प्राचीन मिथिला राज्य (त्रेतायुगीन)को राजधानी जनकपुरधाम रहेको र राजषिर् जनक त्यस पौराणिक राज्य मिथिलाका राजा रहेका र उक्त स्थान नेपालमा नै रहेको पुष्टि उपनिषद्कालीन विभिन्न महाकाव्यहरू- वाल्मीकिरचित रामायण, गोस्वामी तुलसीदासकृत रामचरित मानससमेतबाट भएको छ । राजर्षि जनक र उनकी सुपुत्री जगतजननी सीता नेपालका अग्रणी राष्ट्रिय विभूति रहेकोबाट समेत यो छर्लङ्ग हुन आउँछ तर मैथिली भाषासहितको विकासको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा हरिसिंहदेवको १३२४ ई. मा आगमनपश्चात् कर्णाट शासनकालमा मैथिली भाषा-साहित्यका विद्वान्, कवि, साहित्यकार आदिले पर्याप्त आदर प्राप्त गरेका थिए । तत्पश्चात् मल्लवंशका राजाहरूले सो क्रमलाई निरन्तरता दिने काम गरे । जसले गर्दा मल्लवंशको शासनकालमा मैथिली भाषा-साहित्यको विकास त्यस स्तरसम्म पुग्न गयो कि मैथिलीले नेपालको राजभाषा बन्ने गौरवसमेत प्राप्त गर्यो । डा. बालगोन्दि झा ‘व्यथित’ ले आफ्नो ‘मैथिली साहित्यिक इतिहास’ को पृष्ठ-११५ मा सोबारे आफ्ना अभिमत यसरी व्यक्त गरेका छन् ।
“(च) मल्लवंशक राजासम सेहो मैथिल विद्वान्, पण्डित, कवि, सङ्गीतज्ञ आदिकै सम्मानित करैत छलाह आ बसबाक हेतु पर्याप्त भूमि आ सम्पत्ति देलन्हि ।
(छ) मल्लवंशक शासनकालमे मैथिली नेपालक राजभाषा भए गेल तथा मैथिलीकेँ विकसित होयबाक अवसर भेटल ।
(झ) नाटक विषयवस्तु नेपाल आ मिथिलाक प्रचलित कथाक आधार पर लेल गेल ।”
कुनै भाषाले राजाश्रय प्राप्त गर्नुको अर्थ त्यस भाषाको विकसित स्वरूप हुनु हो । भातगाबुँका अन्तिम कणर्ाटवंशीय राजा श्याम सिंह देवपश्चात् मल्लवंशका अशोक मल्ल र तिनीपछि जयस्थिति मल्ल (१३९४ ईं.) सम्म भादगाउँ (भक्तपुर)का शासक रहेका थिए । त्यसबेलादेखि १७६८ ईं सम्म मल्ल राजाहरूका शासनकालमा मैथिली भाषा-साहित्यको जुन स्थिति रहेको थियो, त्यसलाई डा. दुर्गानाथ झा ‘श्रीश’ ले आफ्नो ‘मैथिली साहित्यिक इतिहास’ को पृष्ठ-१७१ मा निम्न शब्दमा उल्लेख गरेका छन् ः-
“… मैथिलीक श्रेष्ठ प्रतिभा एहि मल्लनरपतिक दरबारमे आबिकाव्य-साधना कएल करथि एवं ताही क्रममे मैथिली भाषा मल्लराज्यमे राजकीय भाषाक रूपमे सम्मानीय पद प्राप्त कए लेलक । तैं । तहिआ जे मैथिली काव्य-साहित्यिक प्रधान श्रोत अशोक मल्ल ओ जयस्थिति मल्लक दरबारमे प्रवाहित भेल, से हुनक उत्तराधिकारी लोकनिक राज्यदरबारमे १७६८ ई. धरि प्रवाहित होइत रहल । १७६८ ईं मे मल्लराजालोकनिकेँ पराजित कए पृथ्वीनारायण वर्त्तमान गोरखाराज्यक आधारशिला राखल ओ क्रमिक गोरखाली भाषाक महìव बढैत गेलैक ।”
मल्ल राजाहरू कतिका साहित्यानुरागी, कलाप्रेमी, काव्यानुरागी तथा नाटकपि्रय थिए, त्यस बारेमा डा. दुर्गानाथ झा ‘श्रीश’ ले अगाडि भनेका छन् कि जयस्थिति मल्लका सन्तान जययक्ष मल्लको १४९२ ईं मा मृत्यु भएपश्चात् मल्लराज्य तीन शाखाहरू भादगाउँ, बनिकपुर (बनेपा) र कान्तिपुर एवं पाटन (ललितपुर)मा विभाजित हुन गए पनि उनीहरू बीच पारस्परिक सम्पर्क ओ स्वस्थ प्रतिस्पर्धा यस्तो प्रबल रहेका थिए कि एक दरबारमा राम्रो कविता तथा नाटक रचेर त्यसको अभिमञ्चन हुन्थ्यो भने अर्को दरबारमा झन् त्यसलाई परिमार्जित रूपमा विद्वान्हरूबाट लेखाएर अभिमञ्जन गराउने गरिन्थ्यो । जसले गर्दा मैथिली साहित्यको विकासमा गति आउनुको साथै नाटकहरूको रचना पनि धेरै हुने गर्दथ्यो । त्यति मात्र होइन कि नरपतिहरूमध्ये सिद्धिनरसिंह मल्ल, सिंहभूपति मल्ल, श्रीनिवास मल्ल, भूपतिन्द्र मल्ल, जगज्योति मल्ल, जगतप्रकाश मल्ल आदि स्वयं पनि सुकवि थिए । सिंहभूपतिद्वारा विरचित एक पद्य यस्तो रहेको उल्लेख गरिएको छः-
“… बैसलि शयन समीप सुबदनि जतने समुखि न होए ।
भेल मानस बुलय दहो दिस देल मनमथ फोए ।”
भूपतिन्द्र मल्ल (१६९५-१७२२ ईं) को १०० गीत भएको एक सङ्ग्रहबारे सूर्यविक्रम ज्ञवालीले आफ्नो ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’मा उल्लेख गरेका छन् । त्यसमध्येका ‘हरिवन्दना’ का केही पङ्क्ति यस प्रकार छन्-
‘पीत वसन कुमित विराज, खगपति आसनविराज
शंक चक्र गदा पद्म बाहु सहास…
भूपतिन्द्र हरि गुण गाव ।
पद्युग सुन्दर हृदय विहाव ।। आदि ।
डा. दुर्गानाथ झा ‘श्रीश’ मैथिली साहित्यिक इतिहास, पृष्ठ (१७३) जगज्योति मल्ल (१६१३-१६३७ ईं.) को शासनकालमा उनीद्वारा रचिएका नाटकमध्ये ‘मुदितफुवलायाशव’ (१६२८), ‘हरगौरी विवाह’ (१६२९), ‘कुञ्जविहार नाटक’ आदि रहेका छन् ।
जगतप्रकाश मल्ल (१६३७ ईं-१६७२ ईं.) ले थुप्रै पद्य रचना गरेका छन् भने मैथिली भाषामा लेखिएका नाटकहरू- -१) ‘उषाहरण’, २. ‘नलीय नाटक (१६७०), ३. पारिजातहरण’, ४. ‘प्रभावतीहरण’ (१६५६) ५.’मलयगन्धिनी’, ६. ‘मूलशशिदेवोयाख्यान’ एवं ७. ‘मदनचरित’ रहेका छन् । यिनको कार्यकालमा मैथिली साहित्य-सङ्गीत उत्कर्ष सीमामा पुगिसकेको थियो । जसले गर्दा मध्ययुगीन इतिहासमा उनी ‘गन्धर्वविद्या गुरु’ एवं ‘कवीन्द्र’ नामले प्रख्यात थिए ।
कवि सिद्धिनरसिंह मल्ल (१६२०-५७ ईं.) को काव्यिक प्रतिभाबारे उनीद्वारा गरिएको विरहिणी नायिकाको विलक्षण वर्णनको निम्न पद्यबाट स्पष्ट हुन्छः-
“विष सेमार पवनासन हारे । पावक सम धनि मान तुषारे ।
नोरहिं काजर बहिर बहिर परइ । ससिँ बसि मसि खञ्जन जनि वमइ ।।”
प्रताप मल्ल (१६४१-७४ ई.) यिनी कवीन्द्र उपाधिबाट प्रख्यात थिए । यिनी बहुभाषाविद् एवं बहुलिपिज्ञाता थिए । यिनका पदावलीहरूमध्ये- ”गीत-प्रतापमल्लीयम्”, “गीता गोविन्दम् प्रतापमल्लस्य” र “प्रताप मल्ल विरचित गीतम्” आदि राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका छन् ।
श्रीनिवास मल्ल -१६५७-८५ ई.)- कविसिद्धिनर सिंहका छोरा श्री निवास मल्लसमेत सुकवि थिए । यिनीद्वारा विरचित एक पद्यका पङ्क्ति द्रष्टव्य छन्-
“उपमिअ आनन नीरज पंकज ससधर दिवस मलीने ।
भौंह अनुपम अधर सोहाओन, नवपल्लव रुचि जीने ।।”
नृपमल्लदेवः- यिनको एउटा विलक्षण पद ‘भाषागीत सङ्ग्रह’ मा विशुद्ध मैथिली भाषामा यस प्रकार रहेको छः-
“मल्लदेव नृप कैतव वचन सुनि तोंहें दुति दुरगति जाती ।
ऐसनि प्रीति कैसे विघटावह दुहु दिसँ दोगुन माती ।”
रणजित मल्ल (१७२२-७१ ई.) – यिनी भक्तपुरका अन्तिम राजा थिए । यिनलाई पराजित गरेर पृथ्वीनारायण शाहले गोरखा राज्यको स्थापना गरेका थिए । यिनकै समयमा मैथिली भाषामा नाटकको सर्वाधिक रचना भएको थियो । नेपालको एकीकरणपश्चात् नेपालीभाषा राजकाजको भाषा बन्न पुग्यो र अन्य भाषाहरू राज्यसंरक्षणबाट वञ्चित हुन पुगे ।
यसप्रकार मल्ल राजाहरूको शासनकालमा ११५ भन्दा बढी मैथिली भाषामा नाटकको रचना गरिएको थियो । नेपालको इतिहासमा मैथिली भाषा-साहित्य प्राचीनकालदेखि नै विकसित स्वरूपमा भएको प्रमाण मिल्दछ ।
