Skip to content

तनहुँमा १५६ औं मोती जयन्ती कार्यक्रम

  • by

१५६ औं मोतीजयन्तीको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च र विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँको संयुक्त आयोजनामा भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारी गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार बुद राना, प्रमुख वक्ता समालोचक, साहित्यकार, युवा वर्ष मोती पुरस्कारका बिजेता रमेश शुभेच्छुक रहनुभएको थियो।

भर्चुअल कार्यक्रममा देश तथा विदेशका विभिन्न स्थानहरुबाट दर्जन बढी साहित्यकारहरूको उपस्थितिरहेको थियो।

कवि पार्वती भट्ट (डडेलधुरा), कृष्ण देवी शर्मा (नवलपुर), तिला लेकाली (झापा), हरी पराजुली (झापा), विमला जोशी (दार्जलिङ), लक्ष्मीप्रसाद मिश्र (लमजुङ), दृष्टिविहीन कवि चिन बहादुर कुमाल (तनहुँ), लक्ष्मी तिम्सिना (तनहूँ), जुना खड्का (तनहुँ) लगायतका स्रष्टाहरुले रचना वाचन मार्फत युवाकवि मोतीराम भट्टलाई सम्झिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार बुद रानाले युवाकवि मोतीराम भट्टलाई देशले राष्ट्रिय विभूति घोषणा गरेता पनि त्यति कदर गर्न भने नसकेकोमा निराशा व्यक्त गर्नुभयो।

जीवनकालको सीमित अवधिमा धेरै काम गर्ने कविको रुपमा युवाकवि मोतीराम भट्टलाई चिनिने गरेको र त्यो कलिलो युवाअवस्थामा भानुभक्तलाई चिनाउँदै नेपाली भाषा साहित्यलाई दिएको योगदान उच्च रहेको धारणा राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख वक्ता, साहित्यकार रमेश शुभेच्छुकले ३० वर्षको कलिलो उमेरमा आफूमात्र नभई भानुभक्तलाई समेत परिचित गराउन मोतीराम भट्टले मद्दत गरेको विचार व्यक्त गर्नुभयो। अहिलेको पुस्ताले मोतीराम भट्टलाई गजलकारको रुपमा मात्र बुझेको तर उनको बहुआयमिक व्यक्तित्वलाई चिन्न नसकेको धारणा राख्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य विश्व नेपाली साहित्य प्रतिष्ठान तनहुँका सहसचिव जुना खड्काले गर्नुभएको थियो। कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहूँका अध्यक्ष, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चनका सचिव दिवाकर भट्टराईले गर्नुभएको थियो।

२०७८ भदौ २२/ तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *