Skip to content


आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन।
“कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ।
“ थाकेको थियो, बिचरा सुतिसक्यो होला”
मनमनै बोल्दै खाटमा गइन् र सिरक तानेर जिउ छोपेर खाटमा ढलिन्। उत्तानो परेर माथि मिलाएर राखेको काठको दलिन हेर्दे मनमा कुरा खेलाउन थालिन्।
३ बर्ष अगाडि बुबाले मेजर संग उनको बिहे गरिदिने कुरा सुन्दा उनि फुरुक्क परेकि थिई।
“ मेजर त चालिस नाघिसकेको छ रे नि त? फेरि राँडो मान्छे रे!”
पँधेरामा गाग्रि भर्दा भर्दा मुखिनि बज्यैको कुरा सुनेर उनको अठार बर्षे मनमा नमिठो प्रहार भएको उनले अनुभव गरेकि थिइन्।
“ मलाई के थाहा त? बा ले जाँ दिन्छन त्यइँ जान्छु, मुखिनि बज्यैलाई के को चासो” यति भन्दै पित्तले गाग्रिबाट चुलिएको पानी अलिकता पोखेर गाग्रि कम्मरमा बोक्दै ऊनि घर तिर लागेकि थिइन्। मेजरलाई उनले बिहाको दिन मात्र देखेकि थिइन्। अग्लो जिउमा नसुहाउने अलिकता पुट्ट उठेको भुँडि, र डरलाग्दो जुङ्गा उनलाई मन परेको थिएन तर पनि ऊनि खुसि थिइन्।
“ नौ पढ्दा पढ्दा छाडेकि हामि जस्तो गरिपको छोरिलाई मेजर माग्न आ’ छन् गाँठे!”
बुबा खुसिले फुरुङ्ग हुनुभएको ऊनले प्रत्यक्ष देखेकि थिइन् र आमाले बिधुर भए पनि मान्छे राम्रो र ठुलो पहुँच भएकोले भविश्य राम्रो हुने आश्वासन दिएएछि, ऊनि पनि रोमान्चित हुन थालेकि थिइन्। बिहाको लगत्तै मेजरले ऊनलाई चिसापानी ब्यारेकमा ल्याएको थियो। दिनभरि क्वार्टरमा बस्नु र वरिपरि यसो टहलिनु उनको काम थियो। क्वार्टर बाट बाहिर निस्केको बेलामा ऊनले प्राय: सधैँ एकजना रिकुटेलाई देख्थी, जसले उसलाई देख्ने बित्तिकै सलाम ठोक्थ्यो र केहि नबोलि आफ्नो काम गर्न थाल्थ्यो।

बिरे मेजरको क्वार्टर नजिकै एउटा सानो कटेरामा बस्थ्यो। ऊ, मेजरहरुको क्वार्टरमा काम गर्न खटिएको थियो। हृष्टपुस्ट शरिर र हँसिलो मुहार अनि मेशिन जस्तो काम गर्न सक्ने बल्; बस यहि थियो बिरेको परिचय! सुदूर पश्चिमको दार्चुलाबाट जागिर खाने आशामा सेनामा भर्ति भएको थियो। तालिम चलुन्जेल त उसलाई सेनाको काम देखेर रमाईलो लाग्थ्यो, तर पछि पोस्टिङमा ठुला अफिसरहरुको घरायसि काम गर्नु परेकोले उसलाई कहिलेकाहिँ बेकार जागिर खाएको जस्तो पनि लाग्दथ्यो, तर बुढि आमा र सानो भाई सम्झेर ल्याउँदा, गर्नु पर्ने काम र कमाईसंग ऊ एक प्रकारले सन्तुष्ट नै थियो।
पहिला पहिला त मेजरनीलाई रात बितेको पत्तै हुँदैनथ्यो तर केहि समय भयो, ऊनलाई रात सम्झ्यो कि दिग्बिग् लागेर आउन थालेको थियो। मेजरको भुँडिले ऊनलाई उकुस-मुकुस बनाउँथ्यो र मुहारमा जुङ्गाले घोच्ने बित्तिकै कुहिएको सिनो जस्तो रक्सि मिसिएको मेजरको सासको गन्ध ऊनको नाकमा छिर्थ्यो! यो दुर्गन्ध र थिचाई बाट त उसले केहि पलमै मुक्ति पाउँथि तर लगत्तै कुनै मिल चलेको जस्तो आवाज गर्दै मेजर घुर्न थाल्दा उसको आँखा ट्वाल्ल हुन्थे; अहिले जस्तै दलिन नियाल्दै!
त्यसैले दिनमा मेजर गएको बेलामा एकछिन आनन्दले सुत्नु ऊनको नियम बनिसकेको थियो। मेजरले कहिलेकाहिँ उसलाई खाना खान मान्छे नै मान्छे भएको ठुलो कोठामा लाने गरेको थियो। ऊनले अनुभव गरेकि थिइन् कि कुनै नयाँ; शायद ठुलाबडा अफिसर ब्यारेकमा आएको बेलामा मात्र मेजरले ऊनलाई आफू संगै खाना खान लैजाने गरेको थियो।
जानुभन्दा पहिला नै मेजरले “ केहि बोल्नु पर्देन, मुसुक्क हाँसि हाँसि खाना खानु” भन्ने गर्थ्यो। १०-१५ जना मान्छेहरु र ५-६ जाना अर्धबैँशे आइमाईहरु टेबुल वरिपरि बसेका हुन्थे र मेजरनिलाई सबैले क्वारक्वार्ति हेरेको जस्तो लाग्थ्यो। यस्तो जमघटमा जाँदा जहिले पनि मेजरनीको भोक हराउँथ्यो र चुरोटको कुहिरिमण्डल धुवाँमा निसास्सिएर साह्रै अप्ठ्यारो अनुभव गर्ने गर्दथिन् तर मेजरलाई यो कुरा भन्ने हिम्मत भने थिएन ऊनको। फर्कँने बेला सम्म मेजर रक्सिको नशामा मातिसकेको हुन्थ्यो र यस्तो समयमा घर पुगेपछि आइलाग्ने शारिरिक व्यथाले मेजरनीको आँङ जिरिङ्ग हुन्थ्यो।
*****

बाहिर मोटर रोकिएको आवाजले मेजरनीको तन्द्रा भंग भयो। एकपटक मुख नमिठो बनाइन्, उठिन् र अस्त्यव्यस्त लुगा मिलाउँदै आंङ तन्काईन्। यत्तिकैमा मेजर भित्र छिर्र्यो, मेजरनी बलजफती मुस्कुराईन्। रक्सिको ह्वास्स गन्ध आयो! मेजरनीको मुखमा एक पललाई निस्केको मुस्कान तुरन्तै मेटियो। मेजर केहि नबोलि लुगा खोल्न थाल्यो। लुगा खोलेर ओछयानमा थ्याच्च बस्यो र बोल्यो-
“ पानी ले?”
मेजरनीले नजिकै टेबुलमा राखेको जगबाट गिलाँसमा पानी हालिदिइन् र मेजरलाई दिइन्। घुटुक घुटुक को आवाज निकाल्दै मेजरले गिलाँस रित्त्याउँदा मेजरनि भावबिहिन आँखाले मेजरलाई हेरिरहेकि थिईन्। पानी खाइसकेर गिलाँस मेजरनीलाई दियो। एकपटक साँढे डुक्रेको जसरि ठुलो डकार निकाल्यो, ओछ्छयानमा लम्सपार पर्यो र आँखामा कुनै शिकारिको जस्तो भाव ल्याउँदै मेजरनी तिर हेरेर बोल्यो-
“ आइज!”
भावबिहिन् मेजरनी, फगत अगाडि बढिन्।
सधैँ झैँ, मेजरनीले केवल भित्तेघडिको एकनासको उराठ् ट्वाक् ट्वाक् आवाज मात्र याद गरिन्।
*****

मद्यान्न बेला थियो। मेजर हिँडेपछि भर्खरै झुपुक्क निदाएको मात्र थिइन्, ठ्याक्..ठ्याक् को आवाजले मेजरनीको नीँद्रा भङ्ग भयो। बिउँझिइन् र बिउँझना साथ घडि हेरिन्। १२ बज्न लागेको थियो। जुरुक्क उठिन् र ढोका खोलेर बाहिर हेरिन्। बिरे सुकिलो सेतो गन्जि लाएर, आधि झुकेर दाउरा चिर्दै थियो। बटारिएका पिँडुल्लाले बलियो संग उसको जिउ थामेको थियो र उसका दुबै हात बन्चरो समातेर पटक पटक मच्चिएर माथि र तल गएको मेजरनी एकटकले हेर्दै थिइन्।
“ बिचरा! कति दुख गर्छ सधैँ!”
मेजरनीको मन सहानुभुतिले भरियो। उसो त बिगत केहि हप्ता देखि ऊनले बिरेको दैनिक काम नियाल्दै आएकि थिइन्। बिहानै उठेर सेतो र कालो रंगले रंगाईएको रुखहरुको फेदमा छरिएका पातहरु बडारेर सफा बनाउँथ्यो, दाऊरा चिर्थ्यो र दाऊरालाई खात लगाएर राख्थ्यो। अनि नजिकैको धारामा हात मुख र खुट्टा पखाल्थ्यो, र १-२ घन्टा हराउँथ्यो, शायद मेसमा खाना खान जान्थ्यो होला। त्यसपछि युनिफर्म लाएर २-३ घन्टा तालिममा जान्थ्यो र फर्केर फेरि बगैचामा काम गर्न थाल्थ्यो। झमक्क रात नपरे सम्म केहि न केहि गरिरहन्थ्यो। ऊ एकटकले बिरेले दाउरा चिरेको हेर्दै थिइ बरन्डाबाट। बिरे एकछिन सुस्तायो, पुलुक्क मेजरनि तिर हेर्यो र सलाम ठोक्यो। आँखा चार भए एकपलको लागि। आँखा त धेरै पटक जुधेका थिए पहिले पनि, तर यसपालि अनायासै मेजरनीको ओठमा मुसुक्क हाँसो फुस्कियो। बिरे अलिकता आत्तियो तर तुरन्त ऊ पनि मुसुक्क हाँस्यो र तत्काल अर्को तिर हेर्न थाल्यो।
“ केटा मान्छे भएर नि कस्तो लजाउने रहेछ”
मेजरनिले मनमनै भन्दै बिरेलाई हेरेर फेरि मिठो हाँसो ओठमा ल्याईन् र भित्र गईन्। भित्र भित्तामा मेजरको फोटो देखेर ऊनको हाँसो त्यसै धमिलियो! भान्सामा गएर एक गिलाँस चिसो पानी पिइन्, रेडियो खोलेर कुर्सिमा ढल्केर बसिन् र आँखा चिम्लिइन्। बिरेले सेतो गन्जि लाएर दाउरा चिरेको झल्को अझै ऊनको आँखामा थियो।
“ दार्चुला देखि आएको रे बिचरा! सधैँ काम गरेको गर्यै गर्छ!”
मेजरनीको मनमनै बोलिन् र एकछिन अगाडि बन्चरोले दाऊरालाई दुई फक्ल्याँटो पारेको सम्झिइन्। कता कता मेजरनीलाई पानी परेपछिको माटोको गन्ध आयो! मेजरनी अचम्ममा परिन्; बाहिर टन्टलापूर घाम लाग्दैथियो!
*****

भर्खर साँझ परेको थियो, र भर्खरै आज एघारौँ दिनमा कतै गएर मेजर फर्किएको थियो। मेजरनीलाई पिंजडाबाट छुटेपछि पुन: पिँजडामा राखिएको सुगाको जस्तो अनुभव भयो! मेजर खुसि थियो। आउनासाथ हतार हतार संगै ल्याएको सुटकेश खोल्यो र भन्यो-
“ हेर्…तँलाई धेरै महङ्गो सारि र सिक्रि ल्याइदिएको छु!”
सुटकेश बाट केहि सारिहरु निकाल्यो र एउटा सानो मखमलि डब्बा निकाल्दै दाँत देखाउँदै मेजरनि तिर हेरेर हाँस्यो।
“ जा यो सारि र सिक्रि लाएर आइज!”
मेजरनी तिर एउटा सारि र डब्बा दिँदै मेजर बोल्यो। मेजरनीले चुपचाप सारिको पोको र सिक्रिको डब्बा हातमा लिइन् र अर्को कोठातिर लागिन्। कोठामा पुगेर मेजरनिले सारिको पोको फुकाइन्। सारि धेरै नै मुलायम थियो। उसलाई धेरै नै मन पर्यो। एकछिन ऊनको ओठमा मिठो मुस्कान आयो। खुसि हुँदै पहिले लगाईराखेको धोति खोलेर सारि लगाईन्, डिब्बाबाट सिक्रि झिकेर घाँटिमा लगाईन् र एकपटक ऐना हेरेर फेरि मुस्कुराईन्।
“ कति बेर लाउँछेस?”
मेजरको धोक्रे स्वरले एकपल मेजरनी आत्तिइन्, हाँसो बिलायो र मेजर भएको कोठातिर लगिन्। मेजर मेजरनिलाई एकटकले हेरेको हेर्यै भयो र तत्काल बोल्यो-
“आज भोज छ, ढिलो भैसक्यो हिँड् जाउँ!”
मेजरनीले निर्विचार मेजरलाई हेर्दै सहमतिमा अलिकता टाउको हल्लाईन्।
****

घाम टाउको माथि पुगेको हुँदो हो। मेजर भर्खर गएको थियो। मेजरनी खै किन हो अलि खुसि थिइन्। मेजर जाने बित्तिकै मेजरनी हतार हतार बाथरुम भित्र छिरिन् र कुनै मन पर्ने गित गुन्गुनाउँदै नुहाउन थालिन्। नुहाउँदा नुहाउँदै निकै पटक आफैँलाई ऐनामा हेरिन् र कयौँ पटक त्यसै मुस्कुराईन्। निकै समय लगाएर नुहाएपछि हिजो मेजरले ल्याइदिएको सारि लगाईन्। सिक्रि हिजै डिब्बा भित्र राखेकि थिइन्, त्यो पनि निकालिन् र लगाईन्। सिक्रि लाउने बेलामा अनायाशै सारिको सप्को तल झर्यो। ऊनलाई मिठो अनुभव भयो। फेरि सप्को हालिन् र गुनगुनाउँदै आँखामा गाजल लगाउन थालिन्। सम्पूर्ण काम सकेर एक पटक धित मरुन्जेल आफैँलाई ऐनामा हेरिन्, बाहिर कोठामा आइन् र कुर्सिमा बसिन्।
बाहिर ठ्याक…ठ्याक को आवाज आयो। मेजरनीलाई फेरि पानी परेपछिको माटोको मिठो गन्ध आयो। फेरि ओठमा मधुरो हाँसो ल्याइन् र हतार हतार बाहिर बरन्डामा गइन्। बिरे भर्खर दाउरा चिर्न थालेको थियो। बरन्डामा मेजरनीलाई देख्ने बित्तिकै दाउरा चिर्न बन्चरो समातेको बिरेको हात अनायाशै जड् भयो। ऊ एकटकले मेजरनी तिर हेरेको हेर्यै भयो! मेजरनीको अनुरागपूर्ण नजर झन् बिरेको अनुहारबाट हट्न सकेन। अहिले सम्म देखेको सम्पूर्ण मुस्कानहरु मद्धे अहिलेको मेजरनीको मुस्कान बिरेलाई धेरै मिठो लाग्यो, धेरै आफ्नो लाग्यो; महाकालीको मिठो सुसाई जस्तै!
****

बिहान सखारै हुँदो हो। नेपालगंज जाने बस सेनाको चेकपोस्ट भन्दा अलि वर आएर फेरि रोकियो। साधारण घरेलु धोतिको सप्कोले टाउको आधि छोपेर मेजरनी एउटा सुटकेस बोकेर बस भित्र चढिन्। हतार हतार आँखा बसको अन्तिम सिटहरु तिर गयो। बिरे अघि नै चेकपोस्टमा बस चढिसकेको रहेछ। मेजरनीको मन ढुक्क भयो। खलाँसिले अगाडिको सिट देखाएर बस्ने इशारा गर्यो। मेजरनी सुटकेस छेउमा राखेर सिटमा बसिन्।

बिहानको ९ बजेको हुँदो हो। धम्बोजि चोकमा बस रोकियो। ओर्लने यात्रुहरु यता उता लागे। मेजरनी र बिरे आ‍-आफ्नो सुटकेश बोकेर सडकको छेउमा उभिए र एक अर्कालाई लुकेर हेरे। बिरे एकातिर लाग्यो। मेजरनी पछि पछि लाग्दै गइन्। उनिहरु नजिकैको होटलमा छिरे। बिहानको समय थियो। मान्छेहरु त्यति थिएनन्। एउटा टेबलमा गएर बिरे बस्यो, मेजरनी एकछिनपछि त्यहिँ आएर उसको सामुन्ने बसिन्। बिरेले खाना अर्डर गर्यो। खाना खाँदै गर्दा मेजर्नि बिच बिचमा टोलाउँथिन् र बिच बिच मै अत्यन्त खुसि देखिन्थिन्। निकै बेर भातलाई नियालेर हेरिन् र बिस्तारै दाल संग मुछेर मुखमा गाँस हालिन्, पुलुक्क बिरेलाई हेरिन् र आँखामा ज्योति ल्याउँदै भात निल्न थालिन्। आज बर्षौँ पछि मेजर्निलाई खाना खाएपछि अघाएको अनुभव भैरहेको थियो। खाना खाने बित्तिकै उनिहरु बाहिर निस्किए र सडको छेउमा राखेको रिक्सामा पहिला दुईवटै सुटकेस एकमाथि अर्को गरेर राखे र अप्ठ्यारो संग साँघुरो ठाउँमा दुबैजना बसे।
“ रुपैडिहा!”
बिरेले भन्यो।
“ पन्ध्र रुपियाँ लाग्छ हजुर”
रिक्सावाला बोल्यो।
“ हुन्छ जाउँ”
बिरे यति भन्दै मेजरनी तिर ढेपिएर बस्यो। मेजरनीलाई फेरि त्यहि पानी परेपछिको मिठो माटोको गन्ध आयो र आँखामा एक चमक आयो! रिक्सा चुईँ चुईँ गर्दै रुपैडिहा तिर हुइँकिँदै थियो।
(समाप्त)

Leave a Reply

Your email address will not be published. Required fields are marked *