Skip to content

यस्तै छ यहाँको रीत


बहुरुपीहरू फर्सेभुँडी हल्लाउँदै फेरि गाउँ पस्छन्
भोके भुँडीहरुले डकारेको कल्पिन थाल्छन्
झुपडीहरुले महल भइने सपना देख्न थाल्छन्
बस्त्रहीनहरू आफूलाई वस्त्रधारी गम्न थाल्छन्
चिप्लामुखेहरुले आस्वासनको पोको बाँड्छन्
बहुरुपीहरुले सपनाको पोकेपुन्तुरो खोल्छन्
अनि बदलामा मतको कोसेली फर्काउँछन्
फर्सीभुँडेहरू पुनः दमाहाभुँडे बन्छन्
ख्याउटे,झुपडे र बस्त्रहीनहरू अभावमै मर्छन्
भोगविलासी नेताहरू शूरा सुन्दरीमा मस्ती गर्छन्
यस्तै छ यहाँको रीत

सच्चा पीडित न्यायालयभित्र पस्यो
उसले पीडकसरी न्याय किन्न सकेन
सत्य रोयो,असत्य मुस्करायो
सेवाग्राही सेवालयभित्र पस्यो
उसको उचित काम थाँती राखियो
अर्काको अनुचित काम फत्ते गरियो
उचितले भेटी चढाउन तर्सियो
अनुचितबाट घुसे ढेवा बर्सियो
ठेलावाल भक्तलाई मन्दिरद्वारमा उभ्याइयो
गाडीवाल भक्तलाई मन्दिरभित्र पसाइयो
यहाँ भक्तिलाई पनि पैसाले किन्नुपर्छ
भेटिन्दातालाई पनि धर्मठेकेदारले तौलिनुपर्छ
दीन जेहेनदारले क्याम्पसमा प्रवेश पाएन
पैसावाल भुसगोलले नपाउने कुरै भएन
यहाँ शिक्षार्जनलाई पैसाले नाप्नुपर्छ
शिक्षालयलाई कमाई खाने भाँडो बनाउनुपर्छ
यस्तै छ यहाँको रीत

नेताका आफन्त आँखा पाक्दा अमेरिका लस्किन्छन्
लाचार जनता धामीझाँक्रीलाई कालोभाले पस्किन्छन्
कसैलाई सौभाग्यता,कसैलाई बाध्यता
लाशलाई भेंटीलेटरमा राखी पैसा असुलिन्छ
नत्र नर्सिंग होमको घोडा कसरी अगाडि दौडिन्छ ?
होटलमा सुरक्षाकर्मी छापा मार्छन
यौनकर्मीको कठालो समाएको नाटक गर्छन्
अनि कर्मी निस्कन्छ आफ्नै हाकिम
लाचार सुरक्षाकमीको सच्चा तालिम
ब्याभिचारी लोग्ने निश्छल स्वास्नीलाई शंका गर्छ
पतिब्रताको ढोंगी स्वास्नी नाठोसँग मस्ती गर्छे
प्रेमिका प्रेमीको पैसालाई प्रेम गर्छे
प्रेमी प्रेमिकालाई यौवनको लागि प्रेम गर्छ
यहाँ साधुलाई शूली चढाइन्छ
कामचोरलाई फुली लगाइन्छ
साधु चोर बन्छ, चोर पररक्षक
देवता दानव बन्छ, रक्षक भक्षक
यस्तै छ यहाँको रीत

यहाँ मोटाको बीचमा सुइँखुट्टे थिचिन्छ
महाजनको माझमा दीनजन मिचिन्छ
शक्तिशालीकोसामु लुखुरे र्लबराउँछ
अन्यायको अघि न्याय थर्थराउँछ
भोकाको भीडमा अघाएकोले डकार्छ
असुरक्षाको समीप सुरक्षा धर्मराउँछ
नीतिलाई अनैकिताले थुप्थुपाउँछ
असत्यको अगाडि सत्य डग्मगाउँछ
औंशीसँग पूर्णिमा डराउँछ
अशान्तिको अगाडि शान्ति मुर्झाउँछ
घङ्किरहेछ यहाँ बेथितिको गीत
यस्तै छ यहाँको रीत

इति

–राजेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *