एकादेशमा हिमालयको काखमा अवस्थित एउटा सुन्दर मुलुकमा एउटा गुफे राक्षस राजाले आतङ्क मच्चाएको थियो । त्यो राक्षसका मतियार र भरौटेहरुले गाउँ र शहर पसेर कहिले दिनमा र कहिले रातमा लुटपाट, तोडफोड र बलात्कार गर्ने गर्थे । कहिले खेतमा पाकेको अन्न लुट्ने गर्थे त कहिले जग्गेबाटै बेहुलीलाई उठाएर बलात्कार गर्ने गर्थे । बल र शक्तिले उन्माद ती बेसुर राक्षसीगणले सुराको तालमा त्यो मुलुकका बसिन्दालाई सहनै नसक्ने गरी अत्याचार गर्थे । अति शक्तिशाली गुफेराजा चाहिं आलिशान गुफामा सदा सुरासुन्दरी र भोगबिलाशमा मस्त हुन्थ्यो । त्यो राक्षसका मतियारहरू चाहिं आफ्ना राजाको चाप्लुसी गर्न तँछाड मछाड गर्थे र राजालाई खुसी पारेर लाभको पद हाँसिल गर्नको लागि लुटेर ल्याएको धन र अपहरण गरेर ल्याएकी सुन्दरी पनि भोगविलासको लागि राजालाई नजराना स्वरुप टक्रयाउे गर्थे । भित्ताको पनि कान हुन्छ भने झैँ पीडित जनताहरू क्रुरताको बिरोध त के गुफेराजा विरुद्ध घरपरिवारका सदस्य भित्रै पनि कुरा गर्न डराउँथे । राक्षसी आतङ्कले त्रसित लाचार देशबासीहरू न त अत्याचारको बिरोध गर्ने आँट गर्थे न त आफ्नो देश छोडेर कतै बाहिर जान हिम्मत गर्थे केवल भय र परपीडाको आँसु बहाउनु बाहेक तिनीहरुको कुनै विकल्प थिएन ।
अत्याचारको परकाष्ठाले सीमा नाघ्न थाल्यो । गुफे राजाको पापको घैला भरिन लाग्यो । पीडित जनताहरू पनि छटपटाउन थाले । शोषितहरू एक अर्कामा पीडा पोख्न थाले । एक कान दुई कान मैदान भने झैँ बिरोधका आवाजहरू यत्रतत्र गुञ्जिन थाले । पीडितहरू समूह बनाएर लुकीलुकी बिरोधसभा गर्न थाले । स्वतन्त्रताको महसुस गरियो । स्वतन्त्रता सङ्ग्रामका नाममा पीडित मध्येका बलियाबाङ्गा र चतुरहरुका नेतृत्वमा प्रजातान्त्रिक दलहरू गठन भए । स्वन्त्रताको सपना बोकेका जनताहरुले दलहरुलाई ज्यानको बाजी थापेर सहयोग र समर्थन गर्न थाले । बिरोधका समाचारहरू चापलुसी गुप्तचरहरुले बिलाशी गुफे राजाका कानमा पार्नथाले । सरकारी निकायबाट फेरि दमन सुरु भयो । सयौं बिरोधीहरुलाई मारियो, हजारौं थुनिए । भोकै मर्नुभन्दा लडेरै मर्नु निको भन्ने गोर्खाली मन्त्रलाई मनन गर्दै लाखौं पीडितहरू स्वतन्त्रताको लागि सशस्त्र आन्दोलनमा उत्रिए । अन्ततोगत्वा हार खाएर गुफेराजा आफ्ना मतियारसहित गुफेदरबारबाट भागे । शोषित जनताद्वारा स्वतन्त्रताको बिगुल फुकियो । विजयोत्सव भयो ।
गुफेराजाको पलायनपछि नयाँ नेतृत्वको लागि मारामार सुरु भयो । आमचुनाव हुने भयो । दर्जनौं राजनैतिक पार्टीहरू बर्खेच्याउ झैँ उम्रिए । गुफे आतङ्कले पीडित जनताहरू स्वास्थ्य, शिक्षा, रोजगार, सुरक्षा, गाँस, बास र कपास जस्ता अत्यावश्यक प्राप्तिबाट विमुख थिए । पार्टीहरुद्वारा जनतालाई आफ्नो पक्षमा पार्न कथित र रचित दुवैथरीका आस्वासनका पोकाहरू बाँडिए जस्तै पहाडमा समुद्र ल्याइदिने, आकाशमा घर बनाइदिने, भोकालाई चौरासी ब्यञ्जनको व्यवस्था गरिदिने, नाङ्गालाई आभूषणजडित बस्त्र लगाइदिने,सुकुमबासीलाई आलिशान महल दिने, अन्तर्राष्ट्रिय स्तरको शिक्षालय र युरोपेली मापदण्डको अस्पताल बनाइदिने, पहाडमा पानीजहाज चलाइदिने आदि आदि । भोका सपनाहरू पुरा गर्न पाइने आशामा लाटा जनताले पनि शकुनीमुखे पार्टीका नेताहरुलाई पत्याइदिए र भोट हालेर जिताए । जनताद्वारा चुनिएको र जनताकै लागि काम गर्ने बाचाका साथ चुनाव जितेका केही कथित प्रजातान्त्रिक पार्टीका चतुर र बलियाबाङ्गा नेताहरुले राज्यको बागडोर सम्हालेर गुफेदरबारलाई आधुनिकीकरण गरी जनताले नै तिरेको करबाट बनाइएको घ्याम्पेदरबारमा बिराजमान भए ।
स्वाधीनताको वर्षौं बित्यो तर प्रजातन्त्र ल्याएका जनताले आफ्नो आश्वासित सपनाको केही अंश पनि पाएनन् । घोडारूपी जनताको पिठ्यूँमा बसेर लगाम समाउँदै हिड्ने नेताहरू मोटा र चिल्ला हुनथाले । प्रजातन्त्रका योद्दा जनताहरू झनै सुकेनाशले सुक्नथाले । गुफेदरबार पनि जति खन्याए पनि नभरिने घ्याम्पा झैँ फुल्न थाल्यो । जनताको भाग खोसेर प्रजातन्त्रका रक्षक भनाउँदा घ्याम्पे नेताहरुले आफ्ना नातेदार र नातेदारका पनि नातेदारहरुका भुँडी भरिदिन थाले । ज्वरो आउँदा सिटामोल खान नपाएर मर्नु पर्ने जनता बस्ने प्रजातान्त्रिक राज्यका शाशकहरू राज्यकोष रित्याएर उपचारार्थ पखाला चल्दा पोलेण्ड, आँखा पाक्दा अमेरिका र ज्वरो आउँदा जापान जान थाले । यता आधारभुत शिक्षा धरी नपाएर जनताका छोराछोरीहरू अन्धकारमा परिरहेको बेला नेताहरुका गोरु बेचेको साइनो पर्नेहरू पनि माथिको तथास्तु पाएर बिदेशमा पढ्न जान थाले । प्रजातान्त्रिक आन्दोलनमा अङ्गभङ्ग भएका सुकुमबासीहरू अँझै पनि खोलाको छेउमा छाप्रो हालेर टाउको लुकाइरहेको अवस्थामा राज्यका बागडोर सम्हाल्नेहरुले सालीलाई पनि शहरमा घर बनाइदिन थाले । तर बिडम्बना, अँझै पनि मुर्ख जनताहरू आफ्नो सपनाको आशामा छन् । नेताहरू ढाँटिरहन्छन् र मुर्ख जनताहरू पत्याइरहन्छन् ।
जनमानसका आशाहरू निराशामा पऋणत हुन थालेपछि फेरि गुफेयुग झैँ शासक र शासितबीच मनमोटाब र द्वन्द बढ्न थाल्यो । शाषकहरू विरुद्ध आवाजहरू बुलन्द हुन थाले । फेरी प्रजातान्त्रिक मोर्चाहरू जन्मनथाले । फेरी शोषित र पीडित जनताहरू आफ्ना चपाइएका सपनाहरुलाई पुनरप्राप्ति गर्नका लागि पहिला झैँ चिप्ला आश्वासनहरुको पछाडि दगुर्न थाले । भोट आकर्षित गर्नका लागि दलहरुद्वारा गाँस, बास र कपासका अलावा अन्य समानुपातिक र पालिसदार नाराहरू गुञ्जाइन थालियो जस्तै गुण्डालाई केटी पण्डालाई भेटी, जोगीलाई सिन्दा जागिरेलाई बिदा, जुवाडेलाई तास विद्यार्थीलाई पास, जनता मालिक, जनप्रतिनिधि नोकर, प्रजातन्त्र हाई हाई जनता नेता भाइ भाइ आदि आदि । फेरि चुनाव भयो, आकर्षक नारा बोकेका चतुर दलका नेताहरू विजयी भए र पूर्व शकुनी पाशाधारी दलीय नेताहरू बिस्थापित भए । पीडित र स्वप्नवादी जनताहरुले विजयी नेताहरुलाई घ्याम्पेदरबारमा पुनः पदार्पण गराए । दलहरुको अमृतमय आश्वासन पाएका पीडितहरू दोस्रो चुनाबी विजयोत्सवपछि आफ्नो न्यूनतम नैसर्गिक अधिकार पाउने कुरामामा ढुक्क थिए । आफूलाई भोट दिएर जिताए नेताहरुले स्कुल, अस्पताल, पुलपुलेसा, बाटोघाटो, कलधारा आदि निर्माण गरिदिएर भोगचलान गर्न पाइने कुरामा जनताहरू ढुक्क थिए । नेताहरू घ्याम्पेदारबार पसेको वर्षौं बित्यो तर जनताले केही पाएनन् । नेताहरुले पूर्वशासकहरुले झैँ रवैया देखाए । घ्याम्पेदरबार छिरेपछि कथित प्रजातान्त्रिक जननेताहरू नातावाद र कृपाबादको माला लगाएर सुरा सुन्दरी र भोगविलासमा रमाउन थाले । महाढाँट नेताहरुले जनताहरुलाई पुनः महामुर्ख बनाए र जिल्याए यानी पीडित र शोषित जनताहरू एकपल्ट फेरि तालुदेखि नै लोपारिए ।
श्रापित मुलुकको तथास्तु पाएको घ्याम्पेदरबार छिर्ने मुसो पनि हाती भएर निस्किन्थियो । घ्याम्पे दरबार छिर्नु अघिका मरञ्च्याँसेहरू सुँगुर झैँ मोटाए,सडकछापेहरू मर्सिडिजमा सवार हुन थाले, गञ्जीवालाहरू टाइसुटमा ठाँटिन थाले, खोयाबिर्केहरू बिदेशी सुरापानीमा रम्न थाले । जुन जोगी आए पनि कानै चिरेको भने झैँ भोको पेट, नाङ्गो आङ र झोपडीका बास भएका जनताहरुले चिप्लो आश्वासनमा मख्ख परेर पटक पटक जिताएर पठाएका प्रतिनिधिहरुले लोप्पा खुवाएको खुवाएकै भए । नेताहरू भोगविलासमा मस्त जनताहरू रोग,भोक र अशिक्षाले त्रस्त ।
आधा शताब्दी बित्यो गुफेराजाको चङ्गुलबाट मुलुक स्वाधीन भएको । एउटा राजा फालिए पनि अहिले मुलुकमा दर्जनौं राजा जन्मे तर जनताको समस्या जस्ताको त्यस्तै भयो । फेरि चुनाव हुनेभयो । फेरि नेताहरुबाट उही आश्वासन पाए पीडित जनताहरुले । उल्लू जनताहरुले विकासको आशामा फेरि पनि पुरानै रवैया बोकेका नेताहरुलाई भोट दिएर जिताए । घ्याम्पेदरबार छिरेपछि तिनै कथित प्रजातन्त्रवादी नेताहरुले पुनः जनतालाई लोप्पा खुवाए । महाढाँट नेताहरुले ढाँटेको ढाँट्यै भए र जनतालाई महामुर्ख बनाइरहे । त्यो हिमालयको काखमा अवस्थित त्यो सुन्दर मुलुकमा ढाँट्ने र मुर्ख हुने क्रम शताब्दी देखि नै चली नै रह्यो । महाढाँट र महामूर्खको जुवारी चली नै रह्यो ।
इति
राजेश अधिकारी
