वर्षौँ पहिलेदेखिका
आमा, बाबु र गुरुहरूका
धापहरू पिठ्युँका
जीवनभर रोमाञ्चित गरिरहेछन्
भरिरहेछन् विश्वास, प्रतिज्ञा र प्रण
आँगन बढार्दा पाएको स्याबासी
जाँतो घुमाउने बन्यो कडी
पानी खेप्ता सोत्तर ओसार्दा
अहँ, पटक्कै खुम्चिएनन् हात
स्वजनले सिकाएका आस्था र उपदेश
समयले चिनाएका बन्धु र स्वदेश
झन्झन् कुँदिए छातीभित्र लिपिबद्ध
ओखलढुामा खोपेका अक्षरहरू
समयको झ्याउ लागी पुरिए होलान्
हामीले बनाएका स्याउलाका घरहरू
अब त मक्किएर भत्किए होलान्
तर,
आस्था प्रवाहित भड्डालाहरू
उज्यालो निसृत गल्छिडाहरू
बारीका कान्ला बाटाका डिलहरू
जोडिएका साँधसर्पन र गौचरनहरू
हिमालका चुली नदीका नागबेली
मेची काली किल्लाका समस्त नालीबेली
सबै सुरक्षित दुरुस्तै छन् मभित्र
पर्ख म कुनै दिन तिमीलाई देखाउँछु !
सिरुबारीमा रोपेका बिरुवाहरू
मलजल नपाई ठिँगुरिए होलान्
चउरमा छरिएका हाम्रा पदचिन्हहरु
नचिनिने भई खुइलिए होलान्
तर,
ग्रिष्मको शीतल हिउँदको न्यानो स्पर्श
मिर्मिरेको सूर्य रश्मी रातको तारापुञ्ज
बयलीको हलचल झरनाको कलकल
कुहिराको पर्दा बादलको कोलाज
पाइलाहरुमा भरिएको प्राण
देहहरुमा छरिएको त्राण
थकाइको निश्वास उमङ्गको उत्साह
आस्थाको आधार विश्वासको उचाइ
सबै सुरक्षित दुरुस्तै छन् मभित्र
पर्ख म कुनै दिन तिमीलाई देखाउँछु !
जीवनपर्यन्त उल्लासित गरिरहने
जीवनपर्यन्त उत्साहित गरिरहने
ती अविस्मरणीय पुरस्कारहरू
जीवनसरि जोगाएको एकअञ्जुली आस्था
शिखरसरि उचालेको एकअटल विश्वास
मनमुटुमा साँचेको एकदृढ प्रतिज्ञा
पर्ख, म कुनै दिन तिमीसँगै बिसाउँछु !
प्रकाशित : अनमोल पुरस्कारहरु (कविता संग्रह), २०७२
