Skip to content


महानगरकै एक ठूलो तारे होटेलको सभाहल सहभागीहरूद्वारा खचाखच भरिएको थियो।

सभाहलको तामझाम निकै उत्कृष्ट थियो, बिदेशी सजावटका सामान, ध्वनी संयोजन देखि लिएर वातानुकुलनका सम्पूर्ण व्यवस्था ठीकठाक दुरूस्त भए नभएको रेखदेख गर्ने सहयोगी हरू तत्पर तथा तम्तयार देखिन्थे।

कार्यक्रममा आमन्त्रीत सबै सम्माननीय, माननीय, पूजनीय, ढोगनीय, वन्दनीय लगायतका प्रमुख, अति बिशिष्ट, बिशिष्ट, कनिष्ठ सम्पूर्ण अतिथीहरू प्रफुल्ल मुद्रामा माल्यार्पण तथा ब्याजहरूबाट सु-सज्जित भएर मञ्चमा आसीन थिए।

भाषणको क्रम चल्यो, चर्का भाषणहरू चल्दै गए, सपनाहरू बुनिँदै गए, आश्वासनहरू बाँडिदै गए। सुन्दा यस्तो लाग्थ्यो मानौँ केही समयमै महानगरले काँचुली फेर्नेछ, महानगर चाँडै नै सपनाको स्वर्ग बन्नेछ।

कार्यक्रम सकिनासाथ सभाहलसँगै जोडिएको कक्षमा दिवाभोज सुरू भयो, सबैले स्वाद लिई लिई, यता उती कोल्टे फेर्दै पुरा समय लगाएर स्वदेशी तथा बिदेशी परिकार तथा पेय पदार्थहरूको रसस्वादन गरे।

दिवाभोजको समाप्ति पश्चात उपस्थित तथा आमन्त्रीत सबैले पंक्तिबद्ध भइ रजिष्टरमा हाजिरी गर्दै खामबन्दी नगद बुझे अनि बिदा भए।

खचाखच भरिएको सभाहल तथा दिवाभोज कक्ष एकाएक खाली भयो बाँकी रहे कार्यक्रम संयोजन समितीका सदस्यहरू। राज्यकोषबाट आएको बिनियोजनको हर-हिसाब फर-फर्सोट भयो र उज्राती पनि सबै बाँडफाँड भयो।

होटेलका सहयोगीहरू जुठा भाँडा सोहोर्न र सर-सफाइमा लागे, अनि कार्यक्रम संयोजन समिती प्रफुल्ल मुद्रामा बाहिरिए।

उता होटेल मालिक आएर सहयोगीहरूलाई भन्दै थियो – “सर-सफाइको काम छिटो सिध्याउनुहोला नत्र आजको खाजा भत्ता नपाइएला।”

अरे! कार्यक्रमको नाम त भन्नै बिर्सेछु – नाम थियो “गरिबी उन्मूलन कार्यक्रम – उद्धाटन सत्र २०७४।”

२०७४ भाद्र १३ (२९ अगस्ट २०१७)
सौराहाद्वार, रत्ननगर, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *