जिन्दगीका अनेकौं रङ्गहरुले
तिम्रो मेरो जीवन पनि
रङ्गिन छ ।
न कि रङ्ग हिन !

तर तिमी मान्दैनौ
तिमी तिम्रो जीवनलाई मात्र रङ्गिन मान्छौ
मेरोलाई सादा !
म मेरो सादा जीवनमा पनि कालो र सेतो रङ्गहरू भेट्छु ।
अनि त्यसैलाई रङ्गिन सम्झिन्छु
तिम्रो जीवनमा यसै पनि धेरै रङ्गहरू छन्
रातो, निलो, हरीयो, पहेँलो
तिम्रो जीवन त्यसै रङ्गिन ।

मतभेद भने हुँदै हैन तर
विवाद केही कुरामा पक्कै छ !
म सादा कालों र सेतो !
तिमी रङ्गिन ।

तिमी सदावहार हरीयाली !
म उजाड पतझड ।
तिमी राम्रो !
म नराम्रो ।
म आधा !
तिमी पुरा ।

तिम्रो नजरमा अरु र !
ममा धेरै फरक!

अरुको सानो !
मेरो ठुलो “मन” ।

अरुको ठुलो अनि !
मेरो सानो “छाती” ।

तर म उल्टो !
अरु सबै सुल्टो ।

म भाँच्चेको !
अरु सग्लो ।
म खुम्चेको !
अरु फुकेको ।

म बाहेक सबै राम्रा !
म बाहेक सबै हसिला !
म बाहेक सबै फुर्तिला ।

तिम्रा लागि सबै मर्न तयार हुन्छन् तर !
म बाँचेर तिमीलाई बचाउन चाहने !

तिम्रो लाइनमा उभरिए सबै !
तिमी हाँस्दासँगै हाँस्छन्
तिमी रुँदा अरु पनि ।

सबै तिम्रो होमा हो मिलाउछन्
तिमीसँगै बसेर हार मिलाउछन् ।

मलाई लाग्छ सबै नाटक हो !
मलाई नाटक गर्न आउदैन ।
म कुनै कलाकार पनि हैन !
न त तिमी र ती अरु नै हुन् ।

तर !

तिमी र अरुलाई नाटक मन पर्छ ।
मलाई मन पर्दैन ।
तिमी दु:खी हुँदा अरु पनि दु:खी हुन्छन् ।
मलाई भने हाँस उठ्छ ! तर
हाँस्न आउदैन ।

यहाँ सबै तिमीलाई
पछ्याउनेहरू मात्र छन् ।
तिमीले जे गर्छौ
त्यस्को सिधा असर अरुलाई पर्छ ।

तर म अलि फरक छु !

तिमी हाँस्दा होस् या रुँदा !
आउदा होस् या जाँदा !
तिमी दु:खी हुँदा होस् या खुसी हुँदा !
ममा कुनै प्रतिक्रिया रहदैन ।

रहन्छ त केवल एउटै कुरा !

अरु तिमीलाई नक्कल गर्छन् ।

म तिमीलाई नियाल्छु
बस् !!!!!

पुस्कल पौडेल (—प्रतिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *