Skip to content

मैले फुल्नु छ

—होम सुवेदी
हामी देश विकासको चरणमा धेरै पछौटे भयौं
अर्काको घरमा गएर उसका धेरै भरौटे भयौं
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१।।

गैंती झम्पल हात हात सबले बोकी यतै लौ जुटौं
हामी देश र देशभक्तजनको सम्मानमा लौ उठौं
यौटा साँघु बनेर उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत बारी गहिरो जोतेर क्यै छर्नु छ ।।२।।

मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बिच्छ्याउनै पाइनँ ।।३।।

हाम्रा हात वलिष्ट छन् र अझ छन् हाम्रा कडा पाखुरा
हाम्रा पाउ हिंडेर नाघ्न सजिलै सक्छन् उचा टाकुरा
उब्जाऊँ यस देशकै जमिनमा ऊर्जा हजारौं गुना
यस्तो आत्मीय भावको सृजन होस् कोही नहोस् पाहुना ।।४।।

यो वाचा मुटुमा लिएर गहिरो खोलो अझै तर्नु छ
हाम्रो जन्म यतै भयो अनि बढ्यौं यो देशमै मर्नु छ
खाल्टा छन् अझ सम्म यो मुलुकमा खाल्टाहरू भर्नु छ
आस्था मूल्य र मान्यता जति सबै यो देशमै छर्नु छ ।।५।।

मैले फूल बनेर उम्रनु पर्यो डाँडा र पाखातिर
मैले श्वेद बनेर बग्नु छ अझै यो देशका खातिर ।।
मैले अमृत साथ ओर्लन अझै बाँकी छ छाँगातिर
मैले फुल्न अझै छ शेष रुखका नौलाख हाँगातिर ।।६।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *