Skip to content

गल्लीहरुबाट एउटा गोमन


गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ
मलाई यो सर्पहरूदेखि औधी डर लाग्छ

मेरो ग्वालिमा भैंसी ब्याएकोले होला,
सायद उसलाई पनि दूध प्युन रहर लाग्छ
गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ

रक्सी लाग्दैन हजुर बरु यहाँ यो देशमा,
महिनौ दिनदेखि बरु तीजको दर लाग्छ
गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ

दिनभरि गोरुहरुसङ्गै जोतिएर जमिनमा,
मेरा बाउलाई धानको ढुटो खान कर लाग्छ
गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ

धामन घुमिरहन्छ अनि भुकिरहन्छन कुकुर,
तर उसको अरुभन्दा पनि बढी जहर लाग्छ
गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ

आमा म सानो छदा भन्नुहुन्थ्यो “बाडेर खाउ,
रगतकै रोटिमा पनि दुश्मनको नजर लाग्छ”
गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ

आकाशको वायुलहरमा उँडी जाने चराहरू झै
मानौ कि यो मान्छे सपना बोकेर सहर लाग्छ
गल्लीहरुबाट सधैं एउटा गोमन मेरो घर लाग्छ

तिम्रा नक्कली ओठहरुका ती चुम्बनहरुभन्दा,
मलाई यहाँ मेरै आमाको माया अमर लाग्छ

गल्लीहरुबाट एउटा गोमन मेरो घर लाग्छ
मलाई यो सर्पहरू देखि औधी डर लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *