो विडम्बनापूर्ण जिन्दगी
अनुहारमा आँखाहरू हुनु अपरिहार्यझैँ
प्रत्येक छातीभित्र
एउटा अनिवार्य मुटु पनि हुन्छ
ढुङ्गैढुङ्गाद्वारा निर्मित पहाड मात्र हुन सक्छ
मान्छे ढुङ्गा हो, न पहाड
नाटक गर्दैमा कोही पनि पहाड हुन सक्दैन
पानी–पानी छ समुद्रभरि
समुद्र डुब्दैन किन कहिल्यै पनि
तापैताप छ सूर्यभरि
किन सूर्य डढ्दैन कहिल्यै
जिन्दगीदेखि सायद भागिरहेछ जिन्दगी
घटनाहरूको तालमा डुबुल्किँदै
दुर्घटनाका छालहरूलाई छल्दै
हूलका हूल मृत्युहरू दौडिरहेको सडकमा
साङ्केतिक बन्दी भएर बाँचिरहेछ जिन्दगी
पाइतालाले कति डोबहरू छोडिसकेर पनि
रित्तिँदैन पाइतालाहरू
रित्तिने दुर्भाग्य मान्छेले मात्र बोक्नुपर्ने हुन्छ
पानीको थोपा पानीमै बिलाएजस्तै
मान्छेको हूलमा मान्छे डराइरहेछ
कसले खोज्ने कसलाई
स्वय म आफू हराएको ठाउँमा
आफ्नै पहिचान भत्केको गाउँमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *