ढुकढुकीमा मेची काली

ढुकढुकीमा मेची काली बग्दा मान्छे नेपाल बन्छ ।
खोज साथी हामीभित्रै हाम्रो गाउँ बस्ती हुन्छ ।

लाली गुराँसको माला लगाई धौलागिरि हाँसी दिँदा –२
सुनसाथी गण्डकीले सुसेलीमा किन रुन्छ ?
छालहरुको जोश जाँगर त्यसै त्यसै किन सुक्छ ?

स्वदेशको माया बोकी टाढा जाने परदेशीलाई –२
भन साथी सारङ्गीको विरहमा गाउँ रुन्छ ।
बाँझा पाखा पखेराले तिम्रो माया सम्झेकै छ ।

विकास गर्ने भाषण गर्दा वर्षौँ वर्ष त्यसै बिते –२
आउ साथी सबै मिली कोदालो घन बोके हुन्छ ।
विश्वासका बारी जोती मेहनतका बिउ रोपे हुन्छ ।

तीन करोड सबै नेपाली नेपाल आमाकै सन्तान भए –२
को को परे आफ्ना मान्छे छुट्याउन छोडे हुन्छ ।
गुटहरुमा बाँड्न छोडी एकै ठाउँ जोडे हुन्छ ।

वर्षौँदेखि हामी बीच खाडल पारी भेल उर्ल्यो –२
आउ साथी मेची काली साँगु जोडी तरे हुन्छ ।
नेपालीको सङ्लो मन तीर्थ त्यहीँ गरे हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *