Skip to content

कीर्तिपुरे जुत्ता


रत्नपार्कबाट जबजब म कीर्तिपुरको माइक्रो चढ्छु मेरो मन एक प्रकारले चाञ्चल्य अनुभूति हुन्छ । सो रुटमा प्रायसः विद्यार्थी र बौद्धिकहरूसँग गफिँदै जान पाइने सुविधा भएकाले ममा खुसीको बेहद् उपस्थिति हुनेगर्छ ।

बल्खु चोकमाथि गएपछि भने अर्को एकैछिन भए पनि प्रकृतिको सुरम्य काखमा गएको भान हुन्छ । त्रिकालदर्शी महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्राज्ञिक सुदूर भविष्यको सुरम्य प्रकल्पना गर्दै यस्तो काञ्चन स्थलमा विश्व विद्यालयको सार्थक कल्पना कसरी गर्न सके होलान् भन्ने प्रश्नहरूले जुलुस बनी मनमा एकाएक झुत्ती खेल्न थाल्छन् ।

धेरै वर्ष भयो कीर्तिपुर आ’को । गा’को । असरल्ल अनुभूतिका चाङहरू मनमा छन् । लेऊ लागेका –कालीन पत्रे चट्टानझैँ ।

गएको कात्तिक चौध गतेनै कीर्तिपुर जाने विचार थियो तर एउटा सिर्जनात्मक साहित्यिक लेखनको तालिमले गर्दा सकिनँ । भएको जोरचक्के बाहन पनि सुगन्धित रसका अभावले चार हप्तादेखि ग्राउन्डमा छ । चारदिने तालिमको धपेडीमय दाम्लोमा राजधानीमै बाँधिएको थिएँ –म ।

चौधै गते पर्ने प्रिय साहित्यकार जगदीश दाइको दोस्रो वार्षिक पुण्यतिथिमा पनि यसपाला मेरो मन मात्रै गयो –मन्थली । शरीर जान पाएन । त्यसैले टाढैबाट भए पनि चोभार र जगदीश आश्रमलाई नियाल्ने धोकोले धकेलेर कीर्तिपुरको माइक्रो चढायो –मलाई ।

सोह्र गते गइयो –यसपाला कीर्तिपुर ।

उसो त कीर्तिपुर धेरै उद्देश्यले धेरैपटक गइएको छ । ती सबैसबै कुराका गुत्थी यहाँ नअटाउँन सक्छन् ।

त्रिविगेट नाघेर अलिअघि गएपछि चोभार जाने बाटोलाई छाडेर जब माइक्रोले दाँयाँ फन्को लिन्छ अनि म देब्रेतिर रहेको जगदीश दाइको घरमा आँखा पुर्याइहाल्छु । उहाँ छँदै म दुईपटक वहाँको घरमा गएको थिएँ तर भेट हुन भने सकेन । अहिले पटकपटक जान मन त लाग्छ तर दाइ बितिसक्नुभयो । कस्तो विडम्बना ?

आज पनि शून्यताको तुवाँलोले छपक्कै ढाकेको छ चोभार डाँडोलाई जसभित्र मेरा अनेक साहित्यिक अनुभूतिहरू लुकेका छन् ।

कुदिरहेको माइक्रोबाट आँखा तेर्साउँदै जाँदा टाढैबाट भए पनि म जगदीश दाइको घर त्यसरी नै चिन्छु जसरी अँध्यारोमै आफ्नो घरमुलीलाई उसका आश्रितहरूले आफ्नोबिरानो नचिन्ने ठूलो साँझमा पनि छट्टै चिन्छन् । बारीको पाटाको बीचमा रहेको चाइनिज इँटाको घर किनकिन अभिभावकझैँ लागेर शान्त स्वरूपमा रहेको प्रतित हुन्छ । ठूलो क्षेत्रफल भएको बारी । थरीथरीका बोटबिरुवाहरू । मनै हर्ने वातावरण लाग्छ –मलाई जगदीश दाइको घरको लोकेसन । ‘सकस’ उपन्यास साफीताका मन्थलीमा कुनै जाडौले हिउँदमा मैले वहाँसँग गरेका भलाकुसारीहरू अँझै जोगाएर राखेको आलो सम्झना आइरहन्छन् –दिमागमा ।

भित्र मनमा अनेकानेक खुसीका उच्छवासहरू चल्छन् । भावनाका लहरहरू नरोकिँदा नरोकिँदै फुत्त नयाँ बजार पुग्छ –पब्लिक माइक्रो । पछि फर्केर हेर्न खोज्छु विश्व विद्यालयको हाता हठात् कटिसकेको हुन्छ ।

आउँदा त धित मरून्जेल हेर्न पाइनँ । जाँदा भने हेरौंला । मनले मनलाई मनमनै शान्त्वना दिइरहेको हुन्छ ।

भाडाका लागि गोजीमा हात घुसार्दा नघुसार्दै माइक्रोको लाष्ट स्टप आइपुग्छ । कीर्तिपुर–कीर्तिपुर । सहचालक भाइ कराउँछन् । जीवन पनि यस्तै माइक्रोको यात्रा जस्तै छोटो हुँदो हो । अनायासै विचार तरङ्ग फुर्छ ।

अनि क्षणपल भए पनि बिर्सन्छु –चोभारलाई । अलिकति जगदीश दाइलाई पनि । उहाँ सँगका मन्थलीमा भएका साहित्यिक भेट र वार्तामय असमेल सम्झनाका फाँकीहरूलाई ।

– – –

म कीर्तिपुर आउनुको दोस्रो उद्देश्य जगदीश दाइलाई सम्झनु हो । पहिलो त आर्कै छ ।

त्यो हो –कीर्तिपुरे जुत्ता । जोसँगको मेरो करिब एक युग भैसकेको सुसम्बन्ध कायम छ । गैँडाले नित्य एकै स्थानमा सुचि गरेझैँ गएको बाह्र वर्षदेखि जुत्ताको अर्थ राजनीतिले मलाई यो पुरानो पार्वत्य शहरमा लेराउँ’छ । साथै एकफन्को सेल रोटी पकाएझैँ फेरि फुत्तै गरी लैजान्छ ।

फुत्त ओर्लिएर बीसतीस पाइला हिँड्दा नहिँड्दै देब्रेतिर रहेको सुकदेव दुलाल दाइको त्यही जुत्ताको पसल अमूक भाषामा मैलाई स्वागत् गर्दै पर्खी बसेको भान हुन्छ । तीर हानिएझैँ म अवाक भएर त्यहाँ पुग्छु । अनि कार्यसम्पन्नपश्चात् त्यसैगरी फर्कन्छु जसरी गएको थिएँ ।

भावक मनले भन्छ –‘मै जस्तालाई भनेर होला यो पसल खोलेका दुलाल दाइले हगि ?’ भावित मनले फेरि उत्तर दिन्छ –‘उनका पनि त होलान् नि बाध्यताहरू । प्याजझैँ मैले उनलाई संवादमा कहिल्यै छोडाएको छैन । हामी दुवैको हाँच मिल्ने रै’छ । उनी विक्रेता अनि म क्रेता । हाम्रो स्वार्थको बेपारनीति यहाँनेर मेल खाएजस्तो लाग्छ ।’

– – –

आफू पनि निकै लामो कालावधिदेखि अक्षर श्रमिक भएकाले हुनसक्छ म श्रम गर्ने जो कोही मानिसलाई आदर गर्छु । नमन गर्छु ।

उमेरमा आफूभन्दा ठूलालाई ‘नमस्ते’ भन्न मेरो मुखै अघि सर्दैन । ‘नमस्कार’ मैले अभिवादनको शिष्टाचार एकाएक बिसाएपछि उनी पनि सोही पारामा भन्छन् –‘नमस्कार ।’

‘दाइ, यसपाला त अलि दुब्लाउनु भएछ नि ।’ भित्र गढेका आँखा केही चिम्सा नै छन् –उनका । चस्मा छ –बाक्लो फ्रेम भएको । केही हाँस्न खोजेको भावमा भन्छन् –‘अब बूढो पनि त हुँदै गइयो नि सर ।’

‘मैँ आउन थाल्या त बाह्र वर्ष भएछ । अनि दाइ किन बूढो नदेखिनु नि ।’ –म आफ्ना कुरा राखेर उनका कुराको पुरानो कोयोबाट रूवाका प्युरी तान्ने भावमा सोध्छु ।

‘साँच्ची दाइले कति वर्ष भयो यहाँ यो सेवा दिन लाग्नुभएको ?’ जुत्ता देखाउँदाका बीचमा मैले गर्ने प्रश्नहरू यी र यस्तै हाँचका हुन्छन् ।

‘खै धेरै भयो । १४ वर्ष त बाँसवारी छाला जुत्ता कारखानामै काम गरेँ । सरकारले धपाएपछि यहाँ आएको हूँ । आफ्नो पसल गरेको पनि २० वर्ष लाग्नै आँटेछ । पहिलेपहिले धेरै बिक्री हुन्थ्यो । उरूङ् विद्यार्थीहरू पसलमा झ्याम्मिन्थे । आजकाल त सरहरूजस्ता मात्रै फाट्टफुट्ट आउने हुन् । सबै चमकदमकको फेसनमा रमाएका छन् सर ।’

‘अनि खै त अरू कालीगढहरू ।’ म बिस्तारै जिज्ञासाका पेटाराहरू खोल्छु । ‘बर्ख दिन पनि टिक्दैनन् सर । अरब र मलेसिया जान्छन् । अर्काका छाउराहरू नजाओ भन्न पनि सकिन्नँ । कोहीकोही दुःख पाएरै फर्कन्छन् । फेरि काममा लाग्छन् । आफू त बूढो भैयो । जाने आँट पनि छैन । बेबहारले पनि दिँदैन ।’

खासमा उनलाई मैले यसैपाला नामनामेसी र फोन नम्बर पनि सोध्ने विचारले कुरा गर्ने रहर जगाएथेँ । पोहोर दसैँमा सप्तमीका दिन जाँदा उनको पसल बन्द रहेछ । त्यसैबेला झट्ट मनमा लागेको थियो । हत्तेरी म पनि कस्तो मूर्ख जाबो फोन नम्बर त लिनु पर्ने रहेछ । विनासित्ती दुःख पाइयो ।

यसपाला जुत्ता किन्नु अगाडि नै फोन नम्बर माँगे । उनले आँशिक शंका पनि गरे हूनन् । ‘किन सर ?’ मैले पोहोर आफू आउँदा पसल बन्द भएको कुरा राख्दा सजिलै उनले आफ्नो फोन नम्बर टिपाइदिए ।

‘अलि मिलाउनोस् है दाजु । मैले मोलमोलाई गर्न जान्या छैन ।’ उनले केही हाँस्न खोजेको भावमा सुस्तरी भने –‘बजार र अरू मानिसलाई त चौध सय हो । सर नियमित ग्राहक हुनु हुँदो रहेछ । भै’गो बाह्रसय पचास दिनुस् न ल ।’

‘दाइ आफैँ हेर्दिनुस् है । अल्टरसल्टर त छैन होला नि ।’ मैले थप्नकै लागि थपेँ ।

‘छैन, सर । छैन । हामी आफैँले बनाउने हो । पहिलेपहिले त राम्रो छाला आउँथ्यो । भारत र पाकिस्तानबाट आउने छालाका महँगा जुत्ता पनि कत्ति बनाइयो । कत्ति । अब त उताका छाला भनेर हाम्लाई नै हेटौंडाका छाला भीडाउँछन् –बेपारीहरू । जताततै छलैछल छ ।’

‘त्यो दाइले जान्ने कुरा हो । हामी त सिम्पल लिभिङ् हाइ थिङ्किङ्वाला मानिस । खप्नु पर्यो । जस्तो भा’नि हुन्छ । अब यो उमेरमा फेरि झिल्के हुने होइन क्यारे !’ हल्का आफैँलाई व्यङ्ग्य गर्दा टाउकोमा लगाएको नेपाली टोपी झिकिसकेर ब्रसले पुछपाछ गरी जुत्ता प्याक गर्न पनि भ्याई हालेछन् ।

‘पचास त भाडा छुट्याएँ है दाजु । दुःख नमान्नु होला ।’ ‘मैले भनेकै त्यति हो ।’ उनी फिस्स हाँस्छन् । उनी अँझै थप्छन् –‘आइरहनुहुन्छ । मेरा लागि यही नै नाफा हो । सरले नै भनेर होला बीचमा सरजस्तै दुईजना सरहरू एकफेर आएका थिए । यस्तै हो । दुईमुठी सास हुन्जेल काम गर्ने हो । सन्तान पाल्ने हो ।’ उनले त्यसो भन्दै गर्दा भित्र रहेका एकजना अधबैँसे मानिस म भएतिर पुलुक्क हेर्दै थिए । सायद् उनी कामदार होलान् मेरो मनको तुलोले जोखेर भन्दै थियो ।

उनैले कुराको बिट मारे । ‘ऊ छोरो हो ।’ मैले केही भनिनँ । बुझेको जनाउ दिन टाउको मात्रै हल्लाएँ । ‘एकैछिन बस्नु पर्यो ।’ मैले सहमति माँगे ।

अलिपर रहेको बेञ्चमा बसेर बाहिर हेर्दै थिएँ । फ्यात्त एउटा परेवाको बच्चो झर्यो । माथि सटरमा परेवाले गुँड लगाएका रहेछन् । उड्न नसक्ने तर पखेँटा भने पूरै पलाएको बच्चो देखेर ढुन्मुनिँदै म आफ्नो बाल्यकालको मीष्ठ सम्झनामा पुगेँछु ।

– – –

तराईमा जन्मेका हामी । तराईमा परेवालाई मासुका रूपमा लिने गरिन्छ । मैले केटाकेटी हुँदा गाउँमा धुइँपत्ताल खोजेर परेवाका बच्चाहरू किनेर ल्याउने अनगिन्ती गोरखधन्दीय कामहरू गरेको छु । ऊ बेलाको जमानामा सस्तो थियो –भाउ बेसाहा ।

यो चौँतीस सालतिरको समय हुनुपर्छ । चौध रूपैयाँमा दुईजोर परेवा पाइन्थ्यो । सात रूपैयाँ जोडी । बाले जहिल्यै पन्ध्र रूपैयाँ दिनुहुन्थ्यो । काम गरेबापत् एक रूपैयाँ बकस मिल्ने भएकाले शुक्रबार आउने बित्तिकै म बाका मुखमा हेर्न थालिहाल्थेँ । कुरा बुझेर बा पनि पन्ध्र रूपैयाँ झिकेर दिनुहुन्थ्यो । म पत्तातौड भएर हुरूरू गर्दै दौडिन्थे –गाउँतिर । ‘एक्लेएक्ले ल्या’है’ मासु पर्छ । बा भन्नुहुन्थ्यो ।

आज त्यहाँ देखेँ । एक्लेजस्तो बच्चो नै झरेको छ ।

‘सर त चुपो लाग्नुभयो । किन होला ?’ –दुलाल दाइको यो प्रश्नले मलाई फेरि कीर्तिपुरमै ल्यायो । सम्झनाहरू सम्झिनैका लागि कति मिठा हुँदा रहेछन् ।

दुलाल दाइलाई मैले भने –‘यहाँ त परेवा खाने चलन छैन । त्यसलाई माथि राखिदिन सकिँदैन हगि ।’ उनले सो गर्न नसकिने कुरा बताए । ‘अब केही समयपछि कुकुरले देखे भने यसलाई खान्छन् ।’ मलाई उनको कुराले भित्रैदेखि दुःख लाग्यो । बोकेर घर ल्याऊँ । के भन्छन् घरका मान्छेले ? मद्दत गरौं निकै माथि छ –उसका बाआमा भएको गुँड । गह्रौं मन बोकेर म मन नलागि नलागि फिरेँ ।

माया लाग्नु पनि नजानिँदो पाराको रोगै रहेछ ।

– – – –

एक वर्ष होइन । दुई वर्ष होइन । पूरापूर बाह्र वर्ष भयो मैले कीर्तिपुरका जुत्ता मन पराएर लगाएको । बाह्र वर्ष याने एकजुग । एक जुगमा त खोलो पनि फर्किन्छ भन्थे –उहिलेका बूढापाकाहरू । तर अहिले खोलो फर्केको होइन सुकेको जस्तो लाग्दैछ । मेरो क्रयशक्ति र उनको विक्रयशक्ति उस्तैउस्तै पाएको छु –मैले । यसबीच देशमा नयाँ खुलेका पार्टीझैँ न्यूरोड वा पुतली सडकतिर अनेक नामधारी जुत्ता पसलहरू नखोलिएका त कहाँ हुन् र ? तर किनकिन म दुलाल दाइकै कीर्तिपुरको जुत्ता पसलमा जान्छु र बलिया जुत्ता किनेर फर्कन्छु । मलाई चमकदमकमा रत्तिभर विश्वास छैन ।

बर्ख दिन मज्जाले टिकेका छन् दुलाल दाइसँग किनेका मेरा जुत्ताहरू । तर किन मेरो जुत्ता जति पनि खप्दैनन् –यो देशमा सरकारहरू । म मनमनै सोध्छु एउटा प्रश्न आफैँलाई । अनि मूक भाषामा अर्को प्रश्न सरकारलाई ।

म कीर्तिपुरे जुत्तामा लोभिनुका धेरै कारणहरू छन् । एक त्यहाँ स्थानीय उत्पादन । दुई सस्ता । तीन लगाउन सजिला । चार, पाँच र छ भन्नुको विशेष तात्पर्य छ ।

मैले साठी सालमा कीर्तिपुरे जुत्ताका बारेमा सुनेको हूँ । सायद् एकजना क्याम्पसमै पढाउने सहपाठी प्राध्यापकले मलाई सो जुत्ताका बारेमा सुझाएका हुन् । लगालग बाह्र वर्ष भएछ । वर्षका दुईदुई जोरका दरले भए पनि चौबीस जोर जुत्ता मैले कीर्तिपुरबाट ल्याइसकेछु ।

‘एउटा जनावरबाट कतिजोर जुत्तालाई पुग्ने छाला उत्पादन होला दाइ ?’ मैले गर्या प्रश्नमा सुकदेव दाइले भन्नुभयो –‘त्यस्तै दस बाह्र जोर ।’

आरडी सुजका प्रोपाइटर शुकदेव दुलाल रहेछन् । कीर्तिपुर नपा–१७मा उनको पसल छ । पोहोर जाँदासम्म तीनजना कालीगढ देखेको हूँ । यसपाला बूढा एक्लै पसलमा धुन्धुन्ती काम गर्दै रहेछन् । युवाको विदेश पलायन र वृद्धहरूले आफ्नो पुर्ख्यौली परम्परा धान्नु पर्ने बाध्यतालाई गहिरोसँग मैले यसपालाको कीर्तिपुरे जुत्ता खरिदमा बुझेँ । त्यति त मैले पचपन्न सालमा कीर्तिपुरबाटै कलाचार्यको उपाधि लिँदा पनि बुझेको रहेनछु ।

जीवनमा सबै कुरा एकैपटक नबुझिने रहेछन् । जसरी हामी किस्ता किस्तामा जीवन बाँच्छौं त्यसैगरी बुझाइहरू पनि किस्ता किस्तामा प्राप्ति हुने रै’छन् । बाह्र वर्ष लगालगी कीर्तिपुरे जुत्ता लगाएपछि मलाई भएको ब्रह्मज्ञान हो –यो ।

।।समाप्त।।

पेशल आचार्य

1 thought on “कीर्तिपुरे जुत्ता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *