Skip to content

परेलीमा कम्पित हुँदा

परेलीमा कम्पित हुँदा नयन तालको पानी
ढुकढुकी भै सल्बलाउँछिन् अन्तरमनकी रानी ।

जति चिम्ल्यो आँखा उति चर्को मौन क्रन्दन
जति थप्यो आँसु उति बल्छ देह झन् झन्
लोलाएका नजरभरि छरिइछन् उनी
हेलिएँछु उनलाई भेट्न भेल जानीजानी ।

सफा थियो सगर अनि चम्किएको डगर
प्रतीक्षामा क्षितिजसम्मै विच्छ्याएथेँ नजर
हृदयको ढोका खोली निस्किइछन् उनी
छेलिएँछु ओझेलसरि छुटेँ छायाँ बनी ।

गीत पूरा गर्न बाँकी एउटा अन्तरा’थ्यो
जीवन बुटी साँचिएको एउटा जन्तर’थ्यो
छुटे सबै याद चाह छुटे स्वप्नसरि
छोडिएँछु जस्केलोमै खोज्दै होलिन् उनी ।

परेलीमा कम्पित हुँदा नयन तालको पानी
ढुकढुकी भै सल्बलाउँछिन् अन्तरमनकी रानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *