चलचित्रको अधबैंशे नायकलाई मस्किदै दाइ भन
पल्लाघरे ठिटौले दाइलाई ठुस्किदै अंकल भन
मज्जा नै बेग्लै छ हे उरन्ठेउला तरुनीहरू हो !
नजिकको तीर्थलाई हेला गर
बिरबले खिचडीमा आँखा तरी मर
ससुरालीघरको घ्यूभात हसुर
जन्मघरलाई धारे हातले सराप
अकडो सालोलाई सर्वबुद्धिमान दर्याऊ
सुईखुट्टे सालीलाई विश्वसुन्दरी ठहर्याऊ
मज्जा नै बेग्लै छ तिमी हुतिहारा घरज्वाईं !
नकचर्याइँको तक्मा गलामा सजाऊ
दिनभरि धूम्रपान र मद्यपानको विरुद्धमा कुर्ल
रात परेपछि टट्टी चुहाउँदै कान्छीको भट्टीतिर मुन्ट
मज्जा नै बेग्लै छ हे विद्वान सचेतकहरू !
हात्तीको देखाउने दाह्रा कागजमा लुकाऊ
तिम्रो चपाउने दाह्रा सिद्दान्तमा सुकाऊ
दिनमा सशुल्क सचेतनाको ढोल पिट
पर्दा पछाडि सिद्धान्तको वान्ता गर
घरकी श्रीमतीलाई परपुरुषसँग आँखा लगाऊ
आफू कार्यालयकी सेक्रेटरीसँग राशलीलामा रमाऊ
कहिले उसैको गाला चिमोट कहिले उसैलाई डेटिंगमा लैजाऊ
बेलुकी भएपछि साहिँलीको भट्टीमा छिर
अनि उसैलाई काखमा राखेर घाँटी तङ्काऊ
मज्जा नै बेग्लै छ तिमीलाई हे पत्नीब्रता हाकिम !
मोजमस्तीको रहस्य खल्तीमा लुकाऊ
नैतिकताको बिस्कुन घाममा सुकाऊ
खाडीको तातो घाममा खसमलाई पठाऊ
यता खसमको पसिना नाठोलाई पोसाऊ
आफू न्यास्रिएको नाटकीय समाचार खसमलाई पठाऊ
यता नाठोसँग मदिरा र डेटिङ्गमा रमाऊ
मज्जा नै बेग्लै छ हे पीडित पोईकी घृणित जोई !
पर्वाह नगर कृतघ्नताको
यता तिम्रो राशलीला जम्दै जाओस
के को मतलब ? उता पोईको खुन सुक्दै जाओस
हे आस्वासनको मात्रै भारी बोक्ने खच्चर जनताहरू हो !
नेताका शकुनी बाणीहरुमा लोभिएर जिब्रो फडकार्दै जाऊ
हे महामुर्ख जनताहरुका महाढाँट नेताहरू हो
चिप्लो भाषणमा जनतालाई लोभ्याएर भोट पड्काउँदै जाऊ
यहाँ मज्जा नै बेग्लै छ राजनीतिमा
जनताहरू आशै आशमा मर्दै जान्छन्
नेताहरू आफ्ना ढुकुटी भर्दै जान्छन्
यो मज्जा नै मज्जाको संसारमा
धामीलाई बोक्सी बकाउन ढ्याङ्रो ठोक्नमै मज्जा छ
भेनालाई ठट्टै ठट्टामा सालिको गाला टोक्नै मज्जा छ
लद्दू विद्यार्थीलाई चिट चोर्नमै मज्जा छ
कर्मचारीलाई काम चोर्नमै मज्जा छ
संगीतकारलाई धून चोर्नमै मज्जा छ
पुरोहितहरुलाई बिधि निमोठी टपरा सोहोर्नमै मज्जा छ
यो मज्जामय संसारमा मज्जा नै मज्जा छ
सासूलाई बुहारी कज्याउनमै मज्जा छ
बुहारीलाई सासू तड्पाउनमै मज्जा छ
यहाँ अघि बढ्नेको खुट्टा तान्नमै मज्जा छ
इमान्दार र कर्मठको धज्जी उडाउनमै मज्जा छ
अरुलाई रुवाई आफू हाँस्नमै मज्जा छ
निर्धाको बुई चढी थिचोमिचो गर्न नै परम मज्जा छ
इति
