सम्बत् २०६७ सालको भदौमा निर्वाचन आयोगको कामले सहयात्री ऋषिराज शर्मा र म डडेल्धुरा, बैतडी र डोटी जिल्लाको भ्रमणमा निस्कियौँ । काठमाडौं-धनगढी बुद्ध एयरको उडानबाट शुरू भयो हाम्रो यात्रा ।
यात्रामा निस्कँदा मेरा आँखा सदैव नवीन दृश्यावलोकनका लागि लालायित हुन्छन् । प्लेनबाट विस्तारित आँखाले तलतिर नियालिरहन्छु । हरिया डाँडाका थुम्काथुम्कीमा फैलिएका बस्तीहरूमा राता खैरा बाटाका डोबहरू देखिए । नागबेली नदीहरू भदौरे भेलमा पनि शान्तरूपले सल्बलाएझैँ लाग्थ्यो । शायद माथिबाट हेर्दा यिनीहरूको असलीरूप नदेखिएको होला । जहाज सोह्रहजार फिटको उचाइमा उडिरहेको थियो ।
हिमाल ढाक्न थुप्रिएका बादलका फाँटहरूलाई चुनौती दिँदै केही हिमालका चुलीहरू देखिए । अन्नपूर्णा, माछापुच्छ्रे, धवलागिरिसँगको बाल्यकालदेखिको साइँनो पुनः प्रगाढ भएझैँ लाग्थ्यो । हिमाल हेर्दा भित्रैदेखि शीतल भएझैँ लाग्ने । चीरपरिचित हिमशिखरहरूलाई देख्दा मन उत्साहित हुने । देखिए केही चिनेचिनेझैँ लाग्ने पहाडहरू, केही नदीहरू, बीचोबीच कुहिरोको झल्याकझुलुक । आँखा र मन भने तिनै पहाड, हिमाल, नदी, गाउँबस्तीमै रमाएका थिए । मैले सदिक्षा राखेँ- यी हरिया पहाडहरूलाई जीवन दिने हिमशिखरहरूको सरस र सुन्दर अस्तित्वको ।
तालहरूलाई काखमा राखेर फैलिएको सहर पोखरा देखियो । तालहरूमध्ये त्यो फेवाताल । माछापुच्छ्रेको प्रतिरूप तैरिएको पानीको फराकिलो आँगन । तालबाराहीलाई मियो बनाएर घुमिरहेको जलचक्कर । मनमनै फेवातालको विशालता र आकर्षणको कल्पना गर्दै थिएँ । हेर्दाहेर्दै कालो र पहेँलो पानीका नदीहरूको सङ्गम दखियो । मोदी र कालीगण्डकीको सङ्गम । त्यो पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार हो । देखिए- बलेवा एयरपोर्ट, ज्ञादी र फलेवासका समथर फाँटहरू । मैले आफू जन्मेखेलेको जन्मभूमि चिनिहालेँ । मनभित्र आनन्द र भावुकता सल्बलायो ।
बस्ती शून्यप्रायः लाग्ने धारिलो पहाडका बीचोबीच एकाध घरहरू हेर्दा लाग्थ्यो- धेरै जीवनहरू दुर्गम र अनकन्टार बाँचिरहेका छन् । माथि उड्नेहरूले त्यसको शायदै अनुमान लगाउन सकियोस् । गाउँदेखि टाढा सम्पन्न सहरमा सरिसकेका सम्भ्रान्तहरू हवाईजहाजमा उड्दासमेत पाखे गाउँ र त्यहाँका अभावप्रति आँखा चिम्लन पत्रिकामा नजर पोख्छन् । भर्खर कोदो रोपेर थाकेका कोदालीहरू, बाँझो फोरेर लखतरान हली र उसका साझबाजहरू थोत्रो गोठको कुनै कुनामा कसैले नदेख्ने गरी थन्किएका होलान् । मन गरीब गाउँलेहरूसँग पुग्न खोज्यो ।
आहा कति ठूलो पानीको प्रवाह । माथिबाट हेर्दा पनि कति स्वच्छ पानी । पानी सुन्दरताको खानी । जीवनको स्रोत । तनमा पानीकै प्रवाह छ । मनमा पानीकै सरसता छ । आकासे बादलका च्यादरभित्र पानीकै घडा छन् । इन्द्रेणीमा पानीकै छटा छन् । मनको कुनामा प्रवाहित पानीको एउटा कुलो नदीमा फेरिएझैँ भयो । कति सुन्दर नदी । यो नदी कर्णाली हुनुपर्छ । नेपालको सबैभन्दा लामो नदी । थोरैले मात्र यसको नाम लिन्छन् । कर्णालीको नाममा कमाउनेहरूले यसलाई बढी श्रद्धा गर्छन् होला । प्रेमी प्रेमिकाहरूले एकअर्कालाई सम्झना पठाउँदा पनि नाइलजस्तो लामो भन्लान् तर कर्णालीजस्तो लामो भनेको सुनिँदैन । शायद कर्णाली भनेको दुर्गम मात्र हो भन्ने बुझ्छन् अधिकांश मान्छेहरू ।
माथिबाट हेर्दा सबै पहाडहरू जङ्गलले भरिएका एकनास लाग्ने तर ती पहाडहरूको बीचमा कति उकालीओरालीहरू होलान् । कति विकट गोरेटाहरू होलान् । त्यो त माथिबाट हेर्नेले कहाँ अनुमान लगाउन सक्छ र ? भोग्नेहरूलाई मात्र थाहा हुन्छ सङ्घर्षमय पहाडी जीवनको यथार्थ ।
प्लेनले उचाइ घटाइसकेको थियो । नियालिरहेँ- चुरे पहाडबाट मनलाग्दी जङ्गल बढार्दै झरेका धमिला खहरेहरू, केटाकेटीले खेल्नका लागि बनाएका जस्ता झुप्राझुप्री घरहरूले बनेका बस्तीहरू, खेतका हरिया फाँटहरू, वनजङ्गल बीचोबीच खिचिएका स-साना धर्सा लाग्ने लोकमार्ग र अन्य सडकहरू ।
काठमाडौंबाट उडेको सवाघण्टामा धनगढी विमानस्थल पुगियो ।
सिमसिम पानी परिरहेको थियो । अत्तेरिया जान चर्को भाडा माग गर्दै थिए केही गाडीहरू । एउटा रिक्सावालाले भन्यो- एक सवारी एकसय । उसको तात्पर्य हुनुपर्छ- दुईजना चढे पनि सयसय रूपैयाँका दरले तिर्नुपर्छ ।
हामी अत्तेरिया चोकमा पुग्यौँ ।
धनगढी-महेन्द्रनगर-नेपालगञ्ज-डडेल्धुरातर्फजाने बाटोको चौराहा हो अत्तेरिया चोक । नजरमा परे- हर्न बजाइरहेका गाडीहरू, यात्रु खोज्न कुदिरहेका खलासीहरू, फुटपाथमा खानेकुराका ठेलाहरू । हामीले पनि चिया नास्ता गरियो । माइक्रो बसका कन्डक्टरसँग सोधपुछ गरेपछि अबेरै भए पनि भरे डडेल्धुरा पुगिने लागेर हामी गाडी चढ्यौँ ।
केहीबेरमै गोदावरी पुगियो । कच्ची पुल तरेर गाडी उकालो लाग्नासाथ आफूलाई बागलुङे काले बताउने गाइनेदाइले सारङ्गी निकालेर भाका झिकिहाल्यो । उसले शुरूमा बाढी पहिरो पीडितहरूको मन छुने गीत गायो तर पछि पैसा माग्न यात्रुहरूलाई टोपी, कमिजका रङ, मोटाइका आधारमा सम्बोधन गर्दै ठट्यौली पाराका गीत गाउन थाल्यो । सबैसँग पैसा उठाइसकेपछि ऊ ओर्लियो ।
घरि डाँडाका भित्ताहरू त घरि थुम्काहरू छिचलेर बाटो लम्पसार मरिरहेछ । कुदिरहेछन् कुद्नेहरू । माथि पुग्नेले आफू आएको बाटो बिर्सिहाल्छन् । म यस्तै तर्कनामा घोत्लिँदै थिएँ, आइपुगेछ- खानीगाउँ । सल्लाघारीयुक्त डाँडाहरूको पुछारको गाउँ । ठाडा चट्टानले बनेको डाँडाहरूको गाउँ । यो मैले भर्खरै पाएको परिचय हो खानीगाउँको ।
केहीबेरमै आइपुग्यो- भासुको भीर । गाडीबाट तल हेर्दा भीरको अन्त्य नदेखिने । निकै तलबाट उठेको पहरो । तलमाथि दुवैतिर निकै ठूल्ठूला पहराको बीचोबीच खोपेर बनाइएको बाटोबाट गाडी गुड्यो । सुगममा बसेकाहरूको सातो गए होला । मैले मेरा सहयात्रीलाई सोधेँ । उनले यस्ता विकट बाटाहरू धेरै हिँडेको बताए ।
सहजपुर काटेर फल्टुडे पुगियो । कैलाली सीमा समाप्त भएर डोटी जिल्लाको सीमा प्रारम्भ भयो । केही समयमै बुडर पुगियो । केही चहलपहल भएको स्थानीयबजार रहेछ त्यो ।
सहयात्रीहरूसँग स्थानीय परिवेशका बारेमा मलाई गफगाफमा मस्त देखेर होला गाइनेदाइ गाडीबाट ओर्लेदेखि नै रमाइला तीजका गीत बजाउँदै आएका ड्राइभरदाइले पनि जानकारी दिएका थिए- “यो बजार दूरीको हिसाबले धनगढी र डडेल्धुराको करीब बीचमा पर्दछ ।”
मालपोत कार्यालय, डडेल्धुराका कर्मचारी रामप्रसाद दाहालले पनि पहिलेदेखि नै धेरै जानकारी दिइरहेका थिए ।
बाटो पुनः कुहिराको बस्तीभित्र पस्यो । पारिपारिका डाँडाहरू र कुहिराबीच लुकामारी त धेरै पहिलेदेखि नै भइरहेको थियो । अगलबगलमा हरिया मकै बारीहरू देखिन थाले । सेपिलो लेकमा प्रवेश गरेको सङ्केत मिलिरहेथ्यो ।
गैराबजार कुहिरोको पर्दाभित्रबाट झुल्क्यो । गैराबजार सकिएपछि डडेल्धुरा जिल्ला प्रारम्भ हुँदोरहेछ । गाडी झनै बाक्लो कुहिरोभित्र दौडिन थाल्यो । अल्लाका स-साना झाडीहरू देखिन थाले । अल्लाको घरेलु उद्योग चलाएमा यी भीर कान्लाका घोच्ने झाडीहरू मोहर फल्ने बारीमा फेरिँदा हुन् । कर्ता अर्कै छन्, सदासयता राख्नबाहेक के नै गर्न सकिन्छ र । मैले सुस्केरा हालेँ ।
“इलाममा यस्ता झाडी कतै हुँदैनन्, जता हेरे पनि चियाका बोटहरू मात्र ।” एकजना पुर्वेली यात्रु मतिर फर्किए । इलामे चियाबारी घुम्ने अभिलाषामा उनले एउटा अर्को उत्तेजना थपिदिए ।
चिसो हावाको झोक्कासँग रोमाञ्चित हुँदै साहुखर्कको खीरको स्वाद लिइयो । सूर्यास्त भई बाहिर केही नदेखिएपछि थकाइ महशुस हुनथाल्यो । भात्काँडा काटेर डडेल्धुरा बसपार्क पुग्दा झमक्कै रात परिसकेको थियो । त्यहाँ गौरापर्वको डेउडानाच चलिरहेको थियो । तुफानडाँडास्थित जिल्ला निर्वाचन कार्यालयमा गएर बसियो । जोडले हावा चलिरहने भएर होला त्यो ठाउँलाई तुफानडाँडा भनिँदोरहेछ ।
सूर्योदयको दृश्यावलोकनबाट अर्को दिनको शुरूवात भयो । चारैतिर देखिने रमाइलो नयाँ ठाउँबाट मैले मोबाइलमै भए पनि वरिपरिका एकाध फोटो खिचेँ । चालक वसन्त भाइलाई लिएर हामी उग्रतारा मन्दिर मन्दिरतर्फ ओर्लियौँ । मन्दिर परिसरबाट वरपरका डाँडा, गाउँघर, बाटाहरू नियाल्दै गर्दा केही हरफ याद आयो –
नास्तिक थिएँ तिम्रो आस्थाको पुजारी आस्तिक भएँ
के मागेर पूजा गर्यौ तिमीसँगै मन्दिर गएँ ।
मैले आफ्ना प्रियजनहरू सम्झेँ । जसको साथले जीवनका कठिन गोरेटाहरू सुगम भइरहेका छन् । उनीहरूकै सम्झनाले यी दृश्यहरूमा सुन्दरता र मिठास थपिएको छ । दृश्यप्रतिको दृष्टिले मनमा अनुराग भरिदिएको छ ।
एक हप्तापछि घर फर्कने निश्चित भए पनि मन भने तुरुन्तै घर पुगिरहेको थियो । घरमा डाँडामाथिका घाम जून देखिए । मध्याकासको पूर्णचन्द्र देखियो । मनमा करोडौं ताराहरूको प्रकाश जग्मगायो । त्यही उज्यालो लिई म फेरि विचरण गरेँ जीवनका गोरेटाहरूमा । वरपर छरिएको उज्यालो पनि लिन सक्नुपर्दो रहेछ । नभए अँध्यारोबाट पनि केही त सिक्न सकिन्छ नि ।
जीवन गोरेटाको अँध्यारो खाडलमा भासिएकाहरुले उज्यालो क्षणिक भरोसा मात्र ठान्छन् । अन्तरहृदयमा स्वार्थका सन्तुष्टिहरू खोज्नेहरूले जीवन गोरेटालाई भासैभास देख्छन् । तिनीहरूले गुनासाले जीवनका खुसीहरूलाई बेखुसीमा बदलिरहन्छन् । म भने जीवनाकासको झिल्काझिल्की उज्यालोको भरमा जीवन गोरेटो खोज्ने प्रयासमा छु ।
हामी एकछिन बजारमा पैदल घुमफिर गर्यौँ । डडेल्धुरामा कीर्तिपुर, बागबजारजस्ता काठमाडौंका नामसँग मिल्ने ठाउँहरू रहेछन् ।
ऋषिजीले ठट्टा गर्नुभयो -“कतै रत्नपार्क, सिंहदरबार पनि छन् कि ।”
मैले थपेँ -“काठमाडौंका अस्तव्यस्त र फोहोरी ठाउँको सट्टा डडेल्धुरामा सोही नामका सफा र हराभरा ठाउँ हुन किन नहुने ? त्यो गढी जाने बाटोबाट देखिने डोटीखोलाको किनारको सुन्दर गाउँ घटालथानमा कलङ्की सहर बसाए हुँदैन र । त्यहाँ चावहिल, त्यहाँ गोङ्गबु, त्यहाँ बानेश्वर, त्यहाँ सिंहदरबार अनि त्यहाँ रत्नपार्क ।”
मनमनै चित्त बुझाएँ, डाँडै ढाकिने गरी फैलिएका गैरसरकारी संस्थाहरूले एकदिन डडेल्धुरालाई बनाउलान् नि काठमाडौंजस्तै । अरू कुराको अनुकरण गरे पनि काठमाडौंको जस्तो फोहोर नभित्र्याए हुन्थ्यो । भोगाइ सम्झेर राखेको हार्दिक शुभेच्छा थियो यो।
दिउँसो दुईबजे बैतडीका लागि गाडी चढियो । तुफान डाँडाबाट करीब पाँच किलोमिटरको दूरीमा आइपुग्यो पोखराबजार । ठाउँको नाम फेरि मिल्यो । उता कास्की पोखरा यता डडेल्धुरा पोखरा । उता फेवा रूपाको हृदय भएको माछापुच्छ्रेको आँगन पोखरा यता पक्की बाटाको धर्सा जोडिएकैमा रमाएर उन्नतिको उचाइ पर्खिरहेको पहाडी पोखरा । एउटा पोखरा मेरो आँगन अर्को पोखरा मेरो क्षितिज । जे भए पनि डडेल्धुरा पोखराप्रति मेरो स्नेह छचल्किरहेको थियो उत्सुकता भएर । उचाइका डाँडाका छेउछाउको बादल लाग्न नसकेको सफा मझेरी भएर ।
शरद् शुरू भई नसकेकोले आकास र वरिपरिका डाँडाहरूमा प्रकृतिले बादल र कुहिरोको टुक्रे तन्नाहरू बिच्छ्याएको थियो‚ सुन्दरता हेर्ने आँखामा मोतीबिन्दु लाएजस्तै वा गरा कान्ला कुद्ने पयरमा ऐजेरू पलाएजस्तै । तैपनि सुन्दरताका सबै दृश्यहरूमा पर्दा लगाएको कहाँ थियो र ? यात्रामा निस्कनेहरूसँग प्रकृति हेर्ने लालसा र रम्ने मन भएमा प्रकृतिले आफ्ना अनगिन्ति रमणीय सृजनाहरू फुत्तफुत्त देखाई रहँदोरहेछ । मैले पनि कुहिरोका आँखिझयालबाट हेर्दै थिएँ खुलिरहेका प्रकृतिका त्यस्तै रहस्यहरू ।
सल्ला, काफल, उत्तिस, बाँझ, गुराँस आदिका रूखहरूले गाढा हरियो भएको जङ्गलको डाँडैडाँडाबाट गाडी अगाडि बढिरह्यो । अधिक उचाइ र उत्तर फर्केको भौगोलिक बनाबट भएर होला रूखहरूमा झ्याउका लहरा झुण्डिएका देखिन्थे ।
भालुमारेको जङ्गलबाट फर्केर हेर्दा डडेल्धुरा बजार झन् राम्रो देखिँदोरहेछ ।
अनारखोलीपछि बैतडीको सीमा शुरू भयो । झन् अग्ला महाभारत पहाडहरू देखिन थाले । कुनै पहाडमा घाम त कुनै पहाडमा बादलको छायाँ परेर होला पहाडहरू थरीथरीका रङहरूले पोतिएझैँ देखिन्थे । मान्छेले मिलाएर बनाएका रङ्गीन चित्रजस्तै ।
विप्याकटालबाट बाटोले डाँडाको अर्को पाटामा घुमायो । पारिपारि देखिए फेरि अर्कै गाउँबस्तीहरू । बसले कति डाँडा पार गराइसक्यो मजस्तो नयाँ यात्रुलाई पत्तै थिएन । टाढाबाट विवाह भइआएका चेलीहरूले गाउने गीतले तिनै डाँडा काटेर हिँडिरहँदाका व्यथा पोखेका होलान् तीजको बेलामा ।
अर्कै दुनियाँमा पुग्दा भोगेका कथा बोलेका होलान् – नौ डाँडा काटी दियौ नि बाबा मन रून्छ धुरूरू ।
पोथ्रापोथ्री रूखयुक्त जङ्गलहरू देखिए । पातला बस्तीहरू देखिए । गाईवस्तु चरेको कतै पनि नदेखिने फराकिला घाँसे चउरहरू देखिए ।
केहीबेरमा पुगियो बलिया चट्टानको ठूलो पहरामाथि रहेको खोड्पेबजार । खोड्पेमा देखिए होटल, किराना पसल, लत्ताकपडा, पुस्तक पसल, मेडिकल आदि । खोड्पेबजार झण्डै सय किलोमिटर दूरीमा बझाङको चैनपुर, चौबीस किलोमिटर दूरीमा बैतडी पाटन पर्दारहेछन् । ती आसपासका गाउँबस्तीलाई पर्खेर बसेकोरहेछ खोड्पेले । आफ्नो भलो हुन छिमेकीहरूको पनि भलो हुनुपर्छ भनेजस्तै छिमेकी बस्तीहरू धनी र यातायातजस्ता पूर्वाधारले सम्पन्न भएमा सुन्दर डाँडामा रहेका त्यस्ता बजारहरू झन् कति राम्रा हुँदा हुन् । मैले चिटिक्कका घरहरूले सजिएको खोड्पेबजारको चित्र बनाएँ मनमनै । मनले चित्र बनाउन सजिलो छ । मुलुकको चित्र बनाउन पो कठिन । तर मनमा चित्र नबनी मुलुकको चित्र कहाँ बन्ला र ? देश विदेश डुलेर उन्नति प्रगतिका लोकमार्गहरू देखे पनि बिर्सिहाल्ने मनले सुन्दर चित्र बनाउन नसक्दा नै मुलुकले अग्रगामी गोरेटो समात्न नसकेको हो कि ?
केहीबेरको गाडी यात्राबाट देखियो पारिपट्टि मिलेका गरा भएको हरिया मकैबारी लहलहाइरहेको गाउँ । दृश्यावलोकनको प्रवेशद्धार र दुर्इडाँडाको सङ्गमस्थल मनिकाखान आइपुग्यो । सुन्दर गाउँ बस्ती, खोलानाला देख्नेबित्तिकै डडेल्धुराबाट सँगै गाडी चढेका जिल्ला शिक्षा कार्यालय, बैतडीका कर्मचारी कपिल पौडेलतर्फ फर्किहाल्छु म ।
उनले भने -“त्यो बैतडी पाटन हो । त्यो ठडिएको ठूलो पहाड घनघश्या हो ।”
मैले विद्यालयतहमा पढेको डा.ताना शर्माद्वारा लिखित ‘घनघश्याको उकालो’ सम्झेँ । पैदलै हिँड्नुपर्ने उतिबेलाको समयमा सतबाँझको लेक, बैतडी पाटन, घनघश्या, पोखराबजार, बाटामा पर्ने गाड, पैसा दिएपछि मकै रूमालमा हालिदिने भन्ट्याङभुन्टुङकी आमा, नाङ्गा खुट्टाले हिउँमा हिँड्ने भरिया आदि ठाउँ, घटना र पात्र उल्लेख भएको चर्चित नियात्रा बनेर मेरो स्मृतिपटलमा साँचिएको रहेछ ‘घनघश्याको उकालो’ ।
उत्साहित नजरले घनघश्यालाई हेरेँ । नीला रूखहरूले सजिएको साँच्चै अजङको पहाड रहेछ घनघश्या । मोटरबाट आउँदा पहाडको पल्लो पाटो कस्तो थियो भनेर सम्झन खोजेँ । ठूलो पहरामाथि जङ्गल भएको अनण्टार पहाडको चित्र बन्यो मनमा । पल्लो पाटोबाट घनघश्याको पहाड भन्ने थाहा पाउन पाएको भए भन्ने पछुतोमिश्रति उत्सुकताले सहयात्रीहरूसँग जिज्ञासु नजरले हेरेँ मैले । नजिकको तीर्थ हेलाँ भनेझैँ स्थानीयहरूमा घनघश्याप्रति कुनै मोह थिएन ।
ठाडो उकालो पैदल हिँड्ने युग सकिएर पहाडहरूको छेउछाउबाट मोटर गुड्ने आधुनिक युगमा प्रवेश गरेको अनुभूति भयो । आफ्नै गोडाले पैदल हिँडेर भूगोल छाम्नुको मजा गाडी चढेर त कहाँ हुन्छ र ? तैपनि राम्ररी अनुभूत भई नसक्दै मानसपटलबाट फिल्मको दृश्यझैँ उछिट्टएिका क्षितिजहरू नियाल्दै गर्दा बहुप्रतिक्षित गन्तब्य फेला पारेझैँ भयो । मैले घरि घनघश्याको पहाडमा उक्लिने गोरेटो कल्पना गरेँ त घरि बैतडी पाटनलाई नजरले सुम्सुम्याएँ । ठूलो धान खेत, बीचोबीच सङ्लो खोला, चिटिक्कका ढुङ्गे छानाका घरहरू, छेवैबाट बगेको नागबेली मोटर बाटोले सिङ्गारिएको बैतडी पाटन । पाटनबाट दक्षिणपश्चिमतर्फ पर्दोरहेछ घनघश्या । मैले सतबाँझको लेक कतातिर पर्छ भनेर पौडेलजीतिर फर्कनै लाग्दा अवस्थी थरका बाह्र कक्षाका स्थानीय विद्यार्थी भाइले अगाडिपट्टिको महाभारतलेकतर्फ औंला तेर्साए । “बाटैमा पर्छ, हेर्न पाउनुहुन्छ ।” उनी पाटन आउनुभन्दा केही पहिल्यै बाटोको मोडमा ओर्लिए ।
पाटन चौराहामा गाडी रोकियो । चिया नास्तापछि सेरोफेरो नियाल्दा भेटियो भित्ताभरि रङ्गीन पत्रपत्रिका भएको पसल । केही रमाइला प्रेमप्रधान पत्रिकाहरू थिए त्यहाँ । यसैबीच भेटियो राष्ट्रिय गजल पत्रिका ‘प्यास’ । यसो पाना पल्टाउँदा भेटिए -टीकाराम उदासी, दाङ ।
उनको चोटिलो प्रहार त्यहाँ पनि भेटियो-
“निस्सासिएर अभावको भीडमा
कसरी भनुँ म पार भएको छु” ।
भर्खरै पार गरेका पहाडी घुम्तीहरू र मानिसका निन्याउरा अनुहारहरू सम्झेर प्रिय गजलकार टीकारामसँग मनमनै सहमति जनाउँदै गर्दा गाडीले हर्न बजायो । गाडीले सबैलाई बोकेर उकालो चढ्न थाल्यो । बाटाको पिलरमा लेखिएको थियो – सतबाँझ १२ कि.मी. । ठाँड काटेर सिउँडे उक्लिसक्दा चिसो निकै बढिसकेको थियो । गुराँसे रूखहरूको पाखोबाट गाडी अगाडि बढ्यो । चैतबैशाखमा राताम्मे गुराँस फुल्दा यी डाँडापाखा कति रमणीय देखिँदा हुन् । मैले शिक्षक भई जागिरे जीवनको प्रारम्भमा हिँडेको पर्वत जिल्लाको शालिजाको लेकमा फुलेका गुलाबी, सेता र राता गुराँसे पाखाहरू सम्झदै गर्दा आइपुग्यो मेरो कल्पनाको उचाइ सतबाँझको लेक । एउटा पेट्रोल पम्प, स-साना ढुङ्गे चिया पसल भएको बजार रहेछ सतबाँझ । उत्तर लागे दार्चुला र पश्चिम लागे बैतडीको सङ्गममा बाँडिएर सतबाँझले धेरै चिसा हिउँद बेहारिसकेको होला ।
सतबाँझप्रति सहानुभूति राखेर स-साना बुट्यानयुक्त थुम्काथुम्की हेर्दै पछाडि फर्कँदा भित्तामा देखियो विशाल चौर ।
“त्यो सतबाँझको स्याउ बगैंचा हो ।” एकजना अधबैंसे मतिर फर्किए ।
“अचेल हिउँदमा पनि हिउँ कम पर्छ ।” उनले मुख बिगार्दै थपे “अचेल सतबाँझको बगैंचामा एकाध बूढा रूखहरू मात्र छन् ।”
उत्तरतर्फका डाँडा देखाउँदै उनले भने- “बादल नलागेको भए यहाँबाट अपि र नाम्पाल हिमाल देखिने थियो ।”
हिउँदमा हिउँ पर्न छोडिसकेको सतबाँझबाट आँखा हटाएर अगाडि हेर्दा मान्छेले हतियारले काटेर बनाएका जस्ता धारिला चुच्चा भएका पहाडहरू देखिए । तहतह परेर क्षितिजसम्म फैलिएका पहाडहरू फाट्टफुट्ट एकाध घर फेदीमा राखी नाङ्गो चउर बोकेर उचालिएका थिए । यी दृश्यहरू एकदुई दिनका मजस्ता परदेशी यात्रुहरूका लागि राम्रा लागे पनि ती पहाडका फेदीमा बस्ने गरीबहरूलाई जिन्दगी जिउन कति दुःसाध्य र कहरपूर्ण होला । तिनीहरूले यो बाटोबाट गुड्ने मोटरलाई आकासको फल आँखा तरी मर भनेझैँ केबल हेरेर मात्र कल्पँदा हुन् ।
पुगियो देहीमाण्डौं । त्यतातिर माण्डौं जोडिएका धेरै गाउँ हुँदा रहेछन् । सुदूरपश्चिमका प्रसिद्ध मन्दिरमध्ये एक निंगलाशैनी मन्दिर बाटैमा पर्दोरहेछ । पारिपट्टि एउटा विद्यालयमा भेला भएका रङ्गीचङ्गी मानिसहरू देखिए । तिनीहरूले गौरापर्व मनाइरहेको कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो । बाँझैबाँझका रूखहरूको जङ्गल पार गरिरहँदा एकैपटक देखिए खोचमा महाकाली नदी र डाँडामा बैतडीबजार । अग्ला पहाडहरूका बीचको होचो डाँडामा अवस्थित बैतडी सदरमुकाम हाम्रो त्यो दिनको गन्तब्य । गाडीबाट शाहीलेकमा ओर्लेर केही उक्लिएपछि बैतडी खलङ्गा पुगियो ।
अर्कोदिन । अन्धकार चिरेर दिन जन्मिए पनि धुम्मिएको आकास हेर्दा प्रकृतिको अनपेक्षित रोष हामीमाथि परेझैँ लागिरहेको थियो । मैले सहयोगी भाइ चन्दलाई सोधेँ यता पानी कत्तिको पर्छ ? उनले दैनिकजसो पानी परिरहन्छ भन्दै मीठो चिया बनाएर ल्याए । चिया सकेर बजारमा निस्कँदा कुहिरो पातलिइसकेको थियो । डाँडाको टुप्पामा रहेको साँघुरो खलङ्गाबजार, एकाध सरकारी कार्यालयबाहेक सबै पुराना घरहरू, बजारको बीचमा रहेका ढुङ्गाले छाएका भत्किएका, चर्किएका केही घरहरू …।
हेर्दाहेर्दै बजारको दक्षिणतर्फ रहेको टुडिखेलमा पुगियो, जहाँबाट वरिपरिका धेरै गाउँ बस्तीहरू देखिन्थे । बाख्रा चराउँदै गरेका एकजना पूर्व अध्यापकले मनको कुरा बुझेझैँ सबै नालीबेली लाइदिए । शहीद दशरथ चन्दको जन्मथलो त्यो बस्कोट पत्थरसिन्हा गाउँ, त्यो त्रिपुरासुन्दरी मन्दिर, भट्ट गाउँ, आइत, तल्लो आइत, मार्कण्ड्य गाउँ, चौडाली, दक्षिण पूर्वमा लस्करै तीन वटा शिव देवलहरू, दक्षिणपट्टि ग्वालेक । ग्वालेकको पल्लो पाटामा देउकी प्रथाको उद्गमस्थल मेलौली मन्दिर । तल खोचमा महाकाली नदी र झुलाघाट, महाकालीपारि भारत, नजिकै उत्तरतर्फो डाँडामा जगन्नाथ मन्दिर ।
प्रहरी कार्यालयको हाताभित्र रहेको जगन्नाथ मन्दिर त बिहानै गइसकियो भनेपछि उनले प्रष्ट पारे “पहिला त्यो डाँडामा रहेको दलितहरूको र प्रहरी कार्यालयको हाताभित्र रहेको उपल्ला जाति भनाउँदाहरूको जगन्नाथ मन्दिर हो तर आजभोलि उपल्ला जाति भनाउँदाहरूको मन्दिरमा पनि दलितलाई प्रवेश खुला छ ।”
मलाई लामो सुस्केरा हाल्न मन लाग्यो संस्कार र सोचाइ नबदलिएसम्म शताब्दीका सङ्घार नाघ्दैमा समाज परिवर्तन कहाँ हुँदो रहेछ र ?
बेलुकापख शाहीलेकबाट पैदल हिँड्दै गोठालापानी पुगियो । गढीको तुलनामा गोठालापानीमा बजार बिस्तार भएको रहेछ । बसपार्क भएर होला मान्छेको चहलपहल बढी देखिन्थ्यो । त्यहाँबाट महाकाली नदी र चमेलियाको सङ्गम देखिँदोरहेछ । पारिपट्टि बादलले छोपिएर पिथौरागढले क्षितिजसँग प्रेमालाप गर्दै थियो । मोटर बाटोका सुकिला धर्साले महाकाली पारिका बस्तीहरूमा सुन्दरता झनै थपेका थिए । सूर्यले बादलमा आगो झोसेर आकासलाई खरानी पार्न कस्सिएजस्तो बादलका केही टुक्राहरू आगोका लप्काजस्तै पहेँला भइसकेका थिए । हेर्दाहेर्दै क्षितिजलाई अँध्यारो र दूरीले निल्यो । क्षितिज देखिन छाड्यो भन्दैमा क्षितिज हरायो भन्न कहाँ सकिन्छ र ? त्यसको अस्तित्व हृदयमा पनि अङ्कित भइसकेको थियो ।
दिन ढल्कन लागेको थियो । सिमसिमे पानी परिरहेको थियो । रूझदैभिज्दै उकालो उक्लेर गढी आइपुग्दा पनि पानी रोकिएको थिएन । पानी दर्किएको बैतडीका डाँडापाखाहरू नियालेको थिएँ मैले । साँच्चै मलाई बलेनीको पानी हातमा थाप्दै झरी दर्किएको आकास हेर्न मन लाग्दछ ।
आकासबाट झरिरहेका थोपाहरूसँग मनले भनिरहेको थियो- “तिमीहरू क्षणभरमा धर्तीमा खसेर बिलय हुँदैछौ । तर त्यो उचाइदेखिको खर्साई आहा कति मनमोहक छ ।”
कुनै चिज पनि सधैँ उचाइमा रहँदैन् । पिङ जति उचाइमा पुग्छ, त्यत्ति तल झर्नुपर्छ । फेरि उक्लन एक चक्र घुम्नुपर्छ । तलबाट माथि पुगेको वस्तु एउटा चरम बिन्दुपछि झरिहाल्छ । त्यो चरम उचाइ क्षणिक हुन्छ, शायद उक्लनेलाई थाहै नहोला । त्यसैले जीवनका नैतिकता, सचेतता र इमानका उचाइहरूमा रहिरहन खोज्नु मान्छेको लक्ष्य हुनुपर्छ । म दर्किएको आकास हेर्दै आदर्श कल्पनामा डुबेको थिएँ केहीबेर । पानी विदो हुँदा दिनले पनि विश्राम लिइसकेको थियो ।
अर्कोदिन दिउसो त्रिपुरासुन्दरी मन्दिरतर्फ झरियो । मन्दिरमा पुगेपछि झुलाघाट जाने ठाडो ओरालो झर्न थालियो । एउटा पिपलचौतारीको आडमा ठडिएको चिया पसलमा एकैछिन थकाइ मार्न बसियो । वारिपारि कडा पहराहरू, ठाडै तल हेर्दा रिङ्गटा लाग्लाजस्तो भीर, झुलाघाट अझै खोचमा लुकेको थियो । फेरि पाइला बढाइयो तलतिरै । बाटामा एकाध भरियाले गह्रौं भारी बोकेर उक्लिरहेका भेटिन्थे । स-साना ढुङ्गा ठाडो पारेर बनाइको गोरेटो हेर्दा लाग्थ्यो- त्यो बाटो सुविधाभोगीहरूका लागि होइन ।
गाडीबाट झुलाघाट पुग्नुभन्दा पहिल्यै त्यो ठाडो भित्तो ओर्लिसकिन्छ भन्ने स्थानीयवासीको भनाइलाई सम्मान गर्दै हामी निरन्तर ओर्लिरह्यौँ । पहाडमा जन्मे हुर्केको भए पनि ठाडो ओरालो भएकोले मलाई हिँड्न कठिन भइरहेको थियो । ऋषिजीले अघि पुग्दै पर्खंदै गर्दा मैले दौडेरै भएपनि भेट्टाउने चेष्टा गरिरहेँ । तीनजना फुर्तिला ठिटाहरूले हामीलाई उछिनेर अघि बढे । मैले बाल्यकालमा हिँडेका उकालीओराली सम्झेँ । तिनीहरूजस्तै अगाडि बढ्न कस्सिएँ तर कैंडा लागेका खुट्टाहरू त्यसरी बढ्न सकेनन् । हेर्दाहेर्दै उनीहरू ओझेल भए । झण्डै एकघण्टामा झुलाघाट पुगियो ।
सीमा रक्षाका लागि खोचमा अविरल बगिरहेको महाकाली नदीलाई तलदेखि माथिसम्म हेरियो । सानो पुलबाट महाकाली नदी तरेर पारिपट्टि झुलाघाटबजार पुगियो । उपभोग्य सामग्रीहरूका केही पसल, हनुमान मन्दिर, मानिसहरूको कम मात्र चहलपहल रहेछ त्यहाँ । सिमेन्ट नेपालतिर ओसार्दै गरेका मैला झुत्रा लुगा लगाएका नेपालीहरू पनि देखिन्थे । झुलाघाटको ऐतिहासिक कथा भनिदिने कोही नभेटिए पनि वर्तमान कथा भनिरहेथे निरीहहरुका दिनचर्याले । सबै आ-आफ्नै धुनमा कुदिरहेका थिए । हामी आफ्नै मातृभूमितिर फर्कियौँ । अगाडि आएको बाटो पैदल उक्लने कि जीप चढ्ने भन्ने विषयमा हामीबीच सल्लाह हुनथाल्यो ।
मैले जीवनमा उक्लेका लामालामा र कठिन उकालाहरू सम्झेँ । मैले उक्लेका ती सबै उकालाहरूभन्दा त्यो उकालो फलामको चिउरा लागिरहेको थियो । थकाइ लागेर हो वा साँच्चै उकालो कठिन भएर हो मैले उक्लने साहस गर्न सकिन । ऋषिजीले पैदलै उक्लने मनसाय गरे पनि मेरो असमर्थताले गर्दा हामी जीपका लागि अघि बढ्यौँ । हामी पुग्नै लाग्दा भित्र खचाखच भरिएको एउटा जीप बाहिरबाट समेत मान्छेले छोपिएर अघि बढ्यो । अर्को जीप सानो केटोले मर्मत गर्दै थियो ।
गाडीका पुर्जा खोलखाल पारेर ठोक्दै गरेको केटाको हातको चलायमान हथौडा र उसको कुशलता देखेर ऋषिजीसँग मैले भनेँ “कलिलो भए पनि यो ठिटो त अरनिकै रहेछ ।”
मर्मत भई गाडी तयार भइरहँदा महाकाली नदीको जलप्रवाह हेरेर टोलाइरहेको बेला ऋषिजीले पारिको पहरो देखाए – “त्यहाँ पनि परेवा बस्दो रहेछ ।”
“मलेवा हुनुपर्छ ।”
“केही चराहरूले नदीमा पानी खाइरहेका छन् ।”
“जलेवाले पानी खायो मलेवाले देख्यो ।” चराहरू हेर्दै म गुन्गुनाएँ ।
हाम्रो कुराकानी सुनेर दार्चुलाबाट बैतडी घर विदामा आएका एकजना राष्ट्रसेवक हाम्रो नजिक आइपुगे । उनले हामीलाई समय मिले पिथौरागढ र दार्चुला पुग्न सुझाए । उनको सुझाव राम्रो भए पनि हामीसँग समय थिएन ।
महाकाली नदी माथिको झुलाघाट नजिकको कच्ची सडकमा गाडी कुर्दा उनले एउटा घटना सुनाए – “यही ठाउँमा केही वर्षअगाडि एउटा गाडी फर्काइँदै थियो गोठालापानीतिर जान । एउटा यात्रुले चुरोट खाइरहेको थियो सिटमा बसेर । अरू यात्रुहरू कराउन थाले । गाडी मोडञ्जरी चुरोट सकेर फेरि गाडी चढ्न उसलाई झारियो । मोड्दामोड्दै गाडी महाकाली नदीमा खस्यो र ऊ मात्र बाँच्यो ।”
मैले तल बगिरहेको महाकाली नदी हेर्दै सुस्केरा हालेँ । कहिलेकाहीँ परिस्थितिले पनि उल्टो गर्छ । जोगाउनुपर्नेलाई खसाल्छ । खसाल्नुपर्नेलाई उचाल्छ । हटाउनुपर्नेलाई राख्छ । राख्नुपर्नेलाई हुत्याउँछ ।
झण्डै दुईघण्टादेखि गाडी कुरिरहेकाले हाम्रो सिट सुरक्षित थियो । पछि आएका केही मान्छेहरूलाई कन्डक्टरले गाडीको हुडमा बसाल्न खोज्दै थियो । पिथौरागढ काम गरी फर्केका र त्यही दिन घर पुग्न कस्सिएका एकजना बझाङीले छतमा नबस्ने तर्क गर्दै थिए ।
मैलो ढाका टोपी, इष्टकोट, फाटेका जुत्ता लगाएका पातलो शरीर भएका ती अधवैँसेले हामीलाई झारेर आफूसहित एकदर्जन उनका सहयात्रीहरू मात्र चढेर सिधै बझाङ जान खोजेका थिए । गोठालापानी गएपछि गाडी पाइनसक्छ बढी पैसा किन तिर्नुहुन्छ भनेर हामीले सम्झायौँ । अरू दुईवटा खाली जीप पालोमा भए पनि पहिलो गाडीमै सबै यात्रु कोच्नुपर्ने नेपाली संस्कारको अगाडि उनको केही लागेन । उनीहरू गाडीको हुड र गाडीभित्र कोच्चिए । पहिले जसरी नै गाडीभित्र र बाहिर यात्रु खचाखच भएपछि जीप कच्ची बाटोमा गुड्न थाल्यो । गढी उक्लँदा रात परिसकेको थियो ।
एकबिहान हामीले बैतडीलाई हात हल्लाउँदै डडेल्धुरातर्फ फर्क्यौँ । गाडी घुम्तीहरूमा मोडिँदा हरिया डाँडाहरूमा सूर्य रश्मीले चुमेका दृश्यहरू मनमोहक देखिन्थे । सतबाँझबाट बैतडीतिर फर्केर हेर्दा खलङ्गाबजार चुचुराहरूमुन्तिर लुकिसकेको थियो । पिथौरागढका सुविधासम्पन्न सुन्दर बस्तीहरू मात्र देखिन्थे । सतबाँझ आइपुगेपछि यात्रु थोरै भए भनेर हामी चढेको गाडीले हामीलाई अर्को गाडीमा चढाइदियो ।
“मेल देणे म हो, सिट मिलाउने मेरो जिम्मा” भन्दै हामी आएको गाडीको खलासीले अर्को गाडीको पनि त्यही सिट नम्बर मिलाइदियो ।
दार्चुला जाने बाटोतिर नजर लगाएँ- रौलाकेदार भनिने अग्लो पहाड कुहिराको फेटा लगाएर ठडिएको थियो । तीनदिन अगाडि हेर्दै हिँडेको बाटो आज भने छिटै काटिएझैँ लाग्यो । डडेल्धुरा फर्किसकियो ।
फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराको सहयोगमा स्थानीय कलाकारहरूले देखाउन लागेको सडक नाटकको रिहर्सल हेरियो ।
“लगनशील र उत्साही युवा हाकिमले यस्ता युवा कलाकारहरूलाई परिचालन गरेपछि सडक नाटकबाट मतदाता शिक्षा राम्ररी हुने नै भयो ।” यथार्थलाई हौस्याउने पाराले भनेको थिएँ मैले ।
सबैका अनुहार उज्याला भए । “राम्रो काम गर्नेलाई केही दिन नसके स्याबासी दिनू” भन्ने मेरो बुझाई काम लाग्यो त्यहाँ ।
चाकडीका बलले कामचोरहरू पुरस्कृत हुने र लगनशील कर्मचारी पाखा लगाइने विकृति सम्झदा भने मन अमिलो भएर आयो । चतुरहरू चतुर्याइँ गरेर सधैँ अगाडि भइरहलान् । अवसरका लागि सधैँ तिकडम गर्दै हिँड्ने धूर्तहरूको त के कुरा । उनीहरू सधैँ पानीमाथिको ओभानो र हिलो/धुलोभित्रको सुकिलो भइरहलान् । तर स्यालजस्ता चतुर र धूर्तहरूलाई वास्तविक आँखाले कहिल्यै पछ्याउँदैनन् । सोझासिधाहरूले टेक्ने बाटो कहिल्यै बक्र हुँदैन् । त्यसैले त धूर्त चतुरहरूभन्दा सोझासिधाहरूको बाटो सधैँ स्पष्ट उज्यालो हुन्छ । मैले मनमनै भोगाइका पाटाहरू केलाउन पुगेँ । पथिकहरू पथभ्रष्टहरू भन्दा बढी डराउँछन् । पथिकहरूलाई बाटो बिरिन्छ कि भन्ने पनि डर हुन्छ तर पथभ्रष्टहरू कुबाटामै हिँड्न अभ्यस्त हुन्छन् । चोरबाटो किन भागेको कसैले सोध्ला भन्ने डरै हुँदैन उनीहरूलाई ।
“जो असल छ उसका लागि म असल छु, जो असल छैन उसका लागि पनि म असलै छु” भन्ने लाओ-त्सेको भनाइलाई पछ्याए जसरी दुष्टहरूले गरेका घातहरूको बदलामा आफूले उनीहरूलाई असलै गरेका घटनाहरू पनि सम्झँदै थिएँ मैले ।
हामी डोटीका लागि निस्कियौँ ।
डडेल्धुराबाट डोटीका लागि जीप चढियो । सल्लाघारी, मष्टमाण्डौ, सकायलपछि कोरालखोला आइपुग्यो । कोरालखोलाबाट डोटी जिल्ला प्रारम्भ भएको सङ्केत सडकछेउको बोर्डले गरिरहेको थियो । कोरालखोला सेतीमा मिसियो । हेर्दाहेर्दै लोहारखाडी खोलाले पनि सेतीमै आत्मर्समर्पण गर्यो । एकातिर ठडिएको भीर, अर्कोतिर सेती नदी, बीचमा हरियो लहलहाउँदो बाली हुर्काएर बसेको बस्ती, बस्तीको बीचमा गुडिरहेको सडक, यिनीहरूसँग एककिसिमको सामिप्यता र लगाव गाँस्दै रमाइरहेको नयाँ यात्रु । बाटोका छेउछाउमा देखिने घैया, कोदो र लट्टेका हर्लक्क बढेका बाली हेर्दै सेतीको प्रवाहकै दिशातर्फ हुँइकिँदा सुकिलो जलमा उठेका तरङ्गझैँ मनमा छाल उठ्नु अस्वाभाविक थिएन ।
नदी प्रवाहकै दिशामा सिर्जित भाव छाल बनेर छचल्किन थाल्यो-
हामीबीचमा नदी थिएन
पुल पनि त आवश्यक थिएन
दुवै तरल, प्रवल र गतिशील
हामीलाई छेक्ने बाँध पर्खाल थिएन
तर किन फाट्यौ भङ्गालो भएर
तिमीसँग छुट्टनिे रहर थिएन
कालीमा मोदी मिसिएजस्तै
तिमीसँग फेरि जोडिने चाह छ ।
समूहागढ पुल तरेर घुम्ती पार गरेपछि बाटो बिस्तारै माथि उक्लिनथाल्यो । कुलपातेबाट थोरै ओर्लेर वैशका रूखका लस्करलाई विदाई गर्दै सेती प्राविधिक शिक्षालयलाई बायाँ छाडेर अगाडि बढेपछि पुगियो दिपायल । पैंसठ्ठी किलोमीटरको मात्र दूरी भए पनि साँघुरो र ठाउँठाउँमा वर्षात्लेा गेग्रेटा थुपारेर बिग्रेको बाटो भएकाले स्याउलेबाट सिलगढी आइपुग्न झण्डै तीनघण्टा लाग्यो । गाडीबाट ओर्लेपछि दिपायलमा एकछिन थकाई मार्न हामी चिया पसलतिर लाग्यौँ ।
चिया नास्तापछि सिलगढी जाने गाडी पर्खंदै थियौँ । एकजना झुत्रो लुगा लगाएको मान्छे हाम्रो नजिकै आएर उभियो । मैले ऊ जति गरीब, दुब्लो र झुत्रे मान्छे कहिल्यै देखेको थिइन । ऊ कुन जिजीविषाले घस्रिरहेको होला यो दुनियाँमा शायद सम्पन्नहरूले उसलाई हेरेर यही सोच्दा हुन् । आवरण हेरेर मान्छेहरू औकात अन्दाज गर्छन् । अनुहार हेरी मनको औडाहा थाहा पाएर मल्हमपट्टी गर्नेहरू शायदै भेटिन्छन् दुनियाँमा । आवरणका ढाँचा त हेरफेर पनि हुनसक्लान् तर मनको पीर अरूले तुरून्त धोइदिन कहाँ सक्छ र ? अरूले राखेको सहानुभूतिले चहराएको घाउमा नूनचुक छर्छ कहिलेकाहीँ त । उसले केही नबोली केबल पुलुकपुलुक हेरिरहँदा मेरो मनमा ऊप्रतिको मायाको भुकभुके उम्लिरहेको थियो । उसको मुक भाषाले एउटा दुःखपूर्ण कथा सुनाइरहेझैँ लागेको थियो । मुक भाषाको सम्वाद बुझ्नेले बुझेपछि सयौँ शब्दको व्याख्याभन्दा जोडदार हुन्छ ।
मैले दिएको थोरै पैसालाई मानवीयताको अपमान सम्झेर अस्वीकार गर्ने त हैन भन्ने कुरा खेलाउँदै दश रुपैयाँको नोट उतिर बढाएँ । उसले भने सहर्ष स्वीकार गर्दै नमस्कार गर्यो र नजिकैको पसलमा गएर चिया पिउन थाल्यो । एकैछिनपछि हेर्दा ऊ त्यहाँबाट हिँडिसकेछ । हुनेहरूसँग थुप्रिएको धनको उपयोगिता नहुनेसँग पुग्दा धेरै गुणाले बढ्छ भन्ने अर्थशास्त्रको दृष्टान्त छर्लङ्ग भयो ।
रविन्द्रनाथ टैगोरको गीताञ्जली कविताको पात्रले आफ्नो थैलोबाट झिकेर दिएको एक चिम्टी दानको सट्टा भरे आफ्नो थैलोमा त्यति नै सून पाउँदा थकथकी भएझैँ लाग्यो मलाई पनि । उसको सानो प्राप्तिमा ठूलो खुसी देखेर टन्न खुवाएर नपठाएकोमा पछुतो लागिरह्यो । उसका स्वप्नहीन र भावहीन आँखा शायद मेरा मनमा टाँसिएर मलाई लगातार हेरिरहेका छन् जस्तो । आफ्नै मनसँग गुन्गुनाउनबाहेक मैले केही गर्न सकिरहेको थिइन ।
आत्मग्लानिले अमिलो भएको मन शान्त गराउने राम्रो उपाय हो गुन्गुनाउनु –
भीर समाई कयौँ बटुवा हिँड्छन्
गोरेटो भत्काई सडकमा अगुवा कुद्छन्
सबैको बाटो कहाँ रहेछ भनेर खोज्दैछु
उड्नेलाई त के सोध्नु र ? हिँड्नेलाई सोध्दैछु
जिन्दगी के रहेछ भनेर खोज्दैछु ।
हाँस्नेलाई त के सोध्नु र ? रूनेलाई सोध्दैछु ।
फेरि चित्त बुझाएँ । कम्तीमा उप्रति सफा मनले सहानुभूति त राखेँ ।
समाज सेवाका ठूल्ठूला धाक लडाउनेहरूका नजरमा यस्ता गरीब मान्छेहरू किन पर्न सक्तैनन् ? आफ्नो मात्रै माया त कुकुरले पनि गर्दैन । फोहोरको डङ्गुरमा भोकै बसेर भए पनि बच्चालाई दूध चुसाइरहेको हुन्छ । बच्चा चाटिरहेको हुन्छ । बच्चा सुम्सुम्याइरहेको हुन्छ । अनि के दिन के साँझबिहान चौबीसै घण्टा मान्छेका ढोकामा ढाल बनेर खडा रहन्छ । पहरा दिइरहन्छ । मान्छे त कुकुरभन्दा पनि निकृष्ट प्राणी । मान्छेले मान्छेलाई माया गर्दैन ।
“मान्छेले मान्छेलाई माया किन गर्दैन ?” मेरो मनमा खिल बनेर गडिरहे तिनै प्रश्नहरू ।
प्रश्नका जरा जति खोजले पनि मन बुझाउनसक्ने एउटा तर्क पनि फेला परेन । मन बुझाउन सक्ने एउटा शर्त पनि देखा परेन ।
“दयाहीनताभन्दा अर्को कुनै कुरुपता हुँदैन” भन्ने कतै पढेको हरफले भने झन् पोलिरह्यो भित्रभित्र ।
सेती र द्वारी तरेर करीब दश किलोमीटर चढेपछि सिलगढी पुगिँदोरहेछ । सिलगढीबाट दिपायल, सेती नदीलगायत वरपरका गाउँ बस्तीहरू खूब राम्रा देखिँदा रहेछन् । गोधुली साँझको रङ्गीन कलेवर नपोतिँदासम्म सिलगढीका केही ठाउँ घुमियो ।
शैलेश्वरी मन्दिर पुगियो । धेरै वर्षपहिले लोक सेवा आयोगमा एउटै शाखामा काम गरेका उपसचिव नवराज चौलागाईं सरलाई फर्कने क्रममा राजपुर दिपायलमा भेटियो । मनले सम्झिरहेका मान्छेलाई भेट्दा एक किसिमको आनन्द हुन्छ । लोक सेवा आयोगको परीक्षाका सन्दर्भमा पढ्न सधैँ हौस्याउने चौलागाईं सरलाई धेरै वर्षछि अचानक भेट्दा मन साह्रै प्रफुल्लित भयो ।
दिपायलबाट फर्कँदा सुस्तरी चलेको जीप र बेंसीको चर्को घामले म केहीबेर निदाएँछु ।
अर्कोदिन दरखाने चाड । चेलीबेटीहरूले माइतीको आँगनमा रमाइलो गर्न र आफ्ना सुखदुःख साटासाट गर्न पाउने दिन । बाटामा राता साडी लगाएका महिलाहरू फाट्टफुट्ट देखिन्थे । गौरा पर्व विशेषरूपले मनाउने त्यस क्षेत्रमा तीज पनि मनाउँछन् भन्ने जानकारी डडेल्धुरामा आउँदाकै दिन पाइएको हो । नियालेर हेर्छु उनीहरूका मुहारमा खुसी फुल्न सकेजस्तो लाग्दैन् । दिनवैंशे महिलाका अनुहार पनि चाउरी परेजस्ता ।
स्याउले आइपुग्नै लाग्दा एकजना महिलाले गाडी रोक्न खोजिन् । जीपमा ठाउँ थिएन । माइत जाँदै होलिन् चढाइदिनु गुरूजी भनेपछि ड्राइभरले गाडी रोक्यो । उनी चढिन् । मैले आफ्ना चेलीबेटीहरूलाई सम्झेँ । मैले त उनीहरूलाई तीजमा बोलाउनसम्म सकिन् ।
रेडियोमा सुनेको गीतले घोचेझैँ लाग्यो- “तीजमा पनि बिर्सेछ क्यारे गरीब माइती ।”
बैतडी र डोटीपछि डडेल्धुरासँग छुट्टिने दिन । छ बज्नु पहिल्यै बसपार्क पुगियो । निकैबेर पर्खेपछि एउटा माइक्रो फेला पर्यो ।
माइक्रो निकै थोत्रो थियो । सीसा फुटेर झयालमा प्लास्टिक टाँसिएको, सिटहरू बिग्रिएका, बस्दा खुट्टा खुम्च्याएर बस्नुपर्ने । गाडी चलेपछि मर्मत गरे राम्रो हुन्थ्यो नि भन्ने सामान्य प्रतिक्रियामा गाडी साहुले आफ्ना समस्याहरू राख्न थाल्यो ।
उसको कारूणिक भनाइले मलाई पनि भावुक बनाएको थियो- “मङ्सिराँ बिरामी पड्या छोरो चैताँ निको भया ।”
बूढाले भनिरह्यो । मैले सुनिरहेँ । लाग्थ्यो बूढाका मनका पीरहरू धेरै वर्षेखि गुम्सिएका थिए । कसैका हृदयका दर्दपूर्ण वाणीहरू ध्यानपूर्वक सुनिदिने मान्छे हम्मेशी भेटिँदैनन् दुनियाँमा । अरूका दुःखहरूलाई आफ्नैजस्तै गरी सम्झने श्रोता पनि पाइँदैनन् । उसलाई लागे होला मेरा दुःखपूर्ण घटनाहरू सुनिदिने असल श्रोता भेट्टाएँ । बूढाको गन्थन धेरैबेर चलिरह्यो । उसको दुःखपूर्ण आत्मकथाजस्तै उसको स्थानीय लवजको बोलीचाली पनि सुनिरहुँजस्तो थियो ।
झ्यालबाहिरको दृश्य पनि बूढाको व्यथापूर्ण कथाजस्तै चिसो थियो । पहिल्यै हेरिसकेको फिल्मका दृश्यहरूझैँ कुहिरो, चिसो सिरेटो, डाँडाकाँडा पुनरावृत्त भइरहेका थिए तर प्रकृतिका छटाहरू जतिपटक दोहोर्याए पनि नअघाइने रहेछ ।
गाडी अगाडि बढेपछि थाहा भयो- गाडीको ढोकै लाग्दो रहेनछ ।
ऋषिजीले भने- “यो गाडी भगवान् भरोसामा चलेको रहेछ ।”
मैले मनमनै त्यो गाडी र हाम्रो मुलुकको तुलना गरेँ । एकातिर थोत्रो गाडी, मर्मतपट्टि लाग्न नसकेको पारिवारिक समस्याले व्यथित गफ गर्ने मालिक, राम्ररी हिसाब नजान्ने खलासी, अन्य कुराहरू वेवास्ता गर्दै गाडी हाँक्न मात्र कस्सिएको ड्राइभर । अर्कोतिर मुलुकको हीत बिर्सेर व्यक्तिगत र दलीय स्वार्थमा लागेका नेताहरू, गरिबीले आक्रान्त जनताको न्यूनतम आवश्यकता पूरा गर्न नसक्ने निरीह सरकार र नेपाली जनता । गन्तब्य सुनिश्चित हुन गाडी, बाटो र चालक ठीक हुनुपरेझैँ मुलुक सप्रन असल नेतृत्व र मेहनती जनता अनिवार्य आधार हुन् ।
बुडर पुगेपछि त गाडीको ढोकै बाहिर निस्कन थाल्यो । गाडी चलेदेखि नै ढोका समातेर बसेका गाडी मालिकले गाडी रोकेर ढोका मिलाउन थाल्दा मैले ठट्टा गरेँ- “ढोका झिकेर कतै राखे हुँदैन् ।”
“बरू झिकेर हुडमा राख्नुस् ।” ऋषिजीले थपे ।
एकछिन हाँसो चल्यो । साँच्चै, नेपालका र्सार्वजनिक गाडी चढेर यात्रा गर्नु भनेको तीर्थ यात्रा गर्नुजस्तै हो । त्यस्तो यात्रा थरीथरीका यात्रुका विभिन्न धर्म, भाषा, संस्कृति र संस्कारबीच घुलमिल र अन्तक्रिर्या गर्ने थलो त हुँदै हो, बिग्रेको बाटो, सिकारू चालक, थोत्रा गाडी र धेरै यात्रु कोच्ने संस्कारसँगको सङ्घर्ष पनि हो । धेरै यात्रु बोकेका थोत्रा गाडी घुम्तीमा मोडिन नसक्दा दुर्घटना भएका घटना धेरै छन् नेपालमा ।
कुहिरो फाटेर सल्लाका सुरिला रूखहरूका बीचबाट उज्यालो क्षितिज देखिन थालिसकेको थियो । क्षितिजतिर चियाएँ । आकासमा सुनौलो आभा पोखिँदै थियो । भर्खरै धर्ती छाडेर आकासतिर उचालिएका कुहिरोको क्षतविक्षत टुक्रा पछिल्तिर आकास देखियो । उज्यालोको बाटो आकास । मान्छेको उँचो आस्था र धर्तीको टोपी आकास । आकास अँध्यारो भए धर्ती कहाँ उज्यालिन्छ र ? जीवनमा समयको घडी हेर्न धेरैचोटी फर्किएँ हुँला आकासतिर । आकासको नीर गहिराइमा धेरैचोटी हराएँ हुँला । क्षणैपिच्छे बदलिने क्षितिजभन्दा धेरै माथि थिएन अरबौँ शिरमाथि चम्कने आकास पनि त्यहाँ ।
धारापानी आइपुगेपछि एक हुल बाख्राले बाटो काट्दा ढोका समातेर बसेका बूढाले बाख्रा धपाउन थाले । थाहा भयो गाडीमा हर्न पनि रहेनछ ।
खानीगाउँमा खाना खाने गाडी स्टाफका कुरालाई धेरै यात्रुले मानेनन् । हामीले पनि अत्तेरिया पुगेपछि खाना खान उचित हुने कुरा राख्यौँ । अत्तेरिया ओर्लिंदा धनगढी जाने गाडी लागिरहेको थियो । विमानस्थल चोकमा ओर्लिएपछि रिक्सामा चढेर धनगढी विमानस्थल पुग्यौँ । धेरैबेर प्रतीक्षा गरेपछि प्लेन आयो ।
प्लेन उचालिएपछि मैले हिँडेको सुन्दर सुदूरपश्चिमका कुनै ठाउँहरू चिनिन्छन् कि भनेर उत्तरतिर आँखा उचालेँ । आफू कुहिरोको कागजस्तो आकासको कुन कुनामा हराएको छु थाहै थिएन तथापि मनमा जे छ आँखामा त्यही भनेझैँ प्लेनबाट देखिएका दृश्यहरूमा सुदूरपश्चिम पनि मिसिएर आयो ।
सुदूरपश्चिम र मध्यपश्चिम जस्ता विकट र दुर्गम भूगोलदेखि अनभिज्ञ रहेर नेपाल कसरी चिनिन्छ र ? नेपाल चिन्न त नेपालका विकट भूगोलका गाउँबस्तीका गोरेटा थाहा पाउनुपर्छ । कठिनता बढाएपछि प्रकृतिले बुद्धि पनि बढाएको छ त्यहाँ जिउनेहरूको । उनीहरूकै बुद्धि विवेकको प्रयोगबाट ती भूगोलका रेखाहरूलाई एकापसमा जोड्नुपर्छ । मेरा यी सोचाइहरू प्लेनमा उड्दाका उडन्ते कल्पना मात्र थिए वा स्वदेश प्रेमका भाव । मैले भेउ पाउन सकेको थिइन ।
चीरपरिचित डाँडापाखा र नदीनाला देखिन थालेपछि मन त्यतै बरालियो । काठमाडौं आइपुगेपछि भने मनमा एउटा दृढता अटल भएर ठडिएको छ- समय मिलेमा म फेरि कुनै दिन नेपालका सुदूर र दुर्गम भूगोल नियाल्न निस्कनेछु ।
आफ्नो मुलुकका भू-बनावटहरू हेर्ने तीब्र उत्कण्ठा छ मभित्र ।
प्रकाशित : मेरा पाइलाहरु, नियात्रा संग्रह, ०६८
