Skip to content


भित्तामासँगै झुण्डिइरहेको भित्तेपात्रो तस्वीरलाई भन्दै थियो – “तिम्रो जस्तो जिन्दगी नि के जिन्दगी। न कहिल्यै रूप फेर्नु छ न कहिल्यै फर्कनु छ। हामीलाई हेर हामी प्रत्येक महिना नयाँ-नयाँ रङ्ग रूपमा सजिएर बस्छौँ।”

तस्वीर चुपचाप नबोली चुपचाप रह्यो। उसको मौनता भित्ते पात्रोलाई गिज्याउँदै थियो – अझ उत्साहित हुँदै ऊ भन्दै थियो – “मानिसहरू पनि तिमीलाई कहिलेकाहीं मात्र हेर्ने गर्छन। मलाई हेर म मानिसहरूको सधैं काम आउँछु। हरेक दिनको जानकारी मैले गराउँछु, हरेक तिथिमिति मैले चिनाउँछु। तिम्रो काम त ढसमस्स बसिरहनु। पछाडि कति धुलो मैलो जम्मा भाको होला, कति माउसुलीले फोहोर गरेको होला।”

दिन बित्दै गए महिना बित्दै गए भित्ते पात्रोका सबै पानाहरू फर्किइसके भित्ते पात्रोको तस्वीरप्रतिको आफ्नो व्यवहारमा कुनै परिवर्तन गरेन।

भित्र-भित्रै चिढिए पनि तस्वीरले मनको अमिलो बाहिर पोखेन बरु सम्झाउँदै भन्यो – “हेर बाबु तिमीसँग संसारको अनुभव छैन। तिमी परिपक्व हुनै पाउँदैनौ, तिमीले संसार देखेकै छैनौ त्यसैले यस्तो भन्दैछौ। घमण्ड गर्नु ठिक होइन हरेकको आफ्नो महत्त्व हुन्छ र सबैले घमण्डको फल यो संसारमा अवश्य पाउँछन्।”

“भो तिमी नाथे फोहोरीले मलाई सम्झाउनु पर्दैन। मसँग मेरो आजसम्मको अनुभव नै काफि छ।” नाक खुम्च्याउँदै भित्ते पात्रोले तस्वीरलाई भन्न थाल्यो।

रात बित्यो भोलिपल्ट बिहानै घरमा नयाँ भित्ते पात्रोको आगमन भयो। भित्ताबाट कच्याक-कुचुक पारेर निकालिँदै गर्दा भित्ते पात्रोले क्षमायाचनाको भावमा तस्वीरलाई हेरिरह्यो।

२०७४ कार्तिक ७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *