Skip to content

गाँस, बास र कपास (लघुकथा)


सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो।

उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए।

एकैछिनमा होटेलबाट फोहोरको डुङ्गुर लिएर एउटा भ्यान आयो र कन्टेनरमा फोहोर फ्याँकेर गयो।

ऊ बिस्तारै त्यही फोहोरको डुङ्गुरबाट सग्ला खानेकुराहरूको टुक्राहरू खोज्दै एउटा पलास्टिकको झोलामा राख्दै गयो।

भुस्याहाहरूले तीन तिरबाट झम्टे, बैशाखीको सहाराले आफ्नो तथा झोलामा जम्मा गरेको खानेकुराको बचाउ गऱ्यो। त्यही क्रममा कैयन् पटक चिथोरियो, थेचारियो तर उसको सहारा बैशाखीले साँच्चै नै उसलाई भरथेग गऱ्यो।

पलास्टिकको खानेकुरा हेरेर मुसुक्क हाँस्यो र आफ्नो सारङ्गी जस्तो भोको पेट मुसाऱ्यो।

उसको कटेरोमा उसको प्रतिक्षामा बसीरहेकी जुनेली र एक-जोडी भन्टाङ-भुन्टुङलाई सम्झँदै ऊ मक्ख पऱ्यो – “आज त सबैलाई पेट भरी खान पुग्छ।”

यसो निक्लन के आँटेको थियो महानगरको गाडी नजिकै आएर घ्याच्च रोकियो।

“ओइ त्यो पागललाई समात्!” उसले सुनेको मात्र के थियो दुईओटा भुस्तिघ्रेहरू गाडीबाट निस्केर उसलाई दुवैतर्फबाट च्याप्प समाते।

अनि अर्को चाहिँ आएर उसको थोत्रो बोरा र त्यो पलास्टिकको झोला खोसे र कन्टेनरमा फ्याँकिदिए, अनि त्यो कन्टेनर उठाएर गाडिमा राखे।

ऊ जाँदै गरेको गाडिलाई हेरी रह्यो। ऊ गाडीको पछाडि लेखिएको अक्षर पढ्न त सक्तैनथ्यो, तर उसले धेरै पटक सुनेको थियो – “महानगरको नारा – सबैलाई गाँस, बास र कपास।”

सौराहाद्वार, रत्ननगर, चितवन
२०७४ भाद्र २६ (१० सेप्टेम्बर २०१७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *