“तिमी किन आजकल यति निष्ठुरी बनेकी?”
“म निष्ठुरी? कसरी नि?”
“मेरो आगमन तिमीलाई प्रिय लागेजस्तो लाग्दैन आजभोली।”
“त्यो त मेरो सँधैको बानी हो नि? तिमीलाई थाहा थिएन र?”
“अनि पहिलेको हाम्रो सम्बन्ध के थियो त?”
“त्यो त बेलाको माग थियो। फूलले भमरालाई कहिल्यै तिरस्कार गर्छ र? फक्रिन लागेको फूलका आकांक्षा पुरा गर्न उसले आफ्ना सबै पंखुडीहरू खोलेर स्वागत गर्छ।”
“सम्पूर्ण रूपमा फक्रेको फूललाई के भमरा चाहिँदैन र?”
“सुगन्धित बासना छरिरहेको फूललाई भमराको खाँचो कहिले पर्छ र? वरीपरी थुप्रै भुन-भुनाइरहन्छन्।”
“त्यसो भए मैले तिमीलाई दिएको मायाको चिनो मेरो मूटू फिर्ता गर।”
“तिम्रो मूटू? म के कुनै बैङ्क हुँ तिम्रो मूटूको जमानत सुरक्षित राखेर फिर्ता गर्ने। अनि मसँग तिम्रा जस्ता हज्जारौँ मूटूहरू वेवारिसे छन्। आफ्नो चिन्न सक्छौ भने चिनेर लैजाऊ।”
२०७४ आश्वीन २१
