काव्या !
तिम्रो र मेरो सहयात्रा
परिमार्जन हुने भयो अब
स्वीकार गरौ काव्या
समयले हामीलाई
न टाढा हुने बनायो
न नजिक बस्न दियो
हाम्रो यात्रा यसरी नै हुने भयो ।
तिम्रो र मेरो बीचमा
भौतिक दुरी अनिवार्य भएपछि
सँगैहात समाएर
गुलाब पार्क घुम्ने तिम्रो रहर
मुखौटो (मास्क) लगाएर हिंड्न परेपछि
छिनमै रिसाउने, छिनमै खुसाउने
तिम्रो चेपारे अनुहार
हेरेर मख्ख पर्ने मेरो रहर
समयले बलात् लपेटेपछि
क्या गज्जब हुने भयो काव्या !
हाम्रो यात्रा यसरी नै हुने भयो ।
तिमीले, मैले, हामी सबैले
मुखौटो लगाएर हिड्न परेपछि
केही त राम्रै पनि भा को छ नि !
तिमी हौ कि म हुँ ?
कसले चिन्छ हामीलाई
किन जानु पार्कमा
घुम्न टाढा यो बेला
बजार छिर्नै भएन
रेष्टुरेन्ट खुलेनन् ।
भेटौ बरू सडकमै
यहीं कतै चोकमै ।
समयले क्या बनाई दियो काव्या !
न टाढा हुने बनायो
न नजिक बस्न दियो
हाम्रो यात्रा यसरी नै हुने भयो ।
— अजित आचार्य,
व्यास -९, कलेस्ती, तनहुँ ।
हाल ललितपुर -१५, सातदोबाटो, ललितपुर ।
