डेन्भरबाट पूर्वतर्फ जाने बि. एण्ड एम. एक्सप्रेस ट्रेनका डिब्बाहरू भित्रिँदै गरेका यात्रुहरूले खचाखच भरिएका थिए। एउटा डिब्बामा एक सुन्दर युवती शोभनीय पहिरन साथै एक अनुभवी यात्रुले खोज्ने सबै किसिमका विलासी सुबिधाहरूले घेरीएर बसीरहेकी थिइन्। डिब्बाका नवागन्तुकहरू मध्ये दुई पुरूषहरू थिए, एक सुगठिलो शरीर भएको युवक थियो जसको मुखाकृति र व्यवहारमा निर्भिकता, प्रष्टवक्ताको छवि देखिन्थ्यो; अर्को भने चाउरी परेको उदास मुखाकृति, भीमकाय शरीर र झुत्रे झाम्रे कपडामा देखिन्थ्यो। दुबैलाई हतकडीले सँगसँगै बाँधिएको थियो।
जसै उनीहरू सीटहरू बीचको गल्ली हुँदै अगाडि बढे त्यहाँ खाली सीट त्यही सुन्दर युवतीको सम्मुखको सीटमात्र थियो। त्यही सीटमा दुवैजना बसे। ती युवतीले टाढैबाट अनिच्छुक रूपमा हेरिन्; अनि एक मृदुल मुस्कान उनको मुखाकृतिमा देखा पऱ्यो र उनको गोलाकार गालाहरूमा गुलाबी रङ्ग चढ्यो, अनि उनले आफ्नै खैरो पञ्जायुक्त हात अगाडि बढाइन्। जसै उनी बोलिन् उनको प्रष्ट मृदु, स्वेच्छिक आवाज ले यो उद्घोष गर्दै थियो कि यो आवाजको मालिक यस्ता कुराहरू गर्न र सुन्न अभ्यस्त थियोः “अँ मिस्टर ईस्टन, यदि तपाईँ मैले अगाडि बोलोस् भन्ने चाहनुहुन्छ भने, सायद मैले नै बोल्नु पर्छ। तपाईँले पश्चिमतिर आउँदा त आफ्नै पुराना साथीहरू पनि चिन्न सक्नुहुँदो रहेनछ?”
उनको आवाजसँगै युवक बिस्तारै उठ्यो, केही असजिलो लाग्यो तर तत्काल त्यो असहजता त्याग्दै, आफ्नो देब्रे हातले उनका औँलाहरू समायो। “उहाँ मिस फेयरचाइल्ड,” उसले मुस्काउँदै भन्यो – “अर्को हात दिएको मा माफी चाहन्छु। मेरो यो हात अहिले यो बेला व्यस्त छ।”
चम्किरहेको स्टीलको “बाला”ले सँगैको मित्रको देब्रे हातसँग बाँधिएको दाहिने हात बिस्तारै उठायो। युवतीको अनुहारमा देखिएको खुशी एक क्षणमा बिस्मित त्रासमा परिणत भयो। उनको अनुहारको आभा तत्काल घट्दै गयो र झ्याप्प निभ्यो। उनका ओठहरू अस्पष्ट, सिथिल बिपद इंगित गर्दै फाटिए। ईस्टन, मनोरञ्जक हाँसोको साथ मुख खोल्नै आँटेको के थियो। युवतीको मुखाकृतिको आफ्ना चतुर तथा धुर्त आँखाहरूले अवलोकन गरिरहेको अर्को उदास मुखाकृति भएको मानिस बोल्योः “म अगाडि बोलेकोमा माफ गरिदिनुहोला महोदया, हजुरले उहाँ मार्शललाई चिन्नु हुँदो रहेछ। यदि हजुरले हामी खोरमा पुग्नु भन्दा अगाडि मेरो बारेमा एक शब्द भनिदिनुभयो भने यहाँ हामीलाई सजिलो हुन्थ्यो होला। उहाँ मलाई लेभेनवर्थ कारागारमा लैँजादै हुनुहुन्छ। धोकाधडीको लागि सात वर्षको सजाय हो।”
“ओहो!” लामो सास तान्दै र अनुहारको कान्ति फर्काउँदै युवतीले भनी। “त्यसैले हजुर यहाँ हुनुहुन्छ? एक मार्शल!”
“प्रिय मिस फेयरचाइल्ड,” ईस्टनले शान्त मुद्रामा भन्यो, “मैले केही न केही त गर्नै थियो। पैसा त आफैँमा पखेँटा राखेर उड्छ, अनि तपाईँलाई थाहै छ वासिङ्टनको भीडमा एक पाइला अघि बढाउन पनि पैसै चाहिन्छ। मैले यहाँ पश्चिममा एक सम्भावना देखेँ अनि – अँ मार्शलको पद राजदूतको पद जस्तै माथिल्लो पद ता होइन, तर –”
“राजदूत,” युवतीले भित्री मनले भनीन्, “हिजो आज मलाई बोलाउँदैन। उसले बोलाउनु कहिल्यै पनि पर्ने थिएन। तपाईँलाई त्यो थाहा हुनु पर्ने। अनि त्यसो भए तपाईँ आजभोली पश्चिमको शुर हिरो, अनि डुल्ने, घुम्ने, गोली ठोक्ने, सबै किसिमको खतराहरूसँग खेल्ने। वासिङ्गटनको जीवन शैलीभन्दा यो फरक छ। तपाईँ त पुरानो भीडबाट पुरै हराइसक्नुभयो।”
त्यो युवतीका मुग्ध आँखाहरू, यताउती विचरण गर्दै त्यही चम्किरहेको हथकडीमा गएर रोकियो।
“त्यसको बारेमा चिन्ता नगर्नुस्, मिस,” त्यो अर्को मान्छेले मुख खोल्यो। “सबै मार्शलहरूले हथकडीको अर्को फेद आफ्नै हातमा बाँध्छन् ता कि कैदीहरू भागेर जान नसकुन्। मिस्टर इस्टन आफ्नो काममा पक्का हुनुहुन्छ।”
“के हामी फेरी वासिङ्गटनमा चाँडै भेट्न सक्छौँ?” युवतीले सोधी।
“चाँडै त नसकिएला सायद,” इस्टनले भन्यो। “डर लाग्छ पुतली झैँ उड्ने मेरा दिनहरू सकिए अब।”
“मलाई पनि पश्चिम मन पर्छ।” युवती बोलीन्। उनका आँखाहरू चम्किरहेका थिए। उनका आँखा डिब्बाको सिसाको झ्यालभन्दा बाहिर स्थीर भयो। उनी बिस्तारै सरल र सहज रूपमा कुनै औपचारिक अभिव्यक्ति बेगर भन्न थालिनः “मम्मी र मैले गर्मी बिदा डेन्भरमा बितायौँ। बाबा अलिक बिरामी हुनुभएको कारण उहाँ चाँडै घर जानुभयो। म पश्चिममै बस्न सक्थेँ अनि खुशी हुन सक्थेँ। मलाई लाग्छ यहाँको हावा मेरालागि अनुकूल छ। तर मानिसहरू सँधै गलत बुझ्छन् र मूर्ख रहन्छन् –”
“मार्शल, छिटो,” त्यो निरास मुखाकृति भएको मानिसले भुनभुनाउँदै भन्यो। “यो ठीक भएन है। मलाई तिर्खा लागिरहेको छ, अनि आज धुमपान पनि गरेको छैन। अब बोल्न पुगेन? मलाई धुमपान कक्षमा लैजानु छिटो। एक चिलिम तान्न नपाएर मर्नु भाछ।”
ती बाँधीएका यात्रुहरू सीटबाट उठे, ईस्टनको अनुहारमा त्यही मन्द मुस्कान छाइरहेथ्योः “धुमपानको तलतल अस्वीकार गर्न सकिँदैन,” उसले हल्कारूपले भन्यो। “यो त अभागीहरूको साथी हो। गुड-बाई मिस फेयरचाइल्ड। जागिरले बोलायो, जानै पऱ्यो।” उसले बिदाईको हात उठायो।
तपाईँ पूर्व आउन नसक्ने समाचारले दुःख लाग्यो,” उनी फेरी पहिलेको औपचारि भाषा शैलीमा फर्कँदै भन्न थालीन्। “तर सायद लेभेनवर्थसम्म त सायद जानुहुन्छ?”
“अँ,” इस्टनले भन्यो, “लेभेनवर्थसम्म जान्छु।”
ती दुबै गल्ली हुँदै धुमपान कक्षतिर गए।
नजिकैका दुई यात्रुहरूले धेरैजसो वार्तालाप सुनेका थिए। एउटाले भन्योः “त्यो मार्शल साँच्चै मजाको मान्छे रहेछ। यी केही पश्चिमेलीहरू ठीकै छन्।”
“कति युवावस्थामै यस्तो पद सम्हालेको, हैन त?” अर्कोले सोध्यो।
“युवा!” पहिलो वक्ताले आश्चर्य व्यक्त गर्दै भन्यो, “किन – ओहो तिमीले याद गरेनौ? भन – कुनै एउटा अफिसरले कैदीलाई बाँधेको हथकडी आफ्नो दाहिने हातमा बाँधेर लगेको कहिल्यै देखेको छौ?”
(यो कथा सिडनी पोर्टर साहित्यिक उपनामबाट १९०२ मा छापिएको थियो। आफैँ धोखाधडीको सजायबाट बच्न होण्डुरस तर्फ भागेका ओ हेनरी, पत्नी बिरामी भएको कारण अस्टिन फर्केका थिए अनि आत्म समर्पण गरेर संघीय कारागारमा पाँचवर्ष कैदी जीवन बिताएका थिए। उनी यो कथा प्रकाशन पश्चात कारागारबाट मुक्त भएका थिए जसको कारणबाट यसमा वर्णित सबै घटना अझ मार्मिक बनेको छ।)
