Skip to content

मोबाइलबाट सुविधा

लघुकथाः मोबाइलबाट सुविधा
होम सुवेदी
बेला बेला मोबाइलमा उनी मुसुक्क पनि गर्थे र फटाफटी आफ्ना अम्ला चलाएर अर्को मुस्कानका लागि पर्खिएजस्तो गर्थे ! नजिकै बसेर उनकी पत्नी स्वेटर बुनिरहेकी थिइन् र उनका पतिको यो दशालाई निकै गम्भीर रुपमा हेरिरहेकी थिइन् । यो उनका पतिको नित्यकर्म जस्तै भएको थियो । उनी भन्दा पनि मोबाइल प्यारो हुन थालेको थियो । केही कुरा भन्न खोज्दा उनका पति यसो “हाँ हुँ !” मा टारिदिन्थे र ध्यान उही मोबाइलमा पुगाउँथे । कुनै बेला ता अलिक झर्कन्थे पनि । यसैले सविता अलिक होसियारीका साथ बोल्दथिन् । अहिले भने अलिक हिम्मत गरेर सेधिन् “कसका साथ कुरा चलिरहेका छन् हजुरका ?”
“कोसँग हुनु साथीहरुसँग नि ।”
“तिनीहरुसँग कुनै दिन भेटघाट पनि भा छ हजुरको ?”
“के हुनु हाउ भेट ।”
“अनि यति सारो तन्मय र हाँसोका साथ चलिरहेको छ त कुराकानी ? नचिनेकासँग यसरी हुनसक्छ र ?”
“किन नहुनु ? तिमीलाई के थाहा ? केही काम छ भने भन है फेरि म यता लागेर बित्ला नि काम ।”
“केही पनि काम छैन । सकें अघि नै । एक कुरा भन्नु त ?”
“के कुरा हो सोध न ?”
“अनि यहाँ हजुरका महिला साथीहरु पनि ता होलान् नि है ।” बडो साधारण र नजाने जसरी उनले सोधिन् ।
“छन् नि किन नहुनु । यसो गफगाफमै साथी भइन्छ । अनि अलिक नजिक हुन पुगिन्छ । एकापसमा चिनाजानी हुन्छ । यही छ फेसबुकको सुविधा !”
“मलाई पनि अब मोबाइल किनिदिनु न त !
“नकराउ न यहाँ कति मजाका कुरा चलिरहेका छन् । ध्यान नै यिनले कता पुगाइदिइन् । छि यो मान्छे पनि कस्ती छे भने नि………।”
“मेरो इच्छा पुरा गर्नुहुन्छ ?” फेरि सोधिन् ।
“के हो फेरि । पुगाएकै छु नि । भन के हो । के चाहियो ?”
“मलाई पनि मोबाइल किनेर ल्याइदिनू !”
“लु हुन्छ हुन्छ ल्याइदिन्छु । तर यसको तिमीलाई के काम ?”
“अरु काम के छ र मेरो । यसबाट च्याटिङ गरेर भए पनि मसँग अलिक खुलेर कुराकानी ता गर्नु हुन्छ होला नि मोबाइल भएपछि । त्यसै कारण ल्याइदिनु भनेकी !”
“हँ………….!”

2 thoughts on “मोबाइलबाट सुविधा”

  1. सुवास “दीप”

    सम्पादक ज्यु। यो कथा होम
    सम्पादक ज्यु। यो कथा होम सुवेदी भन्ने व्यक्तिको नभएर सुनिल गज्जाणी भन्ने व्यक्तिको कथा हो। कथा चोरीको यस्तो कु-कृत्यको बारेमा हजुरको के राय छ बुझ्न चाहेँ। मूल लेखकको कथाको लिङ्क यहाँ राखिदिएको छु।

    http://laghukatha.com/%E0%A4%87%E0%A4%9A%E0%A5%8D%E0%A4%9B%E0%A4%BE/

  2. सुवासजी, यो कथा होम सर आफैंले
    सुवासजी, यो कथा होम सर आफैंले पोस्ट गर्नुभएको हो र यस प्रश्नको उत्तर सायद होम सरले नै दिनुहुनेछ । प्रतिकृया र लिंकको लागि धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *