सधैँ दुख्ने मनसँग के गुनासा गरौँ खै
सधैँ बग्ने आँसुसँग के दुखेसा गरौँ खै
डढेलोले खाक भएको वन जस्तो यो मन
वसन्त आई पल्लवित हुने के आशा गरौँ खै
कर्कलोको पानी जस्तो आफै छ अस्थिर यो मन
कोही आई बास बस्ने के भरोसा गरौँ खै
जिन्दगीका दुखाइमा थकित शरीर बास बस्दा
उडौँ कि बसौँ अन्यौल मनसँग के जिज्ञासा गरौँ खै
खुसी हुँदा चङ्गा बन्ने दुख्दा भेल बन्ने
यो मनको सागर तर्ने के अभिलासा गरौँ खै ?
प्रकाशित : बालुवाको मुठ्ठी, गीति कविता सङ्ग्रह, २०५७
2017-10-30 09:42:12 +0000
