धरतीशिर हिमालबाट सभ्यता फैलेको
वीरका छोरा नेपाली आज खै किन वैलेको?
राष्ट्रका कवि माधव तारा मुटुमा धड्केर
काँगडा टिष्टा सँकेत गर्थे हेरौन फर्केर
तराई अन्न पहाडी वन हिराको हिमाल
फूल हुन् जाति, सँस्कृति भाषा माला हो नेपाल
युवक हुँदा गुमेको भूमि देखेर झस्किए
राष्ट्रको गान वीरको शान लेखेर पस्किए
गीतको वाण छातीमा लागी चेतना उम्रियो
काँगडा टिष्टा रहेछ हाम्रो सँघर्ष जन्मियो
दर्जन दुई जन्मिए कृति गर्भमा धेरै छन्
साहित्य विधा समेटे सबै गौरव गाथा हुन्
प्रेमको सत्य घोलेर लेखे गीत र नाटक
काव्यका पँक्ति जिव्रामा झुल्छन् झुक्दथे शासक
श्रद्धाले सधैँ झुक्दछ शिर लेपाली जातिको
शताब्दीभरि साहित्य लेख्ने साधक मिल्ला को?
भौतिक देह अस्ताए पनि अमर दीप हौ
साहित्य तारा सबैका प्यारा मनमा बस्तछौ
रसाए आँखा सँसारैभरि गहमा मेरै छन्
व्यक्तित्व कृति कसरी नापौँ सागर जस्तै झन्
रोकियो गला भक्कानो फुट्यो के गरौँ वर्णन?
श्रद्धाका फूल यी शब्द मेरा गर्दैछु अर्पण
प्रा.धर्मराज कोइराला
