Skip to content

आदिगायक तथा सङ्गीतकार सेतुराम प्रधान

  • by


आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन कमलाक्षीमा जन्मेका थिए । कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये सेतुराम कान्छा छोरा थिए ।

सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । उनी आˆना बाबु कृष्णधर प्रधानको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र गीतमा आफूलाई डुबाउँथे ।

सेतुराम प्रधानको घरपरिवार नै सङ्गीतमय थियो । त्यस घरमा जो कोही पुगे पनि सङ्गीतको पारख गरेर मात्र र्फकने गथ्र्यो । सेतुरामको घरपरिवारका सदस्यहरूमा सेतुरामका दाजु कृष्णदास प्रधान र दिदी राममाया सङ्गीत र गायनमा विशेष रुचि राख्नेमा पर्दथे ।

कृष्णधर प्रधानले आˆना छोराको गायन यात्राको लागि प्रशिक्षकलगायत आवश्यक सामग्री पनि जुटाइदिएका थिए ।

त्यतिखेर पढ्न-लेख्नभन्दा गीत गाउनैमा सेतुराम चाख राख्दथे । पढाइ चाहिँ उनको स्वाध्ययन थियो । उनी स्कुली शिक्षाका नभएर वैयक्तिक ज्ञानका उपज थिए । उनी सबैसँग मिलेरै कुरा गर्थे, मिलेरै व्यवहार गर्थे र मिलेरै आˆनो कामधन्दा गर्थे । मिलनसारिता उनको वैयक्तिक गुण थियो ।

सेतुरामले आˆना बुबाआमा, दाजु र दिदीहरूबाट गीत गाउन प्रोत्साहन पाएका थिए । त्यसैले उनले आˆनो बाल्यकालमा नै सङ्गीतप्रति गहिरो प्रेम गाँस्न पाएका थिए । वास्तवमा त्यसबेला एकोहोरो सङ्गीतमा लाग्ने मान्छे समाजको लागि त्यति इज्जतदार हुँदैनथ्यो । तैपनि सेतुरामले चाहिँ त्यसबेलामा पनि भने जति सम्मान पाएका थिए ।

सेतुराम आठ-नौ वर्षकै उमेरमा काठमाडौँ उपत्यकामा गीत-गायनका जुनसुकै कार्यक्रममा पनि पुग्थे । उनी गीत गाउन पुगेको जुनसुकै टोलमा मान्छेको घुइँचो लाग्थ्यो । उनी गीत गाएर जुनसुकै उमेरका मान्छेलाई पनि मुग्ध पार्थे ।

सेतुराम सानामा गोरो अनुहारका थिए । सेता भएकैले उनलाई सेतुराम भन्ने गरिएको थियो । किशोरावस्थाले डाँडो काट्ता नकाट्तै सेतुराम हेर्दा खाइलाग्दा पनि देखिन्थे । त्यसैले केटीहरू पनि उनीप्रति आकृष्ट भएको पाइन्थ्यो । त्यति मात्र होइन उनको रहनसहन, लवाइखवाइ, बोलीचाली, हिँडाइडुलाइ पनि राजसी छाँटको देखिन्थ्यो । उनी मध्यमवर्गीय परिवारका थिए । उनको अभिभावकको खास पेसा भाँडाकुँडाको व्यापार थियो ।

सेतुराम नेपाली आधुनिक गीतका आदिगायक हुन् । उनले संवत् १९६५ सालमा नै नेपाली साङ्गीतिक आकाशमा गीत रेकर्डिङ गर्ने पहिलो गायक हुने सौभाग्य पाए । त्यसबेलाको प्रसङ्ग कोट्याउँदै सेतुरामकी जेठी छोरी मिठाइदेवी राजभण्डारी भन्छिन्- “बुबाले गीत गाएको मिति त थाहा छैन तर बुबा गीत गाउन कोलकाता जाँदा हाम्रा जेठा दाजु रामबहादुर प्रधान जन्मेका थिए ।” सेतुरामका जेठा छोरा उस्ताद रामबहादुर प्रधान चाहिँ संवत् १९६५ सालमा जन्मेका थिए । त्यति मात्र होइन, संवत् १९५८ सालमा श्री ३ महाराज चन्द्रशमशेरले काठमाडौँस्थित फर्पिङबाट पाँच सय किलोवाटको बिजुली उत्पादन गराएका थिए । त्यस खुसियालीसमेत गाँसेर उनले चन्द्रशमशेरको स्तुतिमा गीत गाएका थिए । बिजुली बलेको रमाइलो मनमा छाउँदाछाउँदै उनले गीत गाएका थिए । ‘यता हेर्‍यो यतै मेरा नजरमा राम प्यारा छन्’ बोलको गजल गाएर उनी चर्चित पनि भए । युवाकवि मोतीराम भट्टद्वारा लिखित यस गीतलाई सेतुरामद्वारा नै धुन प्रदान भएको देखिन्छ ।

उस्ताद सेतुराम शास्त्रीय गीतमा त पारङ्गत नै थिए । शास्त्रीय गीतको गायन क्रममै उनी गजल-गायनतिर पनि लागे । यतिले चित्त नबुझी उनी लोक-गायनतर्फ लागे । अतः उनले झ्याउरे गीत पनि गाउन थाले । उनी आधुनिक गीत, लोकगीत, स्तुतिगीत र भजनगायनमा पनि उत्तिकै मन दिन्थे । वास्तवमा उनी साङ्गीतिक विधाहरूप्रति अति उदार थिए । उनको गायनकलाको त्यति बेला जनस्तरमा मात्र होइन, राणाका दरबारमा पनि उत्तिकै प्रशंसा हुने गथ्र्यो । फलतः सेतुराम बबरमहलमा जागिरे हुन पनि पुगे ।

सेतुराम काठमाडौँस्थित कमलाक्षीको भजनगृहका उत्पादन थिए । उनैले नेपाली भाषाका गीतलाई मिरमिरेको लालीसँगै सगरमाथाको टुप्पामा पुर्‍याएका थिए । त्यसबेला कोलकाता पुगेर आˆनै खर्चमा ग्रामोफोन रेकर्ड गर्नु त्यति सजिलो पनि थिएन । त्यतिखेर सेतुरामलाई काठमाडौँदेखि कोलकातासम्म पुग्न चौबीस दिन लागेको बेहोरा सेतुरामका छोरीद्वय मिठाइदेवी राजभण्डारी र नारायणदेवी श्रेष्ठबाट थाहा पाइन्छ । यस कुराको पुष्टि सङ्गीतका अन्वेषक सुवि शाहले पनि गरेका थिए । शाहको भनाइअनुसार त्यति बेला कोलकातासम्म पुग्न प्रायः जङ्गलकै बाटो हिँड्नु पथ्र्यो । बाटोमा बाघ-भालु आदिबाट बचेर हिँड्नुपर्ने हुनाले यात्रा अत्यन्तै कठिन थियो ।

सेतुराम साहू जनकलाल श्रेष्ठको सौजन्यबाट कोलकाता पुग्न पाएका थिए । त्यतिखेर जनकलाल श्रेष्ठ भद्रकाली हाउसको स्थापना गरेर नेपालमा ग्रामोफोनको चक्का बेच्ने मुख्य बिक्रेता रहेका थिए । उनैले करबल गरेर, चेपचाप गरेर र विभिन्न प्रलोभन देखाएर सेतुरामलाई गीत रेकर्डिङ गर्न कोलकाता पुर्‍याएका थिए । कोलकाता पुर्‍याएर जनकलाल श्रेष्ठले जोनोफोन रेकर्डको लेबलमा भद्रकाली हाउस उल्लेख गरी प्रथम चरणमा नै सेतुरामका स्वरमा मात्र सातवटा रेकर्ड भराएका थिए । ती सातवटा रेकर्डमा चौधवटा गीत भरिएका थिए ।

हुन त नेपालमा त्यतिखेर ग्रामोफोनको त्यति चल्ती थिएन । नेपालमा ग्रामोफोन भित्रिएको प्रसङ्गमा सितारवादक सरदार भूपालमान प्रधानले भनेका थिए- “नेपालमा संवत् १९६५ सालपूर्व आएको ग्रामोफोन डुङ्गाजस्तो आकारको रेकर्ड बजाउने ग्रामोफोन थियो । १९६५ सालमा डिस्क रेकर्ड बजाउने ग्रामोफोनले नेपाल प्रवेश गर्‍यो ।” वास्तवमा त्यसै बेलादेखि सेतुरामले पनि ग्रामोफोनमा आˆनो स्वरमा गीत भर्न थालेका थिए । ती ग्रामोफोनका चक्कामा सोह्रवटा नेपाली भाषाका गीत र बाह्रवटा नेपालभाषाका गीत फेला परेका छन् । उनका स्वरमा आबद्ध गीतका अरू पनि चक्का हुनुपर्छ भन्ने सङ्गीतअन्वेषक सुवि शाहले दाबी गरेका छन् ।

सेतुराम सौखिन गायक थिए । उनी आˆनो आत्मसन्तुष्टिको लागि मात्र गीत गाउँथे । उनको स्वरको मातमा परेर नै साहू जनकलाल श्रेष्ठले उनको ग्रामोफोन रेकर्ड बनाइदिएका थिए । यति हुँदाहुँदै पनि सेतुरामले जीविकोपार्जनको लागि गीत गाउने लक्ष्य चाहिँ राखेनन् तर उनका गीतका चक्काहरू भने निकै बिक्थे । त्यतिखेर नेपाली भाषाका गीतका चक्का पाउनै गाह्रो थियो । उनको स्वरले सजिएको ग्रामोफोन नेपाल भित्रिएपछि उनको ख्याति चम्केको थियो । त्यतिखेर रेकर्ड गरिएका गीतमध्ये ‘ए आमा सानीमा’, ‘झलझली मैयाँ पातली’ र ‘आज र जाऊँजाऊँ’ भन्ने गीत भने चर्चित पनि भएका थिए । ती गीतहरू काठमाडौँ सहरमा मात्र होइन, नेपालका डाँडापाखाहरूमा पनि निकै चलेका थिए ।

ए आमा सानीमा Û टिपिदेऊ न सानीमा Û

फूलको थुँगो खस्यो पानीमा ।

सेतुराम नेपालभाषामा पनि पहिला गीत रेकर्ड गराउने व्यक्तित्व हुन् । त्यसबेला नेपालभाषाका गीतको रेकर्ड गरेर सेतुराम काठमाडौँ उपत्यकाको नेवार समुदायमा सबैका मन परेका गायक थिए । ‘राजामती कुमति’ भन्ने गीतको स्वराङ्कनपछि काठमाडौँ सहरमा सेतुराम धेरैका हाईहाई भएका थिए । खास गरेर नेपालभाषाका गीत गाउँदा उनी नाच्ने पनि गर्थे । ठट्टा गरीगरी नाच्ने र गाउने कलामा उनले ख्याति कमाएका थिए ।

त्यसबेलादेखि यस बेलासम्मको हिसाब गर्ने हो भने सेतुराम नेपाली आधुनिक सङ्गीतका सर्वोपरि व्यक्तित्व थिए, सर्वमान्य साधक थिए र सर्वोच्च कलाकार थिए । उनी नेपाली भाषा र संस्कृतिलाई स्वरका माध्यमबाट देश-विदेशमा पुर्‍याउने प्रथम साधक थिए । वास्तवमा उनी नेपाली सङ्गीतका महेश्वर थिए । उनी नेपाली गीत-सङ्गीतका उपल्लो दर्जाका स्रष्टा थिए । उनको नेपाली गायनप्रतिको निष्ठाले उनी यस धरतीमा चिरञ्जीवी भएका छन् ।

उस्ताद सेतुराम उमेर छिप्पिँदै जाँदा गीत-गायनबाट पनि ओझेल पर्दै गए तर त्यसबेला उनी साझा मञ्चमा गीत नगाए तापनि आˆनो घरमा चाहिँ गीत गाइरहने गर्थे । उनी युवावस्थामा जोस निकालेर गीत गाउने गर्थे तर प्रौढावस्था कुल्चन थालेपछि उनको बाजागाजा बजाउनेदेखि गीत गाउनेसम्मको रहर हराउँदै जान थाल्यो । उमेरको उत्तरार्द्धमा पुगेपछि आˆनो रहर सँगालिरहन पाएनन् । मनमा रहर भए पनि चाहेअनुसार गर्ने उनीभित्रको क्षक्षमता हराउँदै जान थाल्यो ।

अशक्त अवस्थामा पनि सेतुरामले फाट्टफुट्ट गीत गाउन भने छाडेनन् । उनी गीत-सङ्गीतमा नै बाँचेका थिए । उनी गीत गाउँदागाउँदै नै बिरामी भए । जिब्रोमा घाउ भएर उनी १९९७ सालदेखि नै थला परेका थिए । त्यसै रोगले उनलाई मरणासन्न पनि बनायो । अन्ततः त्यसै रोगले उनलाई परमधाम पुर्‍यायो । उनी काठमाडौँको आˆनै घर भोटाहिटीको कमलाक्षीमा स्वर्गीय भए । उनको भौतिक चोला संवत् १९९८ साल चैत ३० गते आइतबार वैशाख कृष्णपक्षक्ष द्वादशीका दिन समाप्त भयो ।

सेतुरामको निधनले त्यसबेला खैलाबैला मच्चायो । उनी राणादरबारदेखि गरिबका आँगनसम्म पनि पि्रय गायक थिए । उनको निधन हुँदा उनको घर वरिपरि अपार भीड जम्मा भयो । त्यो ठूलो भीडबीच उनका पत्नीहरू र छोराछोरीहरू रोइरहेका थिए । नेपाली सङ्गीतका आदिगायकको भौतिक चोला असामयिकरूपमा उठ्ता धेरैका आँखा रसाएका थिए, धेरैको मन रोएको थियो र धेरै सङ्गीतकर्मीले त आफूलाई एक्लो महसुस गरेका थिए ।

सेतुराम स्वर्गीय भए तापनि उनको देन नेपाली धरतीमै अटलरूपमा रहिरहनेछ । वास्तवमा उनले त्यसबेला खनेको आधुनिक गीतको गोरेटो आज राजमार्गमा रूपान्तरित भइसकेको छ । त्यतिखेरको उनको योगदानले गर्दा आज सेतुराम आदिगायकमा प्रतिष्ठापित भएका छन् । उनी नेपाली सङ्गीतका पारखीको धुकधुकीमा सधैँ बाँचिरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *