पाठक जहिले पनि फरकपन र दमदार साहित्य चाहन्छ – शीतल गिरी

20180609_PeshalAcharya-Interview


१) अचेल के साधनामा व्यस्त हुनुहुन्छ ?

= नेपाली लोकवार्ता नेपालको सातौँ राष्ट्रिय सम्मेलन २०७४ साल असोज २२ गतेदेखि २९ गतेसम्म कपिलवस्तुको तौलिहवा, रूपन्देहीको बुटवल र नवलपरासीको त्रिवेणीधाममा आयोजना हुँदैछ । त्यहाँ प्रस्तुत गर्नको लागि “लोक विश्वासमा टुनामुना–मोहनी” विषयक कार्यपत्र तयार पारेँ । अब नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभागको अनुसन्धान “साङ्ख्य दर्शनदेखि सत्यहाङ्मापन्थसम्म: एक विहङ्गावलोकन” को अन्तिम खण्ड “जोसमनी सन्त–परम्परादेखि सत्यहामापन्थसम्म”मा जुटेको छु । संभवत अर्को वर्ष एउटा निबन्धसङ्ग्रह पनि पाठकमाझ ल्याउने विचार बनाएको हुँदा त्यसमा पनि समय दिँदैछु ।

२) बजारमा आख्यान र संस्मरणको शेरगुल खिलेको छ, यहाँ भने लोकवार्ता र निबन्ध विधामै व्यस्त हुनुहुन्छ किन होला ?

= पहिलो कुरा त म प्रचारको लागि लेख्दिनँ । यस वर्ष पौराणिक विषयमा लेखिएको आख्यानको पुस्तक “तपोधन” दसैँ अघिसम्म संभवत बजारमा आइपुग्छ । तपोधन पूराण र रामायण, महाभारतले बोलेजस्तै उपन्यास भने होइन । निश्चय नै पौरस्त्य साहित्यका धेरै सन्दर्भहरू छन् । उपन्यास कस्तोलाई भन्छन् भन्ने विषयमा निश्चित रूपको आफ्नो ज्ञान नभएको हुँदा यो कृति निबन्धजस्तो पनि लाग्न सक्छ कतिपयलाई । जता जति लम्ब्याए पनि हुने, छोट्याइदिए पनि कतै अङ्गभङ्ग नहुने विषयमा उपन्यास लेखेँ । तर पनि प्राचीन कुरा कोट्याउने प्रयास गर्दा जुन कुनै बाहाना वा कारण देखाएर यथार्थदेखि टाढा रहेर कोरा कल्पनाको भरमा साहित्य लेखन गरिनुहुन्न भन्ने कटुसत्य बुझेको हुँदा पालन गर्ने कोशिस गरेको छु । विश्वामित्र यथार्थ जगत्को वैज्ञानिक ऋषिहरूमध्ये एक हुन् । उनी यथार्थ संस्कृति परम्पराका स्रोत–पुरुष हुन् । उनले धरतीलाई स्वर्ग बनाउन चाहेका थिए । उनी देवजातिको एकाधिकार समाप्त गर्न चाहन्थे । यसकारण राजाहरू उनका विरोधी भए । स्वर्गको सुख भोगिरहेकाहरू विरोधी हुनु स्वभाविकै हो । सबैले स्वर्गको सुखप्राप्त गरून्, यो चाहन्नथे वशिष्ठ ।

हो, अहिले पनि देश र जनताको भलो चाहनखोज्ने एकाध राजनेतालाई वशिष्ठ स्वभाव भएकाहरू सबै मिलेर पाखा लगाउँदै छन्, यो सत्य हो । हिमालयको सुन्दर, शान्त र शीतल काखमा रहेको नेपाल हिमाली सभ्यता र संस्कृतिको केन्द्र हो र बहुजातीय एव म बहुभाषिक राष्ट्र हो । अनेकतामा एकताको यसै आदर्शअनुरूप यहीँको माटोको प्राचीन गाथा–भाका–चिन्तन आज पनि यो मुलुक फलाउन फुलाउन उपयोगी हुने विश्वास लिएर तपोधन कृति तयार गरेको हूँ । यस कार्यबाट नेपाली भाषा र साहित्यको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास ममा छ । नेपालको यथार्थ बुझ्न लोकले बाचई राखेको ज्ञान (सम्पत्ती) खोज्न लोकवार्ता भरपर्दो माध्यम हुनसक्ने हुँदा म लागेको हूँ । मेरा आफ्ना कुरा, विचार र भावना प्रष्टसँग निबन्धको माध्यमबाट सशक्त ढङ्गले व्यक्त गर्न मलाई सहज लाग्ने हुँदा बढी समय यसैमा खर्चिने गरेको छु, यो सत्य हो ।

३) वर्तमान नेपाली साहित्यलाई यहाँका सिर्जनात्मक आँखाले कसरी परख गरिरहेका छन् ?

= साहित्यले हामीलाई सभ्य बनाउँछ, जिन्दगी राम्रो हुन सक्छ भनी सिकाउँदछ । जिन्दगीमा जे हुनु पर्ने हो त्यसतर्फ इङ्गित गर्दछ । लक्ष्य भेट्टाउने आकांक्षा हामीभित्र जगाउँछ । हाम्रा पूर्वजको जीवन धेरै अप्ठ्यारो थियो । यस कुराको कल्पना वर्तमानमा साहित्यमा लेखिन्छ । हाम्रा पूर्वजहरूका सम्मुख एउटा अज्ञात र खतरै खतराले भरिएको संसार थियो । उनीहरूलाई आवश्यक भोजन, प्रकृतिको अप्ठ्यारोबाट रक्षा, सिकार र सम्भोग नै जीवन लागेको हुँदो हो । जीवन सपना, प्रसन्नता र कल्पनाको उडान, एउटा आन्दोलनकारी योजना बन्यो होला । जीवन जिउने लालसा, परिवर्तन गर्ने चाहना, राम्रो बनाउने इच्छाले महत्वाकांक्षा जन्मियो होला । वरपरका रहस्यहरूको भेदले फेन्टासी रचना गर्ने इच्छा जागृत भएको हुनुपर्छ ।

जब लेखन प्रारम्भ भयो त तब यो कहिल्यै नरोकिने प्रकृया अँझ समृद्ध भयो यानी साहित्यमा स्थायीत्व आयो । साहित्य मनोरञ्जनभन्दा धेरै कुरो हो, यो बौद्धिक कसरत मात्र होइन । यसले संवेदनालाई तिखार्छ र आलोचनालाई जागरूक बनाउँदछ । सभ्यताको अस्तित्व कायम राख्नको लागि साहित्यको एकदम आवश्यकता पर्दछ । हामीभित्र जुन सर्वोत्तम छ, त्यो बचाउन र सम्हाल्नको लागि साहित्य हुनु एकदम आवश्यक छ । किनभने पुनः हामी एकाङ्कीपनको पशुतातर्फ नफर्कियौं, जीवन विशेषज्ञहरूको प्रयोजन मुलुकमा खुम्चिएर नरहोस्, जहाँ वस्तुलाई एउटा खास कुनाबाट मात्र हेर्ने गरिन्छ । वातावरणमा त्यसको वरपर, अगाडि पछाडि जेजति हुन्छ उपेक्षापूर्वक छाड्ने गर्दछ । जुन मसिन मानिसको सुख सुविधाको लागि अविष्कृत गरिएको छ हामी त्यसको गुलाम बन्नु भएन । साहित्य नभएको संसार इच्छाविहीन, आदर्श नभएको अश्रद्धाको हुनेछ । रोबोटको संसार हुनेछ । साहित्यले हामीलाई गन्तव्यमा पुर्याउँछ । हामीलाई अरूसँग सम्पर्क गराउँदछ । यसले हाम्रो सपनालाई साकार गर्ने शक्ति दिन्छ । यसले हामीलाई डरलाग्दो, आलश्य र आत्मतल्लीनतामा डुब्नबाट बचाउँछ । कुनै अरू कुरोले हामीलाई यति व्याकुल बनाउँदैन, हाम्रो जीवनमा, हाम्रो कल्पनामा खल्बली ल्याउँदैन जति साहित्यले ल्याउँछ । साहित्यले जीवनमा मिथ्यालाई जोड्दछ जसका कारण हामी महान् रोमाञ्चक यात्राको नायक बन्दछौं, यसले हामीलाई त्यो महान् आवेग दिन्छ जुन वास्तविक जीवनमा हामीले कहिल्यै प्राप्त गर्न सक्दैनौं ।

४) जीवनमा लेखक नै हुन्छु भन्ने धोको थियो यहाँको ?

= जीवन बुझ्नु सहज छ जस्तो मलाई लाग्दैन । उमेर अनुसार जीवन प्रतिको चाहना फरक हुन्छ र समय र परिस्थितिले पनि असर पारेको हुन्छ । हो, किशोर अवस्थामा राम्रा पुस्तक पढदा यस्तै लेख्न सकूँ यस्तो भावना मनमा नपालाएको होइन । साथै नलेखेको पनि होइन । फगत् त्यो लहड थियो, हरायो र गयो । मनका कुरा अभिव्यक्त गर्न मानिसले माध्यम खोजिरहन्छ र मैले चित्रकलालाई अपनाएको थिएँ –युवावस्थामा । मैले बनाएका चित्रहरू अहिले मसँग नभए पनि केहीका घरमा र करिब २५भन्दा बढी चित्र गौरको कलाकुञ्ज पुस्तकालयमा अँझसम्म छ । रह्यो लेखक बन्ने कुरा संगत, साधनाले बन्न पुगेको हुँ । लेख्दै जाँदा केही फरक किसिमबाट लेख्ने गरेको कारणले पनि आजको यो अवस्थामा आइपुगेको हुँ । हा,े म अहिलेसम्म मञ्चमा सुनाउनको लागि कविता लेखिरहन्थे भने सायद् यो स्थान बनाउन सक्ने थिइनँ जुन आज छ । अध्ययन र लेखनमा साधना गरेको फल हो –यो । सबभन्दा ठूलो कुरो त अध्ययन गरेको कुरो पचाएर आफ्नो बनाएर लेख्न सक्ने सफल लेखक बन्दछन्, म त्यसतर्फ पाइला सार्ने प्रयत्न भर्खर गर्न थालेको छु ।

५) नेपाली साहित्य केकति कारणले नेपाली सीमा बाहिर निस्कन नसकेको हो ? विस्तारमा गएर बताइदिनुहोस् न ।

= नेपालमा नक्कल गर्ने प्रचलन हिजो पनि थियो र आज पनि छ । जबसम्म आफ्नो पन नेपाली साहित्यमा हुँदैन या लेखिँदैन तबसम्म विश्व बजारमा टाउको उठाउन सक्छ जस्तो मलाई लाग्दैन । हो, हामी यस कुरामा भने सारै गरिब छौं, हाम्रो आफ्नोपन भएको राम्रो साहित्य विदेशकाले सहजै बुझ्न र पाउन सक्ने गरी उपलब्ध गराउन भने सकेका छैनौं । यो हाम्रो कमजोरी पनि हो, यो कमजोरिको कारण मैले देखेअनुसार यस्तो रहेको छ ः १. हामी कहाँ सुसम्पन्न प्रकाशन गृहको अभाव छ । २. असल कृति चयनकर्ताको खडेरी छ । ३. हामीले विश्वव्यापी प्रचार÷प्रसार अभियान अहिलेसम्म चलाउन सकेका छैनौं । ४. इन्टरनेटमा राम्रो पहूँच असल कृतिले पाउन सकेको छैन । ५. सबभन्दा ठूलो कुरा त सुयोग्य अनुवादकको अभाव नै हो ।

६) राज्यको उपस्थिति भएका संस्थामा सिर्जनात्मक साहित्यिक गतिविधिहरू र गुणवत्ता किन कम भएका होलान् ?

= यसबारे बोल्नेभन्दा पनि धेरैले देखे भोगेका कुरा हुन् । हिजोको मापन र आजको मापन फरक छ । हिजो क्षमता भएकाहरूको उपस्थिति राज्यले चलाएको संस्थामा थियो । पञ्चायतलाई जतिसुकै गाली गरे पनि लाजगालले देखाउनकै लागि भने पनि योग्य व्यक्ति लगेका थिए, लैजान्थे । आजको स्थिति कोटा सिस्टम हो, भागबन्डा हो । यहाँ राम्रो हैन हाम्रो हेरिन्छ । गएकाहरू अधिकांशः गुणवत्ता नभएका छन् र उनीहरूले प्राज्ञिक अनुसन्धान गर्ने जिम्मेवारी पनि योग्यलाई नभएर भागवण्डाको आधारमा बाँडछन् भने त्यस ठाउँमा तपाईंले गुणवत्ता कसरी पाउन सक्नुहुन्छ ।

७) क्रोनिक रोगीझैँ भएका या सेतो हात्ती झैँ लाग्ने साझा र एकेडेमीहरू अब राज्यले पालेर कहिलेसम्म बस्ने होला ? कि तिनीहरूको विकल्पमा नयाँनयाँ सोच र कार्यक्रमसाथ अन्य संस्थाहरू अविर्भाव गराउने हो ?

= राज्यले पाल्नेभन्दा पनि भाषा साहित्य राज्यको गरिमा हो, गहना हो र गौरव हो । जहाँ राज्य चलाउनेले प्रत्येक्षअप्रत्यक्ष हस्तक्षेप गरेको हुँदैन त्यहाँको साहित्य विश्वसाहित्यको आँगनमा मुस्कुराइरहेको हामी पाउछौं । जहाँ राज्यले स्वेत आतङ्क लादेको हुन्छ त्यहाँ लेखिएको साहित्य पनि शीर ठाडो पारेर हाँक दिइरहेको देखिन्छ । नेपालको परिस्थीति भने फरक छ । स्थिर सरकारको अभावमा, चाकरीवाज नजराना चढाएर, पहूँचका आधारमा पुग्नाको परिणामको बारे तपाईं बोल्दै हुनुहुन्छ । अक्षरलाई माया गर्ने व्यक्तिहरूले छानेको व्यक्तिलाई सञ्चालन गर्न दिनुपर्छ, अहिले यस्तो हुनसकेको छैन । साझामा साहित्यकारहरूको विश्वासको मतको कदर गर्ने एक व्यक्ति डा.विजय सुब्बा देखिनु भएको छ, जसले भ्रष्टहरूको सातो लिँदै हुनुहुन्छ । यस्ता संस्थाहरूको आवश्यकता राज्यलाई छ, राज्यले गतिलो नीतिनियम बनाएर साहित्यकारहरूलाई सुम्पिनु पर्छ ।

८) अहिलेसम्म यहाँका केकति पुस्तकहरू प्रकाशित भए ? अब केके प्रकाशन गर्ने चाँजो मिलाउँदै हुनुहुन्छ ?

= अहिलेसम्मका मेरा प्रकाशित कृतिहरू ६ वटा छन् । ती कृतिहरू महाकाली (कवितासङ्ग्रह) २०४५, जनताकी छोरी (खण्डकाव्य) सहलेखन, पत्र मित्रता युगको आवश्यकता (निबन्धसङ्ग्रह) २०५५, प्रसङ्गबस् (निबन्धसङ्ग्रह) २०६३, बज्जि र बज्जिका (अनुसन्धानग्रन्थ) २०७०, भूमिकै भूमिकामा परशु प्रधान (सम्पादन) २०७१ हुन् । यस वर्ष तपोधन (उपन्यास) प्रकाशित हुन्छ । २०७५ सालमा वर्तमान नेपालको प्राग् इतिहासको खोजी गरिएको निबन्धसङ्ग्रह जीवाश्म, प्रकाशित गर्ने विचार बनाएको छु । त्यसपछि क्रमशः तथापि….. (निबन्धसङ्ग्रह), असंख्य बूँद ( निबन्धसङ्ग्रह), हराउन चाहन्छु (निबन्धसङ्ग्रह), बज्जि संस्कृतिमा लोरिकायन (समग्र तराईमा अतिलोकप्रिय तर हराउँदै गएको लोकमहाकाव्य लोरिकायनको अनुसन्धान)लाई प्राथमिकता दिने सोचमा छु ।

९) साहित्यमा यौनको उपस्थिति कस्तो हुनु पर्छ ? यहाँका कृतिमा चाहिँ यौनलाई कसरी प्रस्तुत गर्नुभएको छ ? अलि खुलेरै विस्तारमा बताइदिनुहोस् न ।

= साहित्यमा यौनको उपस्थिति लेखकले चाहेर राखिने कुरा होइन । यौन भनेको हाम्रो जीवन हो, प्रकृतिको नियम हो, सृष्टि हो र सिर्जना हो । यसलाई कसरी लिने अपनाउने कुरो यति मात्र हो । हामी हिन्दूहरूको शिव र शक्तिको प्रतिक शिवलिङ्ग समागम अवस्थाको प्रकृतिस्थ साधना हो । हामीले स्वीकारेकै छौ, पूजा गर्दै छौं, हाम्रो आस्था बन्न गएको छ । मन्दिरका टुँडालका कामकला धार्मिक र प्राचीन कलाको उत्कृष्ट नमुना हो, होइन भनेर कसले भन्न सक्छ । पूराणमा वर्णित यौनकथा पचाएकै छौं । समाजले मान्यता दिएको छ विवाह गरेर यौनिक क्रिया गर्न, यो सबैलाई थाहा छ त्यही कुरो मान्यता विपरित गरेमा समाजमा अमान्य हुन्छ । यौन मर्यादा हो र मर्यादाको नाममा अति गर्नु भएन । जेमा पनि अति राम्रो होइन । मर्यादा भनेको सीमा हो, सीमाभीत्र नेपाली साहित्यमा यौन नभित्रिएको होइन, भित्रिएकै छ । सीमा नाध्नु भएन, विकृत बनाउनु भएन यति कुरो ध्यानमा राखे पुग्छ । यौनले सामाजिक विकृति र पारिवारिक खतरा पनि लेराउँछ साथै यौनकुण्ठालाई दबाएर राख्नु पनि राम्रो कुरो होइन । मर्यादा र शालीनतापूर्वकको सम्बन्ध समाजले, धर्मले, कानूनले स्वीकारेको छ र छलकपटपूर्ण यौनसम्बन्ध राम्रो होइन यसले खतरा लेराउँछ । म, लेखक समाजको जिम्मेवार सदस्य हूँ, यो सत्य बुझेको छु, यसर्थ मर्यादाभित्र रहेर आफ्ना कृतिमा स्थान दिने गरेको छु ।

१०) राजधानी केन्द्रित कार्यक्रममा झुण्ड र समूहले एकर्कालाई नमान्ने र नपत्याउने महारोगलाई यहाँले कसरी लिनु भएको छ ?

= राजनीतिमा देखापरेको रोग साहित्यमा पनि सल्केको छ । राजधानीमा मात्र होइन यो रोग चारैतिर छ । झुण्ड र समूह बनाएर नयाँ कुरो भनी नाटक गर्ने जमात हाम्रै देशभित्र छ । तथ्य कुरो ल्याउन भनेर कसैले भन्छ भने, “नयाँ कुरो नपच्ने विदेशी दलाल” भनी हाल्छ । उदाहरणको लागि केही कुत्सित मन भएकाहरूले गजलको नाम परिवर्तन गर्न मरिहत्ये गरेका छन् । अब कुरो आउँछ उनीहरूले चाहेको “राग वीराग” त्यस्तो के कुरो छ जो गजलको मान्यताले विश्लेषण–मूल्याङ्कन गर्नमा अपर्याप्त छ । पुराना आधारले जब नयाँ वस्तुको विश्लेषण–मूल्याङ्कन गर्न सकिँदैन, पुराना आधार अपर्याप्त बन्दछ । तब भनाइमा नभएर बरू भन्ने गरेको वस्तुमा पनि परिवर्तन हुन्छ । यस्तो देखिनु र पाइनु भनेको केही स्वार्थी महारोगीको कारणले हो । पानीको फोकाझैँ बिलाएर जान्छ । यस्तैले हो सत्य देख्न नसक्ने र साहित्यमा गुट उपगुट समूह सिर्जना गर्न खोज्ने । तर कहिलेसम्म ? असत्य त टिक्न सक्दैन र टिक्दैन नै ।

११) जनयुद्ध अघि र जनयुद्ध पछिको साहित्यलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ? जनयुद्धको धरातललाई टेकेर इमान्दार भई लेखकहरूले कृति पस्किन सकेजस्तो लाग्छ त यहाँलाई ?

= कोही जनयुद्ध भन्छन्, कोही आतङ्क भन्छन् जे भए पनि १७ हजार नेपालीको ज्यान लिएको ‘फेन्टेसी युद्ध’ भन्न मिल्छ कि ? युद्ध प्रारम्भ गर्दाको सिद्धान्तलाई टेकेर केही चलाख नेताहरू नवधनाढ्य बनेको देख्न पाइएको छ । मजस्ता धेरै नेपालीको एकताका आसाको केन्द्रमा भने रहेको थियो र आफ्नो ठाउँबाट सहयोग नगरेको पनि होइन गरियो । स्वेच्छाले या करकापले सहयोग गर्ने धेरै छन् । यस्ता कुराहरू अँझसम्म आउनु पर्ने जति नेपाली साहित्यमा आइसकेको छैन । केही विरोधी खेमाकाले लेखेका छन्, केही युद्धमा लागेकाले लेखेका छन् लेख्नु पर्ने भनेको राज्य र माओवादीबाट पीडित समुदायको पीडा हो त्यो नेपाली साहित्यमा इमान्दारीसाथ आउन सकेको छैन । लेखकहरू अँझ पनि डराइरहेका छन्, विरोधीहरूलाई यातना दिने र मार्ने कार्य माओवादी नवधनाढ्यबाट रोकिएको छैन । जबसम्म लेखकले सुरक्षा महसुस गर्दैन तबसम्म साहित्यमा आउदैन, स्थिति अनुकूल बनेका बेला एकएक कुरा साहित्यमा अवश्य आउने छन् ।

१२) पुरस्कारका बारेमा चलेका हल्ला र सिण्डीकेटलाई यहाँले कसरी लिनु भएको छ ?

= जो यथार्थमा साहित्यकार हो, उसले आफ्नो धर्म बुझेको हुन्छ । उसमा भएको ऊर्जा र क्षमता अनुसार लेखिरहन्छ । पुरस्कारको पछि पर्दैन । तथाकथित संस्थाले वितरण गरेका पुरस्कारप्राप्त लेखक पनि देखिएकै छ । तिनीहरूको लेखकीय क्षमता पनि थाहा छ । त्यतिकै हल्ला चलेको होइन, हल्ला चलेको होइन, हल्लामा पनि केही न केही सत्यता हुन्छ । पुस्कार कसरी र कसले पायो, देखिएकै कुरा हो । यसबारे अरू केही नभनु ।

१३) ‘सर्जक भनेको भगवान् हो कतिपय मानिसहरू यसो पनि भन्छन्’ तर हाम्रा नेपाली सर्जकहरूको भित्री रूप (व्यक्तिगत जीवन) अध्ययन गर्ने हो भने घिनलाग्दा पनि देखिएका छन्, एउटा साहित्यकार किन दोहोरो मापदण्डको जीवन बाँच्छ ? के दोहोरो जीवन नबाँचे यहाँ बाँच्नै सकिन्नँ र ?

= जीवन र जगत्को सीर्जना गर्न सक्ने क्षमतावान् भएको भनी भगवान्लाई मान्ने गरिएको हो । खैर, दर्शनतर्फ नजाऊँ, सिर्जना गर्न सक्ने क्षमता सर्जकमा हुनुपर्दछ यसो भनौं सर्जकमा हुन्छ । यस आधारमा सर्जकलाई भगवान् भनिएको हुनुपर्छ, यो दृष्टिकोणको कुरा हो । लोक विश्वासमा भनिन्छ नि ‘भगवान् पनि दूधले नुहाएको हुँदैन’, मानवले मानेको भगवान्को चरित्र ठ्याक्कै मानवकै जस्तो छ भनेको त हो नि । वास्तविक सर्जकको स्वरूप दोहोरो चरित्रको नहुनु पर्ने हो, जो अरूको घरमा झ्यालबाट भित्र छिर्छ उसको घरको ढोका पनि खुलै रहन्छ । यस्तो पाइएको छ । यस्तो हुनु भनेको जीवनलाई बुझ्न नसक्नु नै हो, मलाई त्यस्तो लाग्छ । वास्तविक स्रष्टा समाजमा उदाहरण योग्य बन्नु पर्दछ । पाठकले चाहेको चरित्र भनेको त्यो हो ।

१४) अहिले नेपाली साहित्यको कुन विधा ओझेलमा परेको छ ? हल्ला गरे पनि कुनकुन विधाहरूलाई सर्जकले नै न्याय गर्न सकिरहेका छैनन् ? कृपया ‘स्वट् एनालाइसिस्’ गरिदिनुस् न ।

= यस प्रश्नको उत्तर सहज छजस्तो मलाई लाग्दैन । पाठकको हैसियतले भन्नु पर्दा पनि आफूलाई आवश्यक पर्न आएको पुस्तक अध्ययन गर्न प्राथमिकता दिने हुँदा धेरै पढ्न सकेको छैन । आफू समालोचक नभएको हुँदा गहरिएर हेरेको पनि छैन । यसर्थ यस प्रश्नको उत्तर दिन सक्ने सामर्थ ममा छैन ।

१५) यतिका मान्छेको भीडमा यहाँले नै लेख्नु पर्ने के त्यस्तो चिज छ र यहाँ यतिका वर्षदेखि लेखिरहनु भएको छ ?

= यो कुरा त पक्का हो अमुकले नलेख्ने हो भने त्यही कुरो त्यस्तरी नै त आउँदैन । जसरी नदीमा त्यही पानीमा फेरि हामी नुहाउन सक्दैनौ । मैले नै लेख्नु पर्ने त्यस्तो खास कुरो त मेरो आफ्नो निजी विचार मात्र हो । जो मबाहेक अरूले व्यक्त गर्न सक्दैन, कल्पना मात्र गर्न सक्छ । लेख्ने कुरो पनि लत हो, कसैमा तास खेल्ने, कोही मदिरा सेवन गर्ने, कोही धूमपान गर्ने यस्तैयस्तै धेरै लत छन्, प्रायशः मानिसहरू कुनै न कुनै लतमा फसेका छन् । मलाई पनि लत लाग्यो अध्ययन लेखन गर्ने । कुनै लत समाजमा तिरकृत हुन्छन् भने मलाई लागेको लतले समाजमा सम्मान दिलाएको छ । लेखन पनि लत भएको हुँदा लेख्दैछु, लेखिरहन्छु ।

१६) लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?

= लेखेर सम्मान पाएको छु । तपाईं जुन संवाद गर्दै हुनुहुन्छ यो पनि लेखेर पाएको उपलब्धि त हो । गुमाउने कुरो त त्यस्तो केही छ जस्तो लाग्दैन ।

१७) मैले सोध्न बाँकिरहेका र यहाँलाई भन्न मन लागेका केही महत्वपूर्ण कुरा भए छोटकरीमा राखिदिनुहोस् न ।

= मैले भन्न पर्ने कुरो एउटै हो । जुनसुकै कुरोमा सफल बन्नको लागि साधनाको आवश्यकता पर्छ । एकाग्र भएर साधना गर्नै पर्ने हुन्छ । लेखनमा त झन् धेरै अध्ययनको आवश्यकता पर्छ । लहडको भरमा लेख्नुभन्दा नलेखेकै बेस् ।

१८) व्यस्त समयका बीच पनि वार्तामा रमाउनु भयो । धन्यवाद छ यहाँलाई ।

= समय व्यवस्थापन गर्ने कुरा हो । व्यवस्थापन गरिएन भने समय नै कहाँ बँच्छ र ? समयले त कसैलाई पर्खंदैन । हामी दुवैले समयको व्यवस्थापन गर्न सक्यौं र केहीबेर राम्रा कुराहरू गरेर रमायौं । निश्चय नै यस्ता वार्ताले कसैलाई पनि हानी पुर्याउदैन, यस मानेमा हाम्रो यो समय सार्थक रह्यो, धन्यवाद् ।

वार्ताकार: पेशल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *