Skip to content


लेखक जगदीश घिमिरेको ‘अग्निसूत्र’ नामक कविता संग्रह भर्खरै सार्वजनिक भएको छ । यसमा उनका २०२५ देखि २०६२ सालसम्म रचित कविता संकलित छन् । घिमिरेको यो पहिलो कविता संग्रह हो । यी कविता कुनै फुटकर, कुनै गीत र कुनै मुक्तक स्वरूपका छन् । यी कविताले आफ्ना कालखण्डका कटुतम यथार्थलाई प्रतिबिम्बित गरेका छन् ।

पञ्चायतकालमा लेखिएका कविताले तत्कालीन राजनीतिक अर्धनायकत्व, दमन, शोषण र बिसङ्गतीलाई देखाएका छन् । त्यसपछिका कविताले राजनीतिक अस्थिरता, भ्रष्टाचार र दुराचारलाई झल्काएका छन् । बाह्र वर्षसम्म द्वन्द्वको भुमरीमा परेर दिग्भ्रमित बनेको समाज र अमानवीयताको पराकाष्ठाबारे कवितामा भावना पोखिएका छन् । समग्रमा भन्नुपर्दा यी कविताले नेपाल र नेपालीको यस्तो दुर्नयतीलाई देखाएका छन् जसले मन भतभती मात्र पोल्दैन, दनदनी बालेर भस्मै पार्छ ।

यी कविताको पहिलो र अन्तिम शक्ति भनेकै पोलिने कुरा हुनु हो, प्रदहनशील हुनु हो । क्रान्तिकारी कवि गोपालप्रसाद रमिालका कवितात्मक शब्द सापटी लिएर भन्ने हो भने जगदीशका कविता हिँउभन्दा चिसा र आगोभन्दा ताता छन् । यो संग्रहमा सबैभन्दा बढी व्यंग्य र बिडम्बनाका कविता छन् । देशमाथि आफूमात्र हालीमुहाली गर्ने शासक, गरीबलाई ठगेर आफूमात्र धनी हुने सामन्त र अविवेकी आचरण भएका हरलिठ् ठकलाई कविले व्यंग्यको अगुल्टोले हिर्काएका छन् । यसमा विद्रोह र विरोधका कविता छन् ।

यस्ता कविताले सबै किसिमका दुष्कृत्यप्रति विद्रोह र विरोधको आकाशै छुने हुंकार गरेका छन् । यसभित्र अगाध देशप्रेम र राष्ट्रभक्तिको तप्त सागर भकभक उम्लेको देखाउने कविता पनि छन् ।

‘अग्निसूत्र’ मा ठूला मान्छेका, ठूला मान्छेले गर्ने छलकपटका, धोका र हेपाहा प्रवृत्तिका, अहंकार र थिचोमिचोका कविता छन् । यसमा साना मान्छेका, भुइँ मान्छेका, तल परेका, छेलिएका, चेपिएका र निमुखाका कविता छन् । निमुखाले गर्ने असफल विद्रोहका कविता पनि छन् । केही थोरै कविता प्रेम र प्रणयका पनि छन् । यी सबै कविता थोरै भावना र धेरै विचारले लेखिएका छन् । यसमा क्रान्तदर्शी कविता छन्, दुरदर्शी विचार बोकेका कविता छन् । युगको धर्म र मर्म विश्लेषण गरेर भविष्यको संकेत गर्ने वैचारिक सुक्ष्मता भएका कविता छन् । त्यसैले जगदीशका कविता जीवनवादी विचारले रचिएका छन् । यी कविता विचारका अग्निमन्थन हुन् । यी अग्निसूत्र मात्र नभएर अग्निशिखा पनि हुन् ।

यी कविता पोल्ने भाव वा विचारले राम्रा भएका होइनन्, भाव वा विचारलाई कलात्मक पारेर व्यक्त गरेकाले सुन्दर भएका हुन् । यी कविता प्रस्तुतिगत स्वाभाविकता, स् पष्टता, निर्भिकता, प्रतिकात्मकता र बिम्बात्मकताले भरएिका छन् । मिथ र प्राकसन्दर्भको प्रयोगले, उदाहरण र दृष्टान्तले कविको ज्ञानको क्षितिजलाई देखाएको छ । र पाठकले कविको ज्ञानको क्षितिज नछोइ कविताबाट आनन्द प्राप्त गर्न सक्तैन भनेर रेखा खिचिदिएका छन् । त्यसैले यी कविता कवितात्मक सौन्दर्य ग्रहणकर्ताका लागि सहज नभएर चुनौती पनि हुन् ।

अहिले नेपाली साहित्यमा कविताको विस्फोट भएको छ । नेपाली कविताका पाठकले मन लागी नलागी, कोचीकोची कवितापान गररिहनु परेको छ । अत्यधिक कवितासेवनले पाचनशक्ति क्षीण भएका पाठकका लागि ‘अग्निसूत्र’ अगाडि पस्किएको छ । कवि जगदीशसँगै उनको ‘रूख’ कविताका यी पंक्ति गाउन मन लाग्छ,

‘कवि केही त सार्थक लेख
शब्द धेरै लेख्यौ
केही सार्थक भाव पनि लेख ।’

1 thought on “अग्निसूत्रको सौन्दर्य”

Leave a Reply to mukta Cancel reply

Your email address will not be published. Required fields are marked *