Skip to content

सापट लिई अलिकति

सापट लिई अलिकति जूनघामको रश्मी
दुबै हात फैलाएर मुस्काउँदा तिमी
वसन्तले जिन्दगीलाई चुमेछ कि भनी
यसो नजर उठाएर हेर्थें मैले पनि ।

वारि छाँया भए पनि पारि घाम लाग्दा
हिमाल टल्की झलमल्ल मनमा बत्ति बल्दा
उज्यालोले जिन्दगीलाई छोएछ कि भनी
यसो नजर घुमाएर हेर्थें मैले पनि ।

जताततै हरियाली बाग थियो फूल थियो
उमङ्गमा चङ्गा भन्दा बढी उड्ने मन थियो
सुदिनले जिन्दगीलाई फेरेछ कि भनी
यसो नजर डुलाएर हेर्थें मैले पनि ।

साँचेको छु रूग्ण इच्छा ढल्ने जिजीविषा
भाँचेको छु दुःखी अतीत मन पोल्ने दृष्य
बग्दै जाँदा डुब्दै जाँदा सहारा पो छ कि भनी
यसो नजर चलाएर हेर्छु अझै पनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *