Skip to content


साँघुरो गल्लीहरुको खोचमा
दुई ठुला दरबारहरुको बीचमा
एउटा यस्तो घर छ।

जहाँ, जुन घरका एकथरि छोराहरू परदेश गएका छन्
र भोलि घर फर्कदा दुई हातमा
कुनै देशको उज्यालो भविष्य झै लिएर आउनेछन
बाकसभरि पैसै पैसाका बिटाहरू

जहाँ, जुन घरको बुढो बाउ
हरेक रात बिहान बिरामी भइरहन्छन
हरेक दिन चेक जाचको लागि
बिदेशी अस्पताल गइरहन्छ
दिनभरि बेहोस्सिएर सुतिरहन्छ
रातभरि भने लाज हराएर रक्सी र नशाको भट्टीहरुमा भुलिरहन्छ
अनि साँझभरि सभ्य र स्वास्थ्य समाजको परिकल्पना गर्दै
अनि चोक चोकहरुमा डुलिरहन्छ!
साधुरो गल्लीभित्रको खोचमा
दुई ठुला दरबारहरुको बीचमा
एउटा यस्तो बीचित्र घर छ

जहाँ,
आमा दिनभरि भारी काम गरिरहन्छिन
कुनै बिदेशी पाहुनाको भव्य स्वागतमा
श्रीङ्गार गरे झै गरी हरप्रहर घर श्रीङ्गार गरिरहन्छिन
आफू फोहोर मैलै भएर पनि
एकनाश साजसज्जा गरिरहन्छिन

जहाँ
जुन घरमा एकथरी छोरा बेरोजगार
तनाब अभाव
चिन्ता भुल्नलाई दिनभरि धुवा, जुवा, तास
अनि जाड रोज्छन
अनि बेलुका मातेर घर फर्कदा
बाटोमा लडेर विकास निर्माण खोज्छन
नशामै बकबास ।

जहाँ,
डिप्रेशन, इन्सोमेनिया, डिसअर्डर र ड्रग्समा लट्टिएर
एक अर्कालाई दोष लगाउदै अर्का थरी बहादुर ब्रदरहरू भने
दिनभरि
कुकुर बादर झै
झैझगडा गरिरहन्छन
हरेक रात लोडसेट्टिङ्गको अन्धकारमा
गनगने लो प्रेसर रोगी आमै बारुला झै बौलाइरहन्छिन
अनि ब्लड प्रेसर हाइबाला बाबै बोहुला झै बौलाइरहन्छ
रातभर पितृको प्रेतात्मा पनि भड्किरहन्छ
एकसुरले मन्दिरमा भगवानको भजन किर्तन झै
एकसुर एकबद्द बजिरहन्छ
दोहोरो भेटमा एकहोरो किच्कन्नी र मसान झै बाजिरहन्छन
जुन घरमा बुद्ध एकछिन पनि बस्न सक्दैन सक्दै सक्दैन
त्यस ठाउको नाउ भने शान्तिपुर राखिन्छ!

जहाँ,
घामको पहिलो किरण सङ्गै
रातको बिगत र विश्वयुद्ध बिर्सनलाई
ब्युझिएर बिहान
एक थरी सन्तान एकएकतिर लाग्छन
नायक अभिभावकहरू आफू आफू अर्कोतिर
एक अर्काको पहिचान भुलेर
आफू आफूमै आफ्नो स्वाभिमान बिर्सिएर
एक आपसमा अपमान गरिरहन्छन
एउटा नालायक छोरो भने
घरमा द्वन्दकालीन माओवादी र आर्मिहरुको जस्तो युद्ध देखेर
बाउ आमाको बारेमा बिग्रिएको कविता लेखेर बस्छ
अनि दिनभरि मौन व्रत बस्छन परिवारका सबै भदाद्मिहरू

जहाँ
दिनडहाडै चतुर स्यालहरू आएर घरको परेवा आक्रमण गरिरहन्छ
साँझ बिति सक्दा पनि गाई बस्तु चौपायाहरू चहुरमा चरिरहन्छन
छिमेकी भुडे जमिन्दार धनिले धुर मिचिरहन्छन
फगत
जुन परिवारहरू आफू आफूमै बेइज्जत भएर मजबुर बाचिरहन्छन

फगत ….
यसरी नै चलिरहेछ जिन्दगी जिन्दगीभर
दुई भव्य दरबारबीचको एउटा सानो घर
बारम्बार ठक्कर खाएर पनि
बेसफर बेतुक चक्कर लाएर
रुकरुक गति हराएको छुकछुक
चुटफुट एक्सिलेटर
अनि इञ्जिनको सिस्टम र ब्रेक बिग्रिएको कुनै सवारी साधन झै
या, होस हराएको कुनै मान्छेको मधहोस मन झै
जिन्दगीभर लक्ष बिराएको जीवन जस्तो
या, लाज हराएको इज्जत नभएको चरित्रबिहीन वेश्याको अपवित्र बदन झै
वा मानौ कि,
गृह-प्रशाशन बिग्रिएको कुनै सानू सङ्गठन
या एउटा लज्जित साम्राज्य जस्तै

साँघुरो गल्लीभित्रको खोचमा
दुई ठुला दरबारहरुको बीचमा
एउटा यस्तो बिचित्र घर छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *