Skip to content

दिल्ली महात्म्य


उहिले ऋषि मुनिका पालामा
‘अष्ठादस पूराणेसु
व्यासास्य वचनाद्वय म ।
परोपकाराय पुण्याय
पापाय परपीडन म ।।’ भन्दै व्यास बाजेले ‘अठार पूराण’ लेखेथे । सिसीमुनिका जमाना आएपछि व्यङ्ग्यकार भैरव अर्यालले ‘भुँडी पूराण’ बनाई उन्नाइसौंको नामकरण गरे ।

सन्दर्भ दिल्ली पूराणबाट सुरू गरौं ।

म चाहिँ यतिखेर यहाँ बीसौं पूराण कथ्दै ‘जय दिल्ली महात्म्य !’ लेखेर पाठकलाई दिल्ली दर्शन छाट्ने सिल्लीमय धृष्टता जो गर्दैछु ।

भन्नैलाई पूराण सजिलो हुन्छ । लेख्न बनाउन गाह्रो । सुनून्जेल मजा आउँछ । व्यवहारमा उतार्न साह्रो । पाँचहज्जार वर्षको समयमा धेरै सभ्यताहरू घर्किए । समयले डेग र चालमा टाप लगायो । बुकुर्सी मार्यो ।

‘उहिलेका कुरा खुइलिए कसैलाई थाहा छैन । अहिलेका कुरा सबैलाई थाहा छ सुनाउनै पर्दैन ।’ हामी ऋषिमुनिका सन्तान सिसीमुनि । अनि अहिले त्यो महाभारतको युग पनि होइन जहाँ द्वापर युगको सभ्यता थियो । अहिलेको युग व्यापारको हो । अहिले जे पनि खरिदबिक्री हुन्छ । जो पनि खरिदबिक्रीमा सामेल हुन्छन् । तन, मन र वदन सबैसबै सुक्रीबिक्रीमा राखिएका छन् । जहाँ त्यो महाभारतको नभएर यो भारतको दर्शन बिकेको छ ।

अत: पूराण आरम्भ गरौं । पूजा गर्नु पर्दैन आज पूराणका किताबलाई । भुजा गरेरै बसे हुन्छ –यो डिजीटल मायाको नगरीमा । नेटको भेटी चढाए हुन्छ तर नेटवर्कचाहिँ चाहिन्छ –दह्रो ।

अथ: प्रथमध्याय :

हामीलाई दिने नि दिल्ली । हामीसँग लिने नि दिल्ली । हामीलाई मिलाउने नि दिल्ली । पोस्ने नि दिल्ली । खोस्ने नि दिल्ली । यता दिल्ली । उता दिल्ली । माथि दिल्ली । तल दिल्ली । दिनमा दिल्ली । रातमा दिल्ली । सरकारमा दिल्ली । प्रतिपक्षमा दिल्ली । सदनमा दिल्ली । सडकमा दिल्ली । देशमा दिल्ली । मधेशमा दिल्ली । जातिमा दिल्ली । जनजातिमा दिल्ली । नेपाली राजनीतिमा नेपालीका टाउका गनेर सबै होलसेल र खुद्रा राजनीतिक भाउ दिल्लीको साउथ ब्लकमा रहेको मण्डीबाटै तोकिने गर्छन् ।

निर्देशक । नाटक । सूत्रधार । पर्दा । रंगमञ्च । अभिनय । दर्शक । थपडी । सबैसबै दिल्लीबाटै निर्देशित ।

राणाराज्यको अन्त्यमा दिल्ली । पञ्चायतको मटियामेटमा दिल्ली । प्रजातन्त्रको जन्ममा दिल्ली । लोकतन्त्रको आगमन र गमनमा समेत दिल्ली ।

नेपाली चाल, ढाल, माल, काल, हाल, बेहाल र अनिकाल सबैसबैमा दिल्ली । त्यसैले त नेपालमा ‘दिल्ली दूर नही हे’ भन्ने हिन्दी उखान चलेको छ । जसले चलाए पनि यो उखानमा दम छ । मिठो आलुदम छ । कसैका लागि बम पनि होला । जोगीका लागि बमबम छ । भन्न चाहिँ हामी नेपाली आफूलाई स्वाभीमानी र नेपाललाई सार्वभौम सत्ता सम्पन्न राष्ट्र भन्छौं तर हाम्रा नेताहरू दिल्लीमा पानी पर्दा काठमाडौँमा छाता ओढ्छन् । दिल्लीमा जाडो बढ्दा राजधानीमा ज्याकेट लगाउँछन् ।

दिल्ली दिल्लीमा बसेर आदेश दिन्छ । फर्मान जारी गर्छ । हामीले अभिनय गर्न नजान्दा अनेक फत्तुर पनि लगाउँछ । त्यो भएन । त्यो भएन । ह्यान । त्यान । जे पनि भन्छ । जसो भन्छ । ऊ भन्नेमा छ । हामी मान्नेमा छौं । मालिक र अनुचरको सुसम्बन्ध हाम्रो छ । यो संस्कृति नै भैसक्यो ।

दिल्लीको सबैथोक भएर पनि दिल छैन । ऊ सिल्ली छ । त्यसैले नेपाल र नेपालीको बेला न कुबेला चिल्लिबिल्ली पार्छ । झिल्ली झार्छ र तर जति आफू खान्छ । ऊ बलराम अभिनय गर्दै ‘पानी हालेको दूध’ हामी छिमेकीहरूलाई दिन्छ । दिल्लीले नेपालमा मात्र होइन सार्क रिजनका सबै देशमा तबाहीतबाही मच्चाएको छ । तोबातोबा बनाएको छ ।

दिल्ली माथि छ । हामी तल छौं । ऊ थिच्छ । हामी थिचिन्छौं । तल पर्नेलाई कतिको सकस हुन्छ त्यो दिल्लीलाई थाहा छैन ।

नेपालका तीन करोड टाउकाहरू दिल्ली आश्रयमा बाँचेका छन् । नाँचेका छन् । अनि जीवन जिउन पाउने करोडौं सपना साँचेका छन् । यता नि दिल्ली । उता नि दिल्ली । मानमा दिल्ली । सानमा दिल्ली । रामचन्द्रमा दिल्ली । बाबुराममा दिल्ली । कमलमा दिल्ली । पुष्पकमलमा दिल्ली । ओलीमा दिल्ली । बोलीमा दिल्ली । उपेन्द्रमा दिल्ली । राजेन्द्रमा दिल्ली । सन्तमा दिल्ली । महन्थमा दिल्ली । दमनमा दिल्ली । उद्धारमा दिल्ली । सुन्दरमा दिल्ली । कुरुपमा दिल्ली । कहाँ पो छैन दिल्लीको आर्शीवाद ?

दृश्यमा दिल्ली । अदृश्यमा दिल्ली । राप । ताप । हाँप र झाँपमा दिल्ली । नीतिमा दिल्ली । राजनीतिमा दिल्ली । गालीमा दिल्ली । तालीमा दिल्ली । सीमाङ्कनमा दिल्ली । नामाङ्कनमा दिल्ली । वाद । विवाद । संवाद सबैसबैमा दिल्ली । आग्रह । विग्रह । पूर्वाग्रह र संग्रहमा झनै दिल्ली । दिल्लीको दागागिरीेले नेपालीको भयो चिल्लीबिल्ली ।

प्रजातन्त्र लगानीमा दिल्ली । जनयुद्धमा दिल्ली । लोकतान्त्रिक आन्दोलनमा दिल्ली । मधेश आन्दोलनमा झनै दिल्ली । वार्तामा दिल्ली । सहकार्यमा दिल्ली । मस्यौदामा दिल्ली । पेशीमा दिल्ली । बहसमा दिल्ली । मिलापत्रमा दिल्ली । अनि फैसलामा नि दिल्ली ।

दायाँ दिल्ली । बाँयाँ दिल्ली । काँग्रेसमा दिल्ली । एमालेमा दिल्ली । माओवादीमा दिल्ली । मधेशवादीमा दिल्ली । राप्रपमा दिल्ली । राजावादीमा दिल्ली । कहाँ छैन दिल्ली ? दिल्लीको मायावी खेल अपार छ । फरक के छ भने यहाँ कोही दिल्लीको दिलमा बसेर गोयबल्स शैलीले राज गर्छन् । कोही दिल्लीको काँध चढेर फुइँ छाट्छन् । अँझ कोहीकोही त दिल्लीको दलगिरी गर्दै पाउ मल्छन् अनि पैताला चाट्छन् । जनता ढाँटछन् ।

नेपाली लोकतन्त्रको पानी यसैगरी धमिलिरहने हो भने नेपाल र नेपालीलाई अँझै केही दसक दिल्लीले औपचारिक अनौपचारिक राजनीतिक रखेल (?) बनाइरहने पक्का छ । ऊ मौकामा चौका हान्छ । लौका टिप्छ । ऊ जान्दछ र खेलाउन चाहन्छ । हामी जान्दैनौं र खेल्न चाहन्छौं । ऊ सिटी फुक्छ । हामी गोडा चाल्छौं । ऊ पदक दिन्छ । हामी प्रमाणपत्र थाप्छौं ।

अहिलेको तात्तातो चासो संविधान कार्यान्वयनको यो खेल नयाँ होइन । पुरानो हो । पहिले पनि दुईदुई पटक खेलायो । चलायो । अहिले पनि खेलाइरहेछ । घामजत्तिकै छर्लङ्ग छ नेपालीहरू यसैगरी विभाजित भएर खेलिरहे भने भविष्यमा पनि खेलाइरहनेछ । उसको आफ्ना छिमेकीहरूसँग मतभेद र मनभेद छ । दिलखुस हुन नसकेको दसकौं दसक भैसक्यो ।

जय दिल्ली महात्म्य ! तेरो लीला अपरम्पार छ । तँलाई कोटिकोटि नमन ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *