तिमी ठूलो मान्छे हुनुपर्छ
यी किताब कलम समाऊ
मलाई अक्षरहरुप्रति घृणा छ
तरबार सम्हाल
युद्ध सामग्री खेलाऊ
नेपोलियन, सम्राट अशोक बन्न सक्छौ
प्रजातन्त्र, समाजवाद, मानव अधिकार
भोकाहरुलाई बाँड्ने सपना हुन्
जुन कहिल्यै दिनुपर्दैन
यसको पनि सहारा लेऊ
तरबारप्रति झन् वितृष्णा छ
तरबारले खै कहिले गर्यो र न्याय
त्यसैले यो तरबार
जंगबहादुरको म्यानमा थन्क्याइदेऊ
धूर्त स्याल बहादुरहरू
तरबार समाएर सिंह बहादुर देखिएलान्
विवेकहीन शक्तिलाई कहिल्यै नपुज
त्यसो भए,
यन्त्र उपकरणसँग खेल
यो वैज्ञानिक युग हो
आफ्नै हातको चमत्कारबाट बाँच
भो चाहिन्न त्यो पनि
काकाको आँखाले
हिरोसीमा र नागासाकी देखेको छु
बुवाको मुख र आमाको कानले
अरु के के देखेको छु, सुनेको छु
इराक–इरान, इजराइल–प्यालेस्टाइन
अमेरिका–अफगानिस्तान, बुश–लादेन हुँदै
भारत–पाकसम्म आइपुग्दा
म स्वयं बहिरो र अन्धो भइसकेको छु
अरु किन
आफ्नै आँगनको बुद्धको मूर्ति
पड्किएर कतिचोटि
घाइते भएको छु
भोलि कुनैदिन–
नून, तेल र चामलका बम पड्किन थालेर
भोकै बस्न नपरोस्
त्यसैले त यन्त्रैयन्त्रको षड्यन्त्रबाट
रचित दिनचर्या
चाहिन्न भो पटक्कै चाहिन्न
के त्यसो भए
कुटो कोदालो दिउँ तिमीलाई
हलो बाउसो गरेर
जीवन धान्न सकौला
एकदम ठिक भन्नुभो
मलाई कुटो कोदालो र हलो हँसिया भए पुग्छ
यदि,
सार्वभौम शान्त स्वदेश पनिदिनुहुन्छ भने
पसिना पोख्ने उर्वर भूमि पनिदिनुहुन्छ भने ।
रचना समय : २०५९ असार ११
रचना स्थान : बेनी, म्याग्दी
प्रकाशित : देश सधैँ रुने छैन (कविता संग्रह), २०५९
