शास्त्र मानव सभ्यताको मूल श्रोत हो । सम्पूर्ण वेदको सार मानिने भागवतमा “अहिँसा परमोधर्म” अर्थात अहिँसानै सबैभन्दा ठूलो धर्म हो भन्ने उल्लेख छ र यस्ता प्रमाणहरू थुप्रै पाइन्छन् । त्यस्तै मनुस्मृतिमा “मधुपर्केच यज्ञंच पितृदेवत कर्माणी अजैव पशवो हिँसा नान्यत्रेत्य प्रवित्मनु ” अर्थात देवकार्य र पितृकार्यमा पाशविक प्रवृत्तिको हिँसा इत्यादि त्याग गर्नुपर्छ भन्ने उल्लेख छ । वैदिक सनातन धर्ममा हिँसालाई नकारात्मक रुपमै हेरेका देखिन्छ । श्राद्ध गर्दा, होम गर्दा र पूजा गर्दा मांस चढाउनुपर्ने विधान छ तर ऊ बेला मांस केलाई भनिँदो रहेछ भने अदुवा, दही र मुसुरोको दालको परिकारलाई सँस्कृतमा वली अथवा मांस भनिँदो रहेछ । यस्तै त्यो समयमा दाल, दही र बेसार दुनामा राखेको मिश्रणलाई वली सम्झी पनि चढाइँदो रहेछ । तसर्थ यसैको अपभ्रंसबाटै मासुको चलन आएको स्वतः स्पष्ट भएको छ ।
श्रीमद्भागवतको १५ अध्यायमा आश्विन कृष्णपक्षमा तिथि मिलाई आमाबाबुको नाममा अति उत्तम प्रकारको श्राद्ध महालय नामको श्राद्ध गर्दा उक्त श्राद्धमा मासुको प्रयोग र खुवाउन निषेध गर्नु नै अति उत्तम भनी उल्लेख गरिएको छ । त्यस्तै भगवती देवीलाई मदिरा अति मनपर्ने भएकाले मदिरा चढाउनु पर्छ भन्ने पनि उल्लेख छ । त्योवेलाका पूर्वीय दर्शन सम्बन्धी पुस्तकहरुमा मदिरालाई मह अथवा उखुको रस भनेर उल्लेख गरेको पाइन्छ । त्यही पदार्थलाई सँस्कृतमा मदिरा भनिँदो रहेछ । तर हिजोआज मात्र होइन पहिलेदेखिनै रक्सी (मदिरा ) चढाउने कुप्रथा चलाउन थालियो । यसरी अपभ्रंसका कारण देवदेवी मन्दिरमा वली, मदिरा चढाउने प्रवृत्ति चलि आइरहेको छ ।
तान्त्रिक विधिमा पनि हिँसा प्रवृत्ति छैन तर उवेलाका तान्त्रिकहरुले देवदेवीलाई पशु वली दिँदा जीवन दान दिई जीवित पारी जङ्गलमा छोडिन्थे । वलीको मासु कसैले पनि खाँदैनन् भत्रे उक्ति थियो त्यो बेला । तान्त्रिकले त वलीको वास्तविक रुप कालो भटमास, कालोवोडी र मासको वली बनाई चढाउँथे तर हिजोआज त्यस्ता तान्त्रिक दुर्लभ छन् जसले गर्ला आजकल तान्त्रिकको सत् पनि हराइसकेको छ ।
शास्त्रमा धेरै ठाउँमा उल्लेख छ जुनसुकै भगवान खुसी पार्न “पत्रंं पुष्पं फल म तोय म योमे भक्त्या प्रयच्छति” अर्थात “मलाई भक्तिपूर्वक पात फलफूल जलले मात्र पूजा गरेपनि पुग्छ” । श्रीदुर्गा सप्तसतीमा पनि यसरी प्रष्ट्याएको छ “ यादेवी सर्व भूतेषु दयारुपेण सँस्थिता ” सबै प्राणी देवीकै सन्तान स्वरुप हुन् त्यसैले सबै प्राणीलाई दया गर्नुपर्छ । अनि के देवीले आफ्नै सन्तानको हत्या रुचाउँछिन् त ?
यी अहिँसा परमोधर्मका कुराहरुलाई मानवीय समाजले श्रद्धापूर्वक ग्रहण र परिपालन गर्नु मानवीय मर्यादा राख्नु आजको टड्कारो आवश्यकता हो । हजारौंं वर्षदेखि हाम्रो देश नेपालको शहर तथा गाउँहरुमा आजसम्म चलिआइरहेका परम्परामा आधारित हिँसक प्रवृत्तिहरू कतिसम्म सुहाउँदो तथा मर्यादित भैराखेको छ वा गलत धारणामा फसिराखेको छ, यसतर्फ बुद्धिजीवीहरुले पनि विवेक पुर्याएर ध्यान दिनु आवश्यक छ । यस्ता कुप्रथाहरुलाई शास्त्रयुक्त तरीकाले व्यवहारमा ल्याई नैतिक परिवर्तन ल्याउनु अत्यन्त जरुरी देखिन्छ । यसतर्फ कसैले पनि चासो लिएको जस्तो लागेन ।
तसर्थ यीमाथि उल्लेखित शास्त्रहरू उच्च मानवीय दर्शनका नियम नीतिहरू हुन् र दुर्लभ आधारहरू हुन् ।
२०७४ असोज २६
बिजु सुवेदी “विजय”
भक्तवनमार्ग, काठमाण्डौ
bijusubedi@gmail.com
