Skip to content

पाप धुरीबाट कराउने छ


धन्य छौ पति र पुत्ररत्नहरू धन्य छौ
धन्य छौ सहनशीला पत्नीहरू धन्य छौ
धन्य छौ सासू ससुरा र अभिभावहरू धन्य छौ
दुनियाँ भरमा तिमीहरू नगण्य छौ
समाजमा उच्च वर्गका नागरिकका रुपमा गनिएका छौ
सबैबाट आदर्श नागरिक भनिएका छौ ।

अर्काको दुःख सुन्नु तिम्रो धर्म हैन
तथापि केही प्रश्न गर्न चाहन्छु
केही भन्न चाहन्छु ।

भन्न त चाहन्छु तर खै के भनूँ ?
अनगिन्ती छन् पिरबेथाहरू कसका सामू गनूँ ?
सहजै भन्न पनि सकिन्न
एक एक गरी गन्न पनि सकिन्न ।
मेरो मुटु दुखेको छ दुखेको छ
मुटुभित्र पिर बेथा यसै यसै सुकेको छ
यो बेला आरामै छ भन्न पनि सकिन्न
मानौं पीडाको भुँवरी देखेर हिमाल पनि झुकेको छ
मानौ समुद्र पनि सुेकेको छ ।

यद्यपि मुटुको बेथा भन्न पाए पनि हुने
इतिहासमा हराउन लागेको कथा
उधिन्न पाए पनि हुने ।
मन मुटु र मस्तिष्क भरिका बेथाहरू
उक्काएर पुर्ने खाल्टो खन्न पाए पनि हुने
मनभित्र कति पिर छन् गन्न पाए पनि हुने
तिलाई सार्वजनिक गरी
सबैकासामु निखन्न पाए पनि हुने ।

धन्य छौ तिमी आमाहरु, अभिभावकहरू
जो छोरीबुहारी पोलिएको हेरिरहेका छौ
धन्य छौ तिमी सासूआमाहरू
छोरीबुहारीलाई बोक्सीको आरोपमा
चारैतिरबाट घेरिरहेका छौ
धन्य छौ तिमी ससुराहरू
बुहारीहरू जलाउन पुल्ठो बाल्न कपडा बेरिरहेका छौ ।
पत्नीलाई मलमूत्र खुवाएको रमिता हेर्ने
धन्यकै रहेछौ तिमी पतिहरू
पत्नीलाई लछारपछार पारेको दृश्य
टुलुटुलु हेरिरहेका छौ ।
पुरुषार्थै गरेको ठान्दा हौ
पत्नीलाई रगतका आँसु रुवायौ
आफूले गोहीका आँसु चुहायौ
आमाका खुट्टामा कसम खाँदै शिर छुवायौ
तर पत्नीका आशाहरू जिउँदै तुहायौ
बोक्सीको आरोपमा मलमूत्र खुवायौ
धन्य छौ दहेजभोगीहरु, तिमीहरू धन्य छौ
दुनियाँ भरिमा तिमीहरू नगण्य छौ ।

तर यो पनि बुझिराख
सधैं तिम्रै हात मात्र माथि पर्दैनन्
तिमीमाथि वज्र मात्र परोस् न
तिम्रा पाइला एक कदम अघि सर्दैनन्
तिम्रा अत्याचारहरू तिमीले नभोगी टर्दैनन्
निर्बलहरुले पनि आजन्म सहन गर्दैनन् ।
होस गर
तिम्रा थाप्लामा कुनै बेला
चट्याङ पर्न सक्छ
बज्र झर्न सक्छ
त्यो बेला क्षमाको भिक नमाग्नू
आफ्नो पाप पखाल्न कतै नभाग्नू
पाप उत्रिएपछि कसैले सघाउने छैन
नभन्नू त्यो पाप गर्ने म हैन
बल्ल तिम्रो पापी आत्मा डराउनेछ
तिम्रो पाप धुरीबाट कराउनेछ
धुरीबाट कराउनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *