सरौँ भने बसाइँ अन्तै
तोडिन्छ कि मायालु दोस्ती
हराउँ भने बादलुमाथि
छोडिन्छ कि यो मेरो गाउँबस्ती
दहमा खसे निभ्नेथ्यो ज्वाला उड्ने भो जीवन
गहमा उर्ले बग्थ्यो कि बह डुब्ने भो नयन
विरह पोखे हाँस्थ्यो कि मन रुने भो त्यो मन
चाहमा भुले बाँच्थ्यो कि सपना दुख्ने भो विपना
तरौँ भने जङ्घार पारि
झुराउँछे कि न्याउली चरी
हराउँ भने बादलुमाथि
छोडिन्छ कि यो मेरो गाउँबस्ती
गोठालो दाइ चढेछ लेक भेडीगोठ सारेर
उडेछ मौरी चरन खोज्न रानी वन छाडेर
सकिन जोड्न यो मन मैले त्यो मन तोडेर
जिन्दगी खोज्न कुन गाउँ पसुँँ योबाटै मोडेर
मरौँ भने शून्यमा खसी
रोइरहन्छे कि धर्केर चखेवी
हराउँ भने बादलुमाथि
छोडिन्छ कि यो मेरो गाउँबस्ती
प्रकाशित : बालुवाको मुठ्ठी (गीति कविता संग्रह), २०५७
मझेरीमा प्रथमपटक प्रकाशित – 2017-09-22 04:11:35 +0000