Skip to content

मनमा छरिएको उज्यालो


‘बाइरोडको बाटोमा धुलो उडाउँदै … ‘ नौबिसेबाट भैँसेतिर हानिँदा कसैले सम्झ्यो नेपाली गीत ।

मुग्लिन नारायणगढ सडक खण्डको बन्द छल्न हेटौँडा निस्केर नवलपुर जाँदैथियौँ हामी ।

त्रिभुवन लोकपथ काठमाडौँ उपत्यका र तराई–मधेश जोड्ने नेपालको पहिलोसडक भए पनि पुरातन स्वरुपमै भेटियो । सडकसँग छोइएका गाउँबस्ती पनि गरिब र निर्धा नागरिकसरह देखिए । पातको साँघु हालेर गुजारा चलाएजस्तो देखिने गाउँले दिनचर्यामा कतै भेटिएन बाटोको डोबको प्रतिविम्ब । अकुत कुम्ल्याएर काठमाडौँमै सरेका धनी राजनेताहरू यो रेखामाथि गुड्छन् गुड्दैनन् ? यस्तै जिज्ञासाले मन पोल्दा आँखामा पनि झुल्किएन सुखद संयोग । फनफनी घुमिरहेका घुम्तीहरूमा पेट बटारिँदा गाउँको शीरपुछार कतै देखिएन खेतीपाती र पशुपालनको मनभुल्ने दृश्य । खोइ कसरी हेर्नु रातारात कसैले रित्तो बनाएजस्तो गाउँघर !

रित्तो गाउँघर हेरेर थाकेपछि मैले आफैलाई हेर्न खोजेँ । अस्तव्यस्त काठमाडौँले सुनसान गाउँलाई फर्केर हेर्न नसकेजस्तो भयो- आफ्नो अनुहार आफैलाई ।

आज सम्बत् २०७४ सालको फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवसको दिन । मुलुकमा दिवस मनाउने शैली सम्झेर फेरि बिग्रियो मन ।

निन्याउरो पहाडी अनुहार, डाँडाथुम्काको धमिलो छाया र तुँवालो लेसारिएको क्षितिज हेरेर टोलाइरहेँ म धेरैबेर । मौनतामा बोलिरहेथे दृश्यहरू । ती दृश्यसँग मुकभाषामै बोलिरहेथेँ म पनि । मौनतामा हुँदोरहेछ झन् बढी सम्वाद ।

थाक्रेगाउँ पुग्दा राधा र प्रज्ञाले एकैस्वरमा सोधे, ‘सेता फूल फुलेका बोट केका होलान् ?’

म बोल्न नपाउँदै छेवैको बहिनी बोल्नुभएथ्यो, ‘नास्पती ।’

आकास ताकिरहेका नास्पतीका लाँकुरामा वसन्त आगमनको आभास दिँदै छपक्कै लागिरहेथे सेता फूल ।

‘सबै ऋतुमा फुल्ने फूल त मान्छेको मुस्कान नै रहेछ ।’ फूल देखेर रमाइरहेका अनुहार हेरेर भनेथेँ मैले ।

‘तिमी आउने बाटोमा फूल रोपिदिएँ तिमी आइनौ, …।’ बुद्धको जन्मस्थान लुम्बिनी घुम्न निस्केका गायक डिजराज पौडेलले सुनाउनुभएथ्यो आफ्नो चर्चित गीत ।

टिस्टुङ गाउँ झुल्कियो । सल्लेरीको अङ्गालोमा आकास उचालिरहेका डाँडा हेरेर मन भुलाएथेँ ।

ससानो उपत्यका भएर फैलिएको पालुङ आइपुग्यो । मान्छे नभएको जस्तो बस्तीका रङरोगन खुइलिएका घरहरू बिझाए आँखामा । मनोरम पहाडी बस्तीको सुस्तगति चस्कियो छातीमा ।

सधैँ वसन्तले सुम्सुम्याइरहेका जस्ता यी गाउँपाखामा हेमन्ते सिरेटो डुलेको सम्झने परचक्री-मन मन परेन मलाई । आफ्नो मुलुकका सुन्दर गाउँघरमा घुमफिर गर्न छोडेर भोगविलासका खालमै रमाइरहने बुज्रुक-कर्म निको लागेन मलाई । स्वर्गजस्तो यो मुलुकमा कति दिन पर्खेर बस्ने परदेशीलाई ?

दामनको उकालोबाट फर्केर हेर्दा भित्तैभर देखिए हिमचुलीहरू । धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णा, मनास्लु, लाङटाङ, गणेश, गौरीशंकर आदिको लस्कर हेरेर अघाएन मन । हिमसाम्राज्यमा हिमचुलीको विवाह हेर्न लालायित भएँ म । तब, हिउँकै पहिरन र हिउँकै आभूषणमा सजिएका देखिए हिमचुलीका दुलाहादुलही । हिउँकै ध्वजापताका, हिउँकै स्वागतद्वार र हिउँकै विवाह मण्डपमा सिँगारिएको रहेछ दुलही आँगन । हिउँकै भोजभतेरमा रमाइरहेका भेटिए हरिया जन्ती पहाडहरू । सोच्छु, विवाहउत्सव हेरिरहेका मेघमण्डलले पनि आकास-लोकबाट बर्साउँदाहुन् हिउँकै फूलपात ।

रसिला पहाडहरूको लस्कर र हिउँका नवदम्पत्तिको यौवनउन्मत्त मुहार देखिनेगरी तस्वीर लिन तल्लीन थिएँ म पनि ।

उस्तै मोहक थियो लेकाली वनको सियाँल पोखिएको पाखो । सम्झिरहनेछु यो पहाडी बाटो, हरियो जङ्गल, नीलो आकास र रमाइला सहयात्रीहरू ।

‘शहरका साँघुरा गल्लीमा ओइलाएको जीवन यी लेकाली छायामुन्तिर कति बौरिँदो हो’, खर्सुङका गाढा हरिया रुखहरू हेर्दै भनेथेँ मैले ।

करिब पच्चीससय मिटर उचाइमा अग्लिएर हिमछायामा पुलकित भेटियो सिमभञ्ज्याङ । हिउँले ढाकिँदा कस्तो देखिँदो हो झन्, हिउँ खेल्ने पाखातिर आँखा लगाएँ मैले । र, एउटा चिसो स्पर्शले रोमाञ्चित भएँ ।

मनमा पसेको चिसोले भने पिरोलिएँ- हिमाल र जङ्गलको छायाले मात्र सिँगार्न सकेनछ कि सिमभञ्ज्याङलाई ? हिउँ पर्दा र गुराँस फुल्दा मात्र आउने बटुवाको मायाले पुगेनछ कि सिमभञ्ज्याङलाई ? शहरतिर सरेपछि बिर्सेछन् कि गाउँलेले सिमभञ्ज्याङलाई ?

आश्चर्यको अल्टिच्युडले झोक्राएथेँ म धेरैबेर । तुवाँलोले छेकेको क्षितिजजस्तो अँध्यारिएथ्यो मन ।

खानेकुरा खोज्दै पुगिएथ्यो एकजना बूढीआमैको पसलमा । रोटी, साग र चना खाइरहँदा दिग्दिगो लाग्यो छुट्टै गन्धको । बोसोमा पकाएको रहेछ चना । धेरैबेरसम्म छुटेन बोसोको दिग्दिगो । रिन र घिन बिर्सन गाह्रो हुन्छ भन्थे, साँच्चै रहेछ ।

बूढीआमैको व्यापार देखेर उदेक लागेथ्यो मलाई । कन्सिरीका रौँ र मनमा कुरा ठडिए पनि ती बूढीआमैको अनुहारको टिठलाग्दा मुजा हेरेर मरिचजस्तै चाउरिएथेँ म ।

सिमभञ्ज्याङ छोडिएपछि नागबेली बाटो हेर्दै जीवनका अनेक उकाली, ओराली र देउरालीमा निमग्न भएँ म ।

प्रियजनको साथ र सहयात्राले रम्य हुँदोरहेछ जीवनपथ । प्रेमको रथमा चढेपछि सास्तीका गल्छिडा, जोखिमका घुम्ती, भयका भीर र दोधारका चेपहरू पनि सहज हुँदारहेछन् । सुमधुर गीत गजलजस्तो लाग्दोरहेछ दिनचर्या । खुसी, उमङ्ग र रोमाञ्चक हुँदोरहेछ जीवनपथ ।

मेरा अनुभूति मसँगै हिडिरहेछन् खुसीखुसी । त्यसैले त लाग्छ, यो यात्रा र समय सुस्तरी बहोस् ।

‘हाम्रो यात्रा अविराम छ, जीवनभन्दा पनि अनन्त र निरन्तर ।’ जीवनसाथीतिर फर्केथेँ म ।

‘यो यात्रा सधैँ बनोस्- सहयात्राको साथजस्तो, वेग हान्ने पङ्खजस्तो ।’ जीवनसाथीको समर्थन सुनेथेँ मैले ।

‘सारथी साथै भएपछि समयको पर्वाह छैन मलाई ।’ उनको हातमा हात राखेर भनेथेँ मैले ।

‘उमङ्गका पलहरूले बनिरहेछ जीवन सुन्दर ।’ मेरो छातीमा टाउको टेकाउँदै सुस्तरी बोलिथिन् उनी ।

‘दुःखमा बितेका लामालामा वर्षभन्दा खुसीमा रमेका एकाध पलप्रति अगाध माया र सम्झना छ मेरो पनि ।’ अनायासै उनको मुलायम कपालमा छिरेथे मेरा हातका औँलाहरू ।

प्रेमालापमा लठि्ठएको थियो हाम्रो मन । समर्पणमा चुर्लुम्म थिए हाम्रा नयन । एकाकार भएर सुनेथ्यौँ हामीले मनको आवाज ।

घाम, पानी र बादलको स्नेहिलो स्पर्श छ लेकाली वनभित्र । शीतल छायामा छोइएको दृश्य खेलिरहेछ मनभित्र । हो, यस्तै यात्रामा रमाएर युग बिताउने चाह छ मलाई पनि ।

भर्खरै आलु रोपेका बारीमा डुलाएँ नजर । नजरको ऐनामा हेर्न खोजेँ किसान र उसका मिहिन सपनाहरू । विस्तारित आँखामा कहाँबाट आयो एकमुठ्ठी छारो । आँसुले धमिलिए आँखा । त्यही धमिलोमा खजमजियो किसानको आलुबारी र उसको सपना । म अन्योलमै रहेँ, किसानबाहेक अरू कसैले देख्दो हो कि उसका सुन्दर सपनाहरू ? यो माटोमा फुलेको उसको सपना अरू कसैले चोरेको त छैन ?

दक्षिण मोहडाको पहाडी पाखोमा गुडिरहँदा गर्मीले बनाएथ्यो उकुसमुकुस । अनि त घरिघरि झ्याल खोलेर चिसो हावा हुल्नुभएथ्यो डिजराजजीले । चिसो हावामा कावा खाँदै बहकिएथ्यो चञ्चले मन ।

रानीभञ्ज्याङको मोडमा पानीअमलाका गाँज नभेटे पनि पहरोको विशाल छाती रसाएर मेटाइदिएथ्यो मेरो प्यास । शरीर थाके पनि रोमरोममा व्युँतिएथ्यो प्रेमिल स्पर्श । कान घाटि्टए पनि मनमा छिरेथ्यो मायालु धुन ।

तब, चिर्बिरे चरीको सुरिलो स्वर सुनियो । भरिला रुखको हरियो सियाँल भेटियो । अटल पहाडको आत्मीय उच्छवास छोइयो । वनेली यात्राको स्वर्गीय आनन्द भोगियो ।

बाघमाराको जङ्गलमा केटाकेटीले देखाए गुराँसका चहकिला थुङ्गा । राधा र प्रज्ञाले किनेथे केही थुङ्गा गुराँस ।

‘मेरो यौटा सानो उपहार हजुरलाई ।’ राधाले मेरो हातमा थमाइन् एकथुङ्गा गुराँस ।

‘योभन्दा सुन्दर उपहार अरू हुनसक्दैन मेरा लागि, मप्रतिको प्रेम मात्र होइन, देश प्रेमसमेत छ तिम्रो उपहारमा ।’ हाँसेथेँ म ।

तराई झर्न लागेको पहाडको थुम्क्याइलो अनुहार हेरेर रमाएँ एकछिन । कालीटारको मलिन अनुहारसँग विरक्तिने मन थिएन मलाई । ढुङ्गेनी बाटोका घुम्तीहरूमा अल्मलिन मन थिएन मलाई । समयको खिया लागेका भैँसेका पुराना दाँत हेरेर उदेक मान्ने फुर्सद थिएन मलाई ।

महाभारत र चुरेको अङ्गालोमा फैलिएको तराई–मधेशको आँगन टेकिएपछि भने घरको सम्झना बढेर आयो ।

बाको बोली पुनरावृत्त भइरहृयो हृदयमा- ‘कि जागिर छोड, नत्र काठमाडौँ छोड, … ।’

करिब तीनदशकदेखि अन्तकतै नहेरी जागिरलाई पछ्याइरहेको छु मैले । जागिर पछाडि नफर्की कुदेको कुद्यै छ । घरपरिवार, इष्टमित्र, साथीभाइ, शुभचिन्तक सबैसँग बिरानो बनायो यही जागिरले । मलाई थाहा छ, बाको जीवनको उत्तरार्धमा बासँगै बस्न नदिने पनि यही जागिर हो । फेरि सम्झन्छु, यही जागिरले जीवनयापनको उपाय सुझायो । यसैले समय, पात्र, परिस्थिति र मुलुक चिनायो । पछाडि नफर्की एकोहोरो हिँडेर आएको यो बाटो लत्याएर फेरि अर्को कुन बाटो खोजुँ ?

धर्मसंकटको चेपुवामा पिल्सिँदै बाआमाको वृद्ध अनुहार सम्झेथेँ र मनमनै भनेथेँ मैले- ‘कुनैदिन बाको वचन गल लाग्नसक्छ मलाई ।’

भञ्ज्याङ नाघेर आएको बाटो गन्तब्यतिर सोझिए पनि डाँडामाथि पुगेको घामले पोखिरहेथ्यो मनै उदास बनाउने पहेँलो प्रकाश ।

बाको जस्तो मलिन सूर्य-मुहार देखेर भक्कानिएथेँ म । मन दुखेथ्यो टार्न नसकिने अनेक सांसारिक यथार्थ सम्झेर । आशाको मसिनो डोरीमा झुण्डिएर सोधेथेँ आफैसँग- ‘कतिञ्जेल पर्खला डुब्न लागेको घामले ?’

सन्ध्याले मुख बाएको विशाल आकासमा हराउँदै जानलाग्यो- डाँडाथुम्का र रुखपातमा परेको घामको पहेँलो प्रकाश । मैले आँखा चिम्लेँ । रातको सङ्घारमा उभिएको मनले चित्कार गर्यो ।

मनलाई सम्झाउँदै भनेथेँ मैले– ‘मेरो मनबाट कहिल्यै मेटिने छैन त्यो घामको सुनौलो आभा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *