यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
बाटोको अगल बगल बिरानो भएछ
मुख्य बाटो बनमाराले ढाकेछ
छेउछाउबाट चोरबाटो थपिएछ
पूर्व–बाटोमा काँढा लागेछ
पश्चिम–बाटो पूरै भत्किएछ
उत्तर–बाटो बेखबर हराएछ
दक्षिण–बाटो कतै दूर भागेछ
चौबाटोको वरपिपल ढालिएछ
गाउँछेउको जोगी बाजेको घर पनि
वर्षात् थाम्न नसकेर ढलेछ
बारी कान्ला जिलाउनेहरूले फालेका
गेग्रेटा र जिलौटाहरूले
गोरेटो पुरिनै लागेछ
यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
वल्लाघरे दाइ शहर पसेछ
पल्लाघरे भाइ जंगल पसेछ
उपल्लाघरे र तल्लाघरेबीच
वैमनस्यता बढेछ
छेउघरे र माझघरेबीच
आगोपानी बाराबार
गैह्राघरे र ठूलाघरेबीच
काटाकाट र मारामार
पँधेरापारि र बाटामुनिका मात्र हैन
माझगाउँ र डाँडागाउँ रमिते भएछन्
यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
डल्ली र भुन्टीले गाउँ छाडेछन्
मोटे र कालेले देश छाडेछन्
जिम्दार र जमानेले धर्ती नै छाडेछन्
गाउँ छाड्नेहरूको अभावमा
गाउँ बस्नेहरूको भयमा
गाउँ सुनसान भएछ
गाउँ एकान्त भएछ
कुकुरको एकोहोरो भुकाइले
लाटोकोसेरोको एकोहोरो हुकाइले
गाउँ व्युँझिन सकेनछ
दाजुभाइको मृत्युमा
बरखी बारेको गाउँ देखेर
दशैँ तिहार पनि बिरानो भएछ
टीका र जमराको थालीमा
अश्रुपात भएछ
यसपालि म घर जाँदा
गाउँघर नै बिरानो भएछ
गाउँघर नै फरक भएछ ।
रचना समय र स्थान : २०५९ बडादशैँ, पिठौली, नवलपरासी
प्रकाशित : कान्तिपुर दैनिक, ११ माघ २०५९
2017-10-08 05:47:48 +0000

सानो आग्रह
सम्पादकज्यू नमस्कार,
मेरो कविता प्रकाशन गरिदिनुभएकोमा धन्यवाद ।
दोहोरिएको कविताशं र तस्वीर भने मिलाइदिनुहुन अनुरोध छ ।
भेषराज रिजाल